नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

उक्त खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्दारसमेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूकोसमेत खोजी गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?