बसाइँसराइले रित्तिएको गाउँमा रमाइरहेका पौडेल दम्पती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन गए, कोही गैडाकोट त कोही पोखरा । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइ रहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाईका लागि बजार झरे । सेवा, सुविधा र विलासिताको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका-४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ । सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल (४२) र उहाँकी श्रीमती मायादेवी पौडेल (४०)ले व्यवसायिक मौरीपालनमा रमाई राख्नु भएको छ । बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यवसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराई गर्नका लागि ठाउँ नभएर होइन ।

जन्मभूमिलाई छोड्न नसकेपछि गाउँमै उद्यमी बन्नु भएका उहाँहरु धेरैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । पौडेलले तराईमा घडेरीसमेत जोड्नु भएको छ । तर गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुँने हुँदा बसाइँसराइ गर्नु भएन । पौडलको घरको बार्दली, कौसी, छानो र पिँढीभरी मौरीका घार छन् । घारमा मौरीले रस बनाइ रहेका छन् । आधुनिक प्रबिधि अपनाएर मौरीपालनमा लाग्नु भएका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आउनु भएको छ । बाबुराम आफैले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार विक्री हुन्छन् । हातमा सिप र शरीरमा जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीका रुपमा पनि चिनिनुहुन्छ ।

पौडेलले बारीमा दुई वटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको छ । पाँच वर्ष अगाडि लगाएका एक सय बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका छन् । मौरीपालनलाई मुख्य पेसा बनाउनु भएका उहाँहरुले लोकल कुखुरा, दूध, घ्यूका लागि भैँसीसमेत पाल्नु भएको छ । गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि घरमा अवसरनै अवसरले घेरेको हुँदा गाउँ छोड्न नसकेको बताउनुहुन्छ । १० वर्ष अगाडि साथीभाईको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै संघर्ष गरे घरमै पनि राम्रो कमाई गर्न सक्ने बाबुरामको भनाइ छ । घरमा पहिले बाउबाजेको पालादेखि दुई/चार घार मौरी पाल्दै आएकोमा आफूले आधुनिक तरिकाले व्यवसायिक रुपमा लागेको उहाँले बताउनुभयो ।

“गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएको हुँदा मौरीको घार आफै बनाउँछु, पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ, मैले कुनै पनि मौरी पालन सम्बन्धि तालिम नलिई कन काम सुरु गरेको हुँ, धेरै वर्षपछि बल्ल मौरी विकास केन्द्र गादोवरीबाट तालिम लिएको थिएँ” बाबुरामले भन्नुभयो - “विदेश पनि गइने थिएन होला गाउँका साथीभाई जाँदा मलाई पनि रहर लाग्यो र गए, २२ महिना बसेर आएँ, विदेशमा अरुको गुलामी गर्नुभन्दा आफ्नै गाउँमा आफै मालिक भएर केही गर्छु भनेर लागे, अहिले राम्रो हुँदै गएको छ ।”

झण्डै डेढ दशकदेखि मौरीपालन गर्दै आए पनि आठ वर्ष अगाडि फर्मनै दर्ता गरेर व्यवसायलाई व्यवस्थित गर्दै आउनु भएको छ । पौडेलले हाल ४० घार मौरी पाल्नु भएको छ । गत वर्ष १०० घार मौरी रहेकोमा केही विक्री गरेको र २० घार मौरी मरेका उहाँको भनाइ छ । पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झण्डै पाँच लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको बाबुरामले बताउनुभयो । पौडेल दम्पतीले मौरीपालनबाटै दुई भाईबहिनी छोरोछोरीलाई पोखरामा पढाई राख्नु भएको छ । छोरीले आइटी इन्जिनियर र छोराले कम्प्युटर विज्ञान पढि रहेका छन् ।

पौडेलकी पत्नी मायादेवी विहान सबेरै उठेदेखि साँझसम्म मौरीको हेरचार र बारीमा रहेका सुन्तला तथा टनेलमा गोडमेल र पानी लगाउने काम गर्नुहुन्छ । आफ्नो जग्गा जमिनी कतै पनि बाँझो राख्नु भएको छैन । तर मकै, गहुँ र कोदो भने लगाउनुहुन्छ । बारीमा बाँझो जमिनमा लम्सी र फलफूलका विरुवा लगाउनु भएको छ । जमिनलाई उपयोग गर्ने मान्यताले सबै ठाउँमा विभिन्न पूजातिका वनस्पतिको विरुवा लगाएको मायादेवी बताउनुहुन्छ । गत वर्ष ४० घार मौरी बेचेकोमा यस वर्ष भने कम भएको उहाँको भनाइ छ । दुई सिजनमा मौरीको घारबाट मह निकाल्ने हुँदा आम्दानी पनि राम्रो हुने मायादेवीले बताउनुभयो ।

उहाँहरुले हरेक वर्ष दुई क्युन्टल मह बच्ने गर्नु भएको छ । एक किलोलाई १५०० देखि २००० सम्ममा विक्री हुँदा मेहनतको मूल्य पर्ने गरेको छ । महको माग धेरै हुने हुँदा बजारको अभाव छैन । यस वर्षदेखि सुन्तला उत्पादन हुन थालेपछि पहिलो पटकमै ७० हजार बढीको विक्री गरेको मायादेवी बताउनुहुन्छ । तरकारीबाट पनि विस्तारै आम्दानी हुन थालेको उहाँको भनाइ छ । गाउँको माया र माटोप्रतिको सम्मानले गर्दा अन्त बसाइँ सर्न मनले नमान्ने पौडलले बताउनुभयो । गाउँमा सामान्य कृषि गर्नेले राज्यबाट पाउने अनुदान सहजै प्राप्त गर्ने तर आफूहरुले निरन्तर त्यही काम गर्दै आए पनि सहयोग हुन नसकेको भन्दै दुखेसो पोख्नुभयो । टाढाबाठाले मात्रै अनुदान पाउन वास्तविक किसानले नपाउने उहाँको भनाइ छ ।

मायादेवीले भन्नुभयो - “मलाई यहाँ भएको कुनै पनि बारी बाँझो राख्न मन लाग्दैन, गाउँमा हरेक दिन खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन्, मैले बाँझो बारीमा पनि खेती गरि रहेको छु, मैले मकै, गहुँको खेती गर्दैन, फलफूल र तरकारी खेती गर्छु, मौरीले रस पनि त्यहीबाट लिन्छ, अहिले त गाउँका मान्छे जति यहाँ सुविधा छैन भन्दै बसाइँ सर्दै छन्, मलाई भने यो घर, गाउँ छोडेर कतै जान मन लाग्दैन, म एकछिन बाहिर गएर समय खर्च पनि गर्दैन, फुर्सद पनि छैन, मौरी, बोट विरुवा र माटोसँग खेल्न निकै आनन्द लाग्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?