लिमीका ५४ बालबालिकाले नियमित र दादुरा-रुबेलाविरुद्धको खोप लगाउन पाएनन्

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका बालबालिका दादुरा-रुवेला खोप लगाउनबाट बञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भएपनि तील,जाङ र हल्जी गाउँका ५४ जना बालबालिकाले खोप लगाउन नपाएका हुन् ।

यहाँका बालबालिकाले यो राष्ट्रिय खोप मात्रै नभएर खोप मात्र नभएर बालबालिकाले नियमित रूपमा लगाउने अन्य खोप पनि लगाउन नपाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । हिउँदको याम हिमपात भएकाले नारा लेख र न्यालु लेखको सडक बन्दा भएर मानिस र सवारीसाधान आवतजावत बन्द हुँदा खोप कार्यक्रम सञ्चालन हुन नसकेको हो ।

लिमी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी यो वर्ष हिउँद याममा नियमीत कार्यरत भएपनि हिउँले बाटो बन्द हुँदा भ्याक्सिन ढुवानी हुन नसक्दा सबै किसिमका खोप लगाउनबाट लिमीका बालबालिका बञ्चित रहेको प्रमुख सिंहले बताउनुभयो । लिमीमा भ्याक्सिन ढुवानीका लागि हेलिकोप्टरको व्यवस्थाका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको भएपनि समाधान हुन नसकेको हो । भ्याक्सिन ढुवानी गर्न हेलिकोप्टर भाडा रु दुई लाख रुपैयाँ लाग्ने भएकाले भ्याक्सिन ढुवानी मुस्किल हुनुका साथै लिमीका बालबालिका खोप लगाउन नपाएका हुन् । आफुसँग त्यति ठुलो बजेट नहुँदा राष्ट्रिय खोप कार्यक्रम समेत लिमीमा सञ्चालन हुन नसकेको हो ।

हिमपातले बाटो अवरुद्ध भएपछि स्वास्थ्यकर्मी भ्याक्सिन लिएर जान नसकेका हुन । भने बैशाखपछि बाटो खुलेपछि मात्रै खोप अभियान सञ्चालन हुने भएको हो । कात्तिक महिना यता यहाँका बालबालिकाले नियमीत खोप समेत लगाउन नपाएका हुन् । लिमीमा स्वास्थ्यकर्मी भएपनि हिमपातले बाटो बन्द भएपछि भ्याक्सिन नहुँदा खोप नलगाइएको हो । गाउँपालिका स्वास्थ्य शाखाले दादुरा-रुवेला विरुद्धको भ्याक्सिन बुझेको भएपनि स्वास्थ्यकर्मी खोप केन्द्रसम्म जान हिउँ जमेको बाटोले अवरोध गरेपछि खोप कार्यक्रम सुरु नभएको हो ।

गाउँपालिकाका अन्य खोप केन्द्रमा दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । नाम्खा गाउँपालिकामा चैत १ गते बिहीबारदेखि दादुरा-रुवेलाविरुद्धको खोप लगाउने कार्य भइरहेको छ । दादुरा-रुवेला विरुद्धको खोप लगाउने अभियान यहि चैत ७ गतेसम्म सञ्चालन हुने भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?