प्रधानमन्त्री पुष्पकमल दाहालले पन्ध्र महिनाको अन्तरमा तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । यस्तो अद्भूत राजनीतिक परिदृश्य अन्यत्र कहाँ प्रयोगमा आएको छ थाहा भएन । तर, नेपालमा यो दृश्य प्रथम र ऐतिहासिक पनि हो । सायद बाललोकतन्त्रको परिणाम हुनुपर्छ यो । गणतन्त्र त अब गठबन्धनतन्त्रमा रूपान्तरित भएको हुनाले यसबारे कुनै विवेचना गरिरहनुपर्ने भएन । राजनीतिक प्रणालीको सफलता वा असफलता राजनीतिक नेतृत्वको क्रियाकलाप र जनताको मतमा निर्भर पर्ने कुरा हो । यतिखेर नेतृत्व जुन तहमा देखिन्छ त्यो भन्दा केही मुनिको तहमा नेपाली जनताको मन देखिन्छ । जनताको मन एक मिनेट पहिले आलोचनाको बाढी बनाउने अमरेश सिंंहहरू अर्को मिनेटमा त्यही बाढीले बनाएको खाल्डोमा बसेर प्रशंसाको पुल बनाउने जस्तै देखिएको छ । कोही बोल्न सक्दैनन्, कोही बोल्छन् गर्न सक्दैनन्, सचेत वक्ताहरू दलवादी अनुबन्धको पासोमा अल्झिइरहेका छन् । भरगर्न नसकिने अवस्था छ । यस्तो समयमा अन्ति सत्य सत्ता भने सूत्र प्रभावकारी र सफल हुनु आश्चर्यको विषय होइन ।
एक वर्षयताको गठबन्धनलाई एबिसी कुनै पनि निहूँमा टुटाउनुपर्ने आवश्यकता र बाध्यता नेपाल कम्युनिष्ट पार्टी एमालेलाई थियो । यसकारण सही अर्थमा नायक हुनुभयो एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । उहाँले वरवरिक जस्तो एउटै वाणले तीनवटा सिकार गर्नुभयो । माओवादीको दम्भमाथि प्रहार गर्नुभयो, एक वर्ष पहिले नेपाली कांग्रेसले खेलेको खेलको जस्तालाई तस्तै शैलीमा गोल फर्काउनुभयो अहंकार, इष्र्या र कुण्ठाबाट एक प्रकारले किंकत्र्तव्य हुनुभएका माधव नेपालको तेजोवध गर्दै निहूँरिन विवश पार्नुभयो । वस्तुतः राजनीतिको चाणक्य यस्तैलाई भन्नुपर्ने हुन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल त ओलीका स्टुलमात्रै बन्नुभएको छ । स्टुलमा वस्ने नायक ओली नै हो । प्रधानमन्त्री दाहालभन्दा यसैकारण बधाईको पात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिनुपर्ने देखिन्छ । त्यसपछि प्रधानमन्त्री दाहाल तेस्रोपटक प्रधानमन्त्री हुनु भएकोमा बधाई दिनु उपयुक्त हुनेछ ।
सरकारको प्रतिपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, चित्रबहादुर केसी र नेमकिपा देखिएका छन् । अहिलेको सत्ता समीकरणमा आश्चर्यजनक संयोग रहेको देखिन्छ : त्यो सबै नै कुनै-कुनै रूपमा हिंसाको पृष्टभूमिबाट, व्यक्ति हत्याको पृष्टभूमिबाट राजनीतिक शक्तिमा रूपान्तरित भएका छन् । कोही व्यक्तिगत र कोही दलगत । एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीको पृष्टभूमि २०२८ को झापा काण्ड, माओवादीको २०५२ देखि दश वर्षसम्मको सशस्त्र हिंसा, जसपाको गौर काण्ड, नागरिक उन्मुक्तिको कैलाली टीकापुर काण्ड र रास्वपाका सभापतिको शालिग्राम प्रकरण यो विचित्रको संयोग देशले अनुभव गरेको हुनुपर्छ । राजनीति र प्रेममा जे पनि हुनसक्छ भन्ने पछिल्लो उदाहरण यही नै भएको छ । हुन त आफूलाई लोकतन्त्रको मसीहा भएको दाबी गर्ने नेपाली कांग्रेस पनि कुनै न कुनै हिंसाको पृष्टभूमि रहेको पार्टी हो । तर हिंसाको स्वरूप, उद्देश्य, त्यसबाट भएको क्षति र उपलब्धिका आधारमा फरक तवरले मूल्यांकन गर्नुपर्ने हुन्छ । यद्यपि राजनीतिमा जे पनि हुन्छ भन्ने सिद्धान्तलाई भष्मासुरशैलीमा प्रयोग गर्ने नेपाली कांग्रेस पनि एक हो । ०६३ सालपछि र त्यो भन्दा पहिले हेर्ने हो भने ०४८ को निर्वाचनको लगत्तैदेखि नै कांग्रेस ध्रुव चरित्रविपरीत धुन्धुकारी चरित्रमा विकसित हुँदै गएको छ । यो चरित्रको सूत्र अहिलेको तथाकथित नयाँ पुस्तासम्म तन्किएको स्पष्ट छ । राष्ट्रिय प्रजातन्त्र पार्टी त कहिले मुच्र्छित हुन्छ, कहिले वौरिने गर्छ । त्यसको कुनै ठोगाना हुँदेन । नेमकिपा र चित्रबहादुरजीहरू प्रतिकात्मक रहे पनि प्रभावशाली हुनसकेका छैनन् ।
जे भए पनि प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनु भएको छ । उहाँका मूल वैशाखीहरू परिवर्तन भएका छन् । वैशाखी नयाँ होइनन् । सबै पुराना र परिक्षित हुन् । कुन बेला कता पट्टि बटारिने हुन् अनुमान गर्न कठीन हुन्छ । एमाले जस्तो तीक्ष्णमति सहितको, सूचना र अनुसन्धानले समर्थ, चलाख वैशाखीले कुन समयमा आफ्नो फाइदा वा बेफाइदाको समीक्षा कसरी गर्ने हो प्रचण्डका लागि त्यो अकल्पनीय हुनसक्छ । एमालेको सूचना, अनुसनधान र मूल्यांकनका सामु नेपाली कांग्रेस जस्तो पुरानो, समर्थ दाबी गर्ने पार्टीसमेत लल्याकलुलुक भएको छ । एमाले नेतृत्वले नेपाली कांग्रेसलाई तृण समान गनिरहेको छैन भने माओवादीले उसंग तुलना गर्नसक्ने कुनै हैसियत नै राख्नसक्दैन । समस्या उही छन्, सोच उही छ, काम गर्नेशैली उस्तै छ, महत्वाकांक्षा र प्रतिशोधका खेलहरू उस्तै छन्, आर्थिक र नैतिक स्खलनको चित्र निरन्तर समान छन् । यस्तो समयको खेल परिवर्तन, सत्तापरिवर्तनबाट जनताले अपेक्षा गर्नु अर्को मूर्खता हुने छ । त्यो पनि आफ्ना अपराधवृत्तिलाई ढाकछोप गर्न चाहने राजनीतिका खेलाडीहरूको भरमा सरकारको गति विश्वसनीय हुने विषय शिव शर्माको सातु समान हुनेछ ।
यद्यपि देशमा बगे्रल्ती समस्या छन् । किसान दूध र तरकारी सडकमा पोखेर बसेका छन्, सहकारी र मिटरव्याज पीडितहरूको ताँतीले राजधानीका सडक नापिरहेको छ, मुद्दा लागेको छ, बेरोजगारहरूको लर्को विदेशतिरै लम्कि रहेको छ, विकासको खेती बाँझो र प्रतिदिन झन् बाँझो हुनेक्रममा छ, वृद्धवृद्धाहरूको शहर निर्माण भइरहेको छ, पढालिखाहरूको विश्वास देशले घटाउँदै र कटाउँदै गएको छ । हिंसापिडीतहरूको पीडा र क्रन्दन यथावत् छ । यस्तो समयमा राजनीतिको कुनै पदले विश्वास पाउनु र नपाउनुको कुनै औचित्य अनुभव हुँदैन ।
प्रतिनिधिसभामा विश्वासको मत पाए पनि जनताको मन जित्ने विषय महत्वपूर्ण हुनेछ । सबैभन्दा पहिले निरन्तर छेपारो जस्तो मौसम अनुसारको रंग बदल्ने स्वभाव र चरित्रले लगाएको दाग मेट्ने प्रयास नगरी हुँदैन । असल रूपमा उदाहरणीय बन्ने कि खरावरूपमा उदाहरणीय बन्ने त्यो नेतृत्वले नै सोच्ने विषय हो । हामीले आसा गर्ने कुरा यत्ति हो : कमसेकम नेतृत्व विश्वसनीय होस्, जनताका पीरमर्का बुझ्ने सामथ्र्य राखोस्, देश र जनतालाई आफ्नै पार्टीको संकीर्ण घेरामा नराखोस् र भोलिका दिनमा नेताहरूका नाम लिनु पर्दा जनताले मुख कुल्ला गर्नु नपरोस् । अहिलेलाई प्रतिनिधिसभामा विश्वासको मत पाएकोमा प्रधानमन्त्री र सरकारका मन्त्रीहरूलाई बधाई र भविष्यमा असल कामको अपेक्षासहित शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच