
काठमाडौं । गठन भएको दुई वर्ष नपुग्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग छुट्टिएर अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले माओवादी केन्द्रसँग शनिबार पार्टी एकता गर्ने सहमति गरेको छ । बालुवाटारमा पार्टी एकताको सहमति गरेको छलफलमा बाबुराम भट्टराई भने उपस्थित हुनुभएन । बैठकमा अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति भएको विषयमा नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भन्नुभयो, ‘अध्यक्ष, सहअध्यक्ष र महासचिव सहभागी बैठकले पार्टी एकता गर्ने सहमति गरेका हौँ ।’
यादव नेसपाका संघीय सांसद र श्रेष्ठ बागमती प्रदेश सांसद हुनुहुन्छ । दुवै माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित हुनुभएको थियो । चुनावपछि माओवादी केन्द्र र नेसपाबीच एकता गर्न भट्टराई पनि सहमत हुनुहुन्थ्यो । तर, एकताबाट पछि हटेपछि नेसपामा भट्टराई र यादवबीच विवाद चुलिएको थियो । भट्टराईले पछिल्लो समय कुनै पनि राजनीतिक दलसँग कुम नजोड्ने बताउँदै आउनुभएको थियो । २०७९ असारमा उपेन्द्र यादवसँग पनि छुट्टिएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्नुभएको थियो ।
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव पक्षले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि सो पार्टी आधिकारिक रूपमा विभाजित भएको छ । पार्टीको आधिकारिकता कोसँग रहन्छ भन्ने कानुनी लडाइँ भने बाँकी नै छ । दुवै पक्षले बहुमत आफूसँग रहेको दाबी गरिरहेका छन् । पार्टीका अध्यक्ष महिन्द्रराय यादव पक्षका महासचिव रमेश यादवले आफूहरूसँग बहुमत रहेको दाबी गर्नुभएको छ । उहाँले नौजना पदाधिकारीमध्ये एकजना दानबहादुर चौधरीले पार्टी छाडिसकेको जानकारी दिँदै बाँकी आठ जनामध्ये चारजना आफूहरूको पक्षमा रहेको उहाँको भनाइ छ । उहाँले १६८ सदस्यीय केन्द्रीय कमिटीमा ९० जना आफूहरूको पक्षमा रहेको पनि दाबी गर्नुभयो । त्यस्तै, पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको बताउनुभयो । कुनै एक पक्ष मात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको उहाँको दाबी छ ।
तर, अध्यक्ष बाबुराम भट्टराई पक्षका नेता रोशन पोखरेलले केन्द्रीय कमिटीका १० प्रतिशत सदस्य मात्र महिन्द्र यादवहरूको पक्षमा रहेको दाबी गर्दै भन्नुभयो, ‘आइतबार पार्टीको बैठक छ, को कता छन्, कोसँग कतिजना सदस्य छन्, त्यहीँ नै थाहा भइहाल्छ ।’
प्रधानमन्त्रीकै संलग्नतामा राजनीतिक ठगी भएको डा. भट्टराईको टिप्पणी
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्र र समाजवादी पार्टीको महिन्द्रराय यादव पक्षबीच पार्टी एकता गर्ने भएको सहमतिलाई राजनीतिक ठगीको संज्ञा दिनुभएको छ । उहाँले यस विषयमा पार्टीमा छलफल गर्नै बाँकी रहेको प्रतिक्रिया दिनुभयो । तर, प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी र नैतिकताको खडेरीको रूपमा चित्रण गर्दै डा.भट्टराईले भन्नुभयो, ‘आइतबार कार्यकारिणी र सोमबार केन्द्रीय समितिको बैठक छ । पार्टीमा छलफल नै नगरीकन भएको यो त राजनीतिक ठगी हो । हाम्रो पार्टीलाई पनि थाहा छैन । प्रधानमन्त्रीले यस्तो गर्नुभयो भने देशमा त नैतिकताको ठूलो खडेरी भयो, बेइमानी भयो ।’
भट्टराईले कोही व्यक्तिले पार्टी एकता भयो भन्दैमा त्यो पार्टीको मान्न नसकिने प्रतिक्रिया दिँदै भन्नुभयो, ‘मेरै नेतृत्वमा वार्ता समिति छ, त्यसको बैठक बसेकैै छैनौँ । केही मान्छे पार्टी छाडेर जान सक्छन्, बेग्लै कुरा होे । पार्टी नै गयो भन्न मिल्दैन, अध्यक्ष मै छु ।’ गण्डकी प्रदेशका सांसद फणिन्द्रमणि देवकोटाले भन्नुभयो, ‘पार्टीमा गडबढ भयो, अब कसरी अगाडि बढ्ने भन्ने पार्टीकोे जे निर्णय हुन्छ त्यहीअनुसार अगाडि बढ्छु । पार्टी एकता होइन, केही व्यक्ति माओवादीमा गएका हुन् ।’
‘साना दललाई छाडेर तीन ठूला दल मिल्नुहोस्’
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले तीन ठूला दललाई मिलेर सरकार चलाउन आग्रह गर्नुभएको छ । शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलेर साझा एजेण्डा बनाएर अघि बढ्न आग्रह गर्दै पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका डा.भट्टराईले भन्नुभयो, ‘एक वर्षमा तीनपटक सरकार परिवर्तन भइसक्यो । यही ताल हो भने १२ चोटि सरकार परिवर्तन हुन्छ भन्ने चर्चा हुन थालिसक्यो । यसरी हुँदैन । मैले शेरबहादुर, ओली र हाम्रो प्रचण्डजीलाई यसरी हुँदैन तपाईंहरू बाँड्नुस् बरू एक दुई वर्ष कसरी हुन्छ बाँड्नुहोस् साना दललाई छाड्दिनुस् र तपाईंहरू साझा एजेण्डामा अगाडि बढ्नुस् भन्दा मान्नुहुन्न । अनि यही खेल खेलिराख्नु हुन्छ ।’
सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो : सहअध्यक्ष श्रेष्ठ
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको दाबी गर्नुभएको छ । नेसपाको एक पक्ष मात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको जिकिर गर्दै श्रेष्ठले भन्नुभयो, ‘नेसपा बैठक बस्दै गर्दाखेरी फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन । यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेसपा एकतामा जाने हो । त्यो त हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौँ । पार्टी एकता गर्ने भनेर चुनावअघि नै हामी तयार भएको हो ।’
‘पार्टीले कारबाही गर्छ, हामी अदालती प्रक्रियामा जाँदै छौँ’ : पोखरेल
यादव पक्षका नेताहरू माओवादीमा विलीन हुन तयार भए पनि पार्टी माओवादीसँग एकताको पक्षमा नरहेको नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले बताउनुभएको छ । पार्टीको कार्यकारिणी र केन्द्रीय समितिले पार्टी छाडेर जानेहरू विरुद्धमा कारबाहीको विषयमा निर्णय गर्ने जानकारी दिँदै पोखरेलले भन्नुभयो, ‘बैठकले महाधिवेशन आयोजक समिति बनाउँदै छ । आयोजक समितिबाट पद जाने भएकाले हतास मनस्थितिले पार्टी प्रवेश गरेको प्रपञ्च मात्रै हो । उहाँहरू अहिले पनि माओवादी नै हो । दुई वा दुईभन्दा बढीले एउटै चुनाव चिहृन लिएको भएकाले अब हामी अदालतमा जान्छौँ । यसको प्रक्रिया हामीले सुरु गरिसकेका छौँ । त्यो थाहा पाएर उहाँहरूले हतारमा पार्टी प्रवेश गर्न खोज्नुभएको हो । उहाँहरूलाई त पार्टीले कारबाही गर्छ ।’
९ असोज २०७२ मा माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गर्नुभएका बाबुरामलाई देवेन्द्र पौडेल नेतृत्वको समर्थक समूहले साथ छोडेका थिए । पछि नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच २३ वैशाख २०७६ मा एकता भएर जनता माजवादी पार्टी, नेपाल बनेकोे थियो । यो पार्टी पनि फुटेपछि जसपाका महिन्द्रराय यादव बाबुरामको पक्षमा उभिनुभएको थियो । गत साल साउनमा नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टी पनि फुटेपछि बाबुराम फेरि एक्लिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच