बाँदर आतंकले गाउँ नै आजित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । जैमिनी नगरपालिका-४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जंगल बढ्न थालेपछि बाँदरको हुल गाउँ छिरेको छ । गाउँ छिरेको बाँदरले बारीका मात्रै हाइन घरमा राखेका अन्नपातसमेत खाई दिने गरेको छ । घर छोडेर एक्कैछिन यताउता जाँदा बित्तिकै सबै सामान नष्ट गरि दिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्नुहुन्छ । छरछिमेकी कोही विदेश गए । कोही बसाइँसराइ गरेर तराई झरे । उहाँ भने आर्थिक अवस्था सामान्य हुँदा गाउँ छोडेर कतै जान सक्नु भएको छैन । दिनप्रति दिन बाँदरले दुःख दिन थालेपछि तिलप्रसादसहित सर्कुवावासी आजित बनेका छन् । पछिल्लो समय गाउँबाट बसाइँसराइ गर्नेको संख्या बढेको छ ।

गाउँमा भएका घर रित्तिदै गएका छन् । रित्तो घरमा बाँदरले रजाइँ गरि रहेका छन् । सेवा सुविधाको खोजीमा बसाइँसराइ गर्ने बढेपछि गाउँ सुनसान हुँदै गएको छ । सुनसान गाउँमा बाँदरसँगै अन्य वन्यजन्तुले पनि बेला-बेला स्थानीयलाई दुःख दिने गरेको छ । तिलप्रसादसँगै गाउँका अन्य धेरै मान्छेहरु दिनभर घर छोडेर बाहिर जाँदैनन् । जाँनै परे पनि एक जना घर कुरुवालाई राखेर जानु पर्ने स्थिती छ । बारीमा लगाएको अन्न बाली, फलफूल र तरकारीसमेत बाँदरले नष्ट गरि दिने हुँदा किसानहरु समेत मर्कामा पर्ने गरेका छन् । बाँदर धपाउनका लागि गाउँलेले अनेक उपाए नपनाएका भने होइनन् । सुरुसुरुमा भाग्ने गरे पनि पछिपछि डराउनै छोडेको छ ।

पाँच वर्ष अगाडिसम्म बाँदर कम भए पनि अहिले बढ्दै गएका छन् । अन्नबाली खाई दिनुका साथै मान्छेलाई समेत आक्रमण गर्ने गरेको तिलप्रसाद बताउनुहुन्छ । उहाँले घर कुरेर नबस्ने हो भने साँझ फर्किँदै केही नरहने बताउनुभयो । बाँदर धपाउनका लागि धेरै प्रकारका जुक्ती लगाए पनि अहिले बाठिदै गएपछि भाग्न छोडेको शर्माको भनाइ छ । काम परेर घर बारि जानु परे एक जना कुरुवा राख्नै पर्ने उहाँले बताउनुभयो । बढ्दो बाँदर आतंकका कारण गाउँमा गरि खान पनि हम्मेहम्मे पर्न थालेको तिलप्रसादले गुनासो पोख्नुभयो ।

“हुने खानेहरु सबै गाउँ छोडेर बजार झरे, कोही तराई सरे, हामी जस्तो सामान्य अवस्था भएको मान्छे गाउँ छोड्न सकिएन, बाँदरले गर्दा कसैको जन्त र मलामी जाँदा पनि घर कुरुवा राखेर जानु पर्छ” तिलप्रसादले भन्नुभयो - “हामीहरु निकै पीडित भयौँ, यसको समाधान खोज्नका लागि अनेक प्रयत्न गर्‍यौँ तर अहिलेसम्म कुनै समाधान हुन सकेको छैन, पहिले त यस्तो समस्या हुँदैनथ्यो, दिनदिनै घर कुरेर बस्न त कहाँ सकिन्छ र ?, कहिले के काम हुन्छ, केही बाहिर जानु पर्छ, सधैँ कुरुवा राख्न पनि सकिदैन ।”

स्थानीय होमनाथ पौडेलले गाउँमा मान्छे कम हुँदै गएपछि बाँदर बढेको बताउनुभयो । पहिलेसम्म जंगलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सताउने गरेको उहाँको भनाइ छ । पहिलेको तुलनामा गाउँमा विकास भए पनि मान्छेहरु बजार झर्ने गरेको भन्दै बाँदरको दीर्घकालीन व्यवस्थापन गर्न नसके धेरैले गाउँ छोड्न बाध्य हुने पौडेलले बताउनुभयो । वन जंगल बढ्दै गएको र खेतीयोग्य जमिन पनि बाँझोमा परिणत हुँदै गएपछि गाउँ उराठिलो बन्दै गएको उहाँ बताउनुहुनछ ।

पौडेलले भन्नुभयो - “बाँदरले गरि खान दिएन, बारीमा केही लगायो, पसाउन थालेपछि नष्ट गरि दिन्छ, घरको झ्यालबाट भित्र पसेर अन्नपात खाने र लत्ताकपडा च्यातिदिने गर्छ, हुन ते पहिले गाउँमा धेरै मान्छे थिए, अहिलेको जस्तो सुनसान थिएन, त्यही भएर बाँदर नआएको होला, अहिले त घरहरु खाली हुँदै गए, वन जंगल जान पनि छोडे, सुनसान हुँदै गएपछि बाँदर वनबाट आउँ आएको हुनुपर्छ, नत्र त पहिले पनि आउनु पर्ने हो ।”

सर्कुवासँगै जैमिनीका अन्य गाउँमा पनि बसाइँसराइले खेतीयोग्य जमिन वनमाराले ढापक्कै ढाकिएका छन् । वरपरका रुख विरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बुढापाका बाहेक अरु कोही छैनन् । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँ बस्ती हिँजोआज उराठ लाग्दो बनेका छन् ।सेवा सुविधा घरकौ दैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रति दिन बजार झर्नेको संख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् । बाँदर नियन्त्रणका लागि जैमिनी नगरपालिकाले ‘मङ्की पार्क’ बनाउने योजना अगाडि बढाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकको छैन ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बाँदर पार्क बनाउने बृहत योजना भएको हुँदा विभिन्न तहका सरकारसँग समन्वय गरेर काम अगाडि बढाउने बताउनुभयो । बाँदर पार्क बनाउने योजना नेपालमै नयाँ भएको हुँदा चुनौतीपूर्ण भएको उहाँको भनाइ छ । नगरपालिका दृढ संकल्पका साथ यो योजना सफल बनाउनका लागि लागि परि रहेको प्रमुख पुनले बताउनुभयो । त्यो योजना पूरा नहुँदासम्म स्थानीयले बाँदर धपाउनका लागि परम्परागत जुक्ति अपनाउनु पर्नेमा जोड दिनुभयो ।

“बाँदरले निकै दुःख दिएको हामीहरुले महशुस गरेका छौँ, हामी आफै पनि भोगेका छौँ, बाँदर आतंक बढ्नुका कारण गाउँ सुनसान हुनुनै हो, हामीहरु गाउँमा हरेक प्रकारका सुविधा पुर्‍याउन खोजी रहेका छौँ, तर धेरै बसाइँसराई गरेर बाहिर जानुहुन्छ,” नगरप्रमुख पुनले भन्नुभयो - “बाँदर नियन्त्रण कसरी गर्न सकिन्छ भनेर धेरै पटक साच्यौँ, धेरै तिरबाट बाँदर पार्क बनाउने सुझाव आए अनुसार यसलाई अगाडि बढाएका हौँ, यो काम नेपालमै नौलो हो, धेरै खर्चिलो हुने र समय पनि धेरै लाग्छ, यसको काम अगाडि बढाउनका लागि वनले अनुमति दिनुपर्छ, अहिलेसम्म अनुमति दिएको छैन, यस वर्ष पनि बजेट विनियोजन गरेका छौँ, धेरै समय लागे पनि निरन्तर काम गर्दै गएर यो योजना पूरा गर्ने लक्ष्य लिएका छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?