विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा, निजी क्षेत्र चिन्तित

Read Time = 14 mins

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नस?क्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो । यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरुले व्यक्त गरेका छन् ।

विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल, पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताउनु भयो। उहाँले निजी क्षेत्रले अर्बौंको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताउनु भयो। उहाँले विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरुमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको बताउनु भयो ।

उहाँले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनको लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी गर्नुभयो । उहाँले विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरुको आवातजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरुले लगानी वृद्धि गरेपनि लगानी अलपत्र रहेको बताउनु भयो ।

उहाँले उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण समेत जोखिममा परेको बताउनु भयो । अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारतभ्रमणबाट राम्रो संकेत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके देशले चाहेको अर्थतन्त्र चलायमान हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ लुम्बिनीमा निजी क्षेत्रको ८० अर्ब रुपैयाँ लगानी भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भयो । राज्यको ४० अर्ब रुपैयाँ लगानी भएको छ । एडिबीले विमानस्थलमा लगानी गरेको छ । सम्भाव्यता अध्ययन नगरी लगानी भएको छैन । लुम्बिनीका व्यवसायीहरु चिन्तित र दुःखी छौं । निजी क्षेत्रले विमानस्थल परियोजना बनेको आधारमा होटल,पर्यटन,रेष्टुरेण्ट,हार्डवयर क्षेत्रमा लगानी वृद्धि गर्दै ८० अर्ब रुपैयाँ लगानी गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रुपमा सञ्चालन भएर २० हजार बढीको मानिसहरुको आवातजावत भएर चहलपहल बढ्छ । यो पेशा व्यवसायीलाई वृद्धि गर्छौं भन्ने थियो । त्यस्तै,शिक्षा,प्रविधिको क्षेत्रमा लगानी बढेको छ । तर अहिले ती लगानीहरु अलपत्र भएका छन् । ७०÷३० प्रतिशत वित्तीइ संस्थाबाट ऋण लिएका छौं । उक्त लगानी जोखिममा परेको अवस्था छ । नियमित रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु हुन सकेको छैन । प्रधानमन्त्रीको भारत भ्रमणबाट राम्रो संकेत प्राप्त गरेका छौँ । तर यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण हुने थियो । देशले चाहेको अर्थतन्त्र चलायमान पनि हुने थियो । अब लुम्बिनी प्रदेशका लागि सरकारले दुई देशबीचको समन्वय गर्न आवश्यक छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको संकेत देखिएको बताउनु भयो । उहाँले विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरुले धेरै ठूलो लगानी भएकाले तत्कालको लागि जोखिम देखिएको बताउनु भयो । उहाँले सरकारले विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याएर निजी क्षेत्रको अर्बौंको लगानी सुरक्षित बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विमानस्थल पूर्णरुपमा सञ्चालनमा आएर मानिसहरुको चहलपहल बढ्दा लुुम्बिनी क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षाका आधारमा निजी क्षेत्रले लगानी गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सहमतिले केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास रहेको बताउनु भयो। उहाँले उद्योगी व्यवसायीहरु तत्काल आत्तिहाल्न नहुने बताउनु भयो। उहाँले सरकार निजी क्षेत्र मिलेर अघि बढेमा अहिले देखिएको अर्थतन्त्रको समस्या समेत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै गर्दा लुम्बिनीका पर्यटन व्यवसायीहरुले धेरै ठूलो लगानी गरेका छन् । लुम्बिनीमा अर्ब मात्रै नभएर खर्ब बराबरको लगानी भएको छ । विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आएर मानिसहरुको चहलपहल बढ्दा लुुम्बिनी क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षाका आधारमा निजी क्षेत्रले लगानी गरेको हो । तर विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले विमानस्थलपूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख एजेण्डा बनाउन आग्रह गरेका थियौं । विमानस्थल सञ्चालनको लागि भारत सरकारसँग कुराकानी भएको भन्ने बुझेका छौं । यसको केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास रहेको छ । तत्काल आत्तिहाल्नुपर्ने अवस्था छैन । सरकार निजी क्षेत्र मिलेर अघि बढेमा अहिले देखिएको अर्थतन्त्रको समस्या समेत समाधान हुने छ ।’

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक-पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म पहल नभएको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरेपनि सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले सरकारले ४० अर्ब लगानी गरेको क्षेत्रलाई आधार मानेर निजी क्षेत्रले ८० अर्ब लगानी गर्दा जोखिम देखिएको बताउनु भयो ।

उहाँले विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरुको आगमनमा वृद्धि हुने अपेक्षाले निजी क्षेत्रले लगानी गरेपनि विमानस्थल चल्न नसक्दा व्यवसायी निराश भएको बताउनु भयो। उहाँले विमानस्थलका भौतिक पूर्वाधार बनेपनि सञ्चालनमा आउन नसक्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरु दुःखी भएको उल्लेख गर्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै उडान भरेर केही नहुने भन्दै नेपाली ध्वजावाहक विमानले नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरु नआउने बताउनु भयो। उहाँले सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा उडान हुँदा लुम्बिनीबाट एउटा उडान गर्ने व्यवस्था लागू गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब बढी लगानी गरेको छ । उक्त विमानस्थललाई आधारमा मानेर निजी क्षेत्रले विभिन्न क्षेत्रमा लगानी गरेका छौं । विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरुको आगमनमा वृद्धि हुन्छ । लुम्बिनीको उद्योग,व्यापार व्यवसाय फस्टाउँछ भन्ने आशाले निजी क्षेत्रले लगानी बढाएको छ । भौतिक पूर्वाधार बनेपनि सञ्चालनमा आउन नसक्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरु अत्यन्तै दुःखी छौं । निजी क्षेत्रले विमानस्थल सञ्चालनको लागि धेरै पटक धर्ना समेत बसेका छौं । प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत दिएका छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडाने केही हुँदैन । विमानस्थलमा नेपाली ध्वजावाहक विमान नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरु आउँदैन । आधा भन्दा बढी मानिसहरु काठमाडौं जान झन्झट मान्ने भन्दै लुम्बिनी विमानस्थलबाट नियमित उडानको व्यवस्था गर्नुपर्छ । सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा उडान हुँदा लुम्बिनीबाट एउटा उडान गर्ने व्यवस्था लागू गर्नु आवश्यक छ ।’

विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरेपनि अहिले उडान भर्न छाडेको छ । गत मंगलवार नेपाल वायुसेवा निगमको मेलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना-ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?