काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ । सोमबार गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले पार्टीको चुनाव चिहृन रूखमा पानी सिञ्चन गरेर महासमिति बैठकको उद्घाटन गर्नुभएको हो । ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य एकहजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ सहित झण्डै २५ सय जनाको सहभागिता छ ।
महासमिति बैठकको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्न आहृवान गर्नुभएको छ । शासकीय स्वरूपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने स्पष्ट पार्दै सभापति देउवाले भन्नुभयो, ‘संविधान जारी भएको आठ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखापरेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ । संविधान गतिशील दस्तावेज र यसको दीर्घ जीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक छ । संविधानले व्यवस्था गरेको शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नुपर्छ ।’ नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा दृढ रहेको स्पष्ट पार्दै उहाँले संविधानको उचित कार्यान्वयनबाट मात्रै मुलुकमा सुशासन, विकास र शान्ति कायम हुनसक्ने धारणा राख्नुभयो ।
महामन्त्री थापालाई काउण्टर
सत्तारूढ दलको मुख्य घटकसमेत रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्तावप्रति असहमति जनाउनुभएको छ । भोलिका दिनमा हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर रहने स्पष्ट पार्दै सभापति देउवाले भन्नुभयो, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसक्ने छ । अहिलेको गठबन्धन पनि संविधान रक्षाका लागि कांग्रेसकै पहलमा बनेको हो । प्रतिनिधिसभा विघटन गर्ने, अस्थिरता ल्याउने, गणतन्त्र कमजोर बनाउने गतिविधि भएपछि कांग्रेसले पहल लिएको हो । निर्वाचनपूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रूपमा लिएका छौँ । वर्तमान गठबन्धन संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ ।’
महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा भने अरू चुनाव चिहृनमा मत दिन लगाउँदा कांग्रेसका कार्यकर्ता मात्र होइन, समर्थकसमेत असन्तुष्ट रहेको भन्दै अब कुनै पनि चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसमा संस्थापन पक्षका नेताहरूले आपत्ति जनाएपछि प्रतिवेदनमा सहमति जुट्न सकेको छैन । उद्घाटन समारोह सकिएपछि फेरि छलफल गर्ने भनेर गोदावरी पुग्नुभएका देउवाले उद्घाटन समारोहबाटै महामन्त्री थापालाई जवाफ दिनुभएको हो । गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्रीको प्रस्तावतर्फ संकेत गर्दै उहाँले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीले मात्र बहुमत ल्याउने अवस्था नरहेको स्पष्ट पार्नुभयो । आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी सुदृढ बनाउनसमेत देउवाले आग्रह गर्नुभयो ।
गणतन्त्रविरुद्धका गतिविधि कांग्रेसलाई मान्य नहुने चेतावनी
सभापति देउवाले जनतामा देखिएको निराशालाई देखाएर व्यवस्थाविरोधी गतिविधि गर्ने कुरा मान्य नहुने चेतावनी दिनुभएको छ । जनतामा निराशा देखिए पनि त्यसलाई सबैले मिलेर सकारात्मकतातर्फ लैजानुपर्ने स्पष्ट पार्दै सभापति देउवाले भन्नुभयो, ‘आर्थिक प्रतिकूलताका कारण चाहेजस्तो काम गर्न सकिएको छैन । जनतामा केही निराशा देखिएको छ । हामी प्रतिकूल अवस्थालाई अनुकूलतामा बदल्न सक्छौँ । जनतामा नयाँ भरोसा र विश्वास जगाउन सकिन्छ । यसका सबै मिलेर काम गर्नुपर्छ । जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौँ ।’ राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनु स्वाभाविक रहे पनि कतिपय साझा विषय भएकाले संवाद, सहकार्य र सहमतिको नीतिमा अगाडि बढ्नुपर्नेमा देउवाको जोड छ ।
कांग्रेसका वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानविन गर्नुपर्छ : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका कानुनमन्त्री धनराज गुरुङले महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानविन गर्ने निर्णय लिनुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरीमा सोमबार भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति गुरुङले भन्नुभयो, ‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानविन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ ।’ गुरुङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने र पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीभित्र न्याय नपाएको अवस्था छ : सहमहामन्त्री डिना
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीभित्र न्याय नपाएको गुनासो आएको बताउनुभएको छ । न्याय दिने बाटो पार्टीको अबको नीतिले अवलम्बन गर्ने दाबी गर्दै सहमहामन्त्री उपाध्यायले भन्नुभयो, ‘आम पार्टीका कार्यकर्तालाई अन्याय भयो । त्यसको अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा हामी सबै जुटौँ ।’ पार्टीले जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्ने उहाँको जोड छ । कांग्रेसको नीति उत्कृष्ट बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने हुनुपर्ने धारणा राख्दै उपाध्यायले भन्नुभयो, ‘हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ । हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ । यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ । जनताको विश्वास कांग्रेसमा छ, जनताले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउनेछ । स्थानीय तहमा हाम्रो पार्टी ठूलो छ । प्रदेश र केन्द्रमा स्थापित छ । त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाइ गर्नुपर्छ । जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ ।’
सभापति र महामन्त्रीको द्वन्द्व मिलाउन पदाधिकारीबीच छलफल
महासमिति बैठक उद्घाटन भइसक्दा पनि कतिपय विषयमा सहमति जुटाउन नसक्दा महामन्त्रीहरूको राजनीतिक दस्तावेज तयार पार्न नसकेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्व-पदाधिकारीहरूबीच सोमबार साँझ छलफल भएको छ । देउवानिवास बूढानीलकण्ठमा भएको छलफलमा महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गर्ने दस्तावेजमा सहमति जुट्न नसकेका विषयमा छलफल भएको थियो । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा सभापति देउवाको असहमति छ । थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउनुपर्ने अडानमा देउवा रहनुभएको छ । तर, दुवै महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेपछि कांग्रेसभित्र राजनीतिक प्रस्तावहरू सहमतिमै तयार पार्ने विषय थप पेचिलो बन्दै गएको छ । बैठकमा विवादित महासमिति सदस्यका बारेमा पनि छलफल भएको छ ।
जनताको अवस्थामा सुधार ल्याउन ठोस नीति तय गर्ने दाबी
नेपाली कांग्रेसका महासमिति सदस्यहरूले मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास गरेका छन् । सोमबारदेखि गोदावरीमा सुरु भएको चारदिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरूले मुलुकको विद्यमान व्यवस्था र देश तथा जनताले भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय लिन सो बैठकमा सफल हुने प्रतिक्रिया दिएका हुन् । उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएका छन् । नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले व्यवस्थामाथि भइरहेको प्रहारलाई निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो । जनतामा रहेको निराशालाई आशामा बदल्न पनि महासमिति बैठकले सफल हुने उहाँको भनाइ छ । अर्का महासमिति सदस्य डा.सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्वपूर्ण हुने दाबी गर्नुभयो । मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने विषयमा पनि नेपाली कांग्रेसले बैठकबाट ठोस निर्णय लिने उहाँको विश्वास छ । मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्त गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अंगीकार गर्नुपर्ने अर्का महासमिति सदस्य भोजराज श्रेष्ठको जोड छ ।
उद्घाटन समारोहमा महामन्त्रीद्वयले पाएनन् बोल्न
नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन समारोहमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मन्तव्य राख्नबाट वञ्चित गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमबार दिउँसो चलिरहेको उद्घाटन समारोहमा गगन र विश्वप्रकाशले मन्तव्य राख्न नपाउनुभएको हो । सुरुमा कांग्रेस जिल्ला सभापतिले स्वागत मन्तव्य राखेपछि सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले स्वागत मन्तव्य राख्नुभएको थियो । डिनापछि सिधै उपसभापति धनराज गुरुङलाई बोल्न समय दिइएको थियो । कार्यक्रम उद्घोषक एवं केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बन्दसत्रमा महामन्त्री थापा र शर्माले प्रतिवेदन पेस गर्ने जानकारी दिनुभयो ।
महासमिति प्रतिनिधि ओसार्न चार दिनसम्म निःशुल्क बस
नेपाली कांग्रेसले महासमिति बैठकमा जाने प्रतिनिधिको सहजताका लागि दैनिक २० वटा बस निःशुल्क सञ्चालन गरेको छ । पार्टीबाट गठन गरिएको यातायात व्यवस्थापन उपसमितिले काठमाडौंबाट महासमिति बैठक हुने स्थान गोदावरी जान चार दिनसम्म निःशुल्क बस व्यवस्थापन गरेको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चारवटा रुटमा २० वटा बसको व्यवस्था गरिएको छ । गौशालाबाट ६ वटा, नारायणगोपाल चोकबाट दुईवटा, नयाँ बसपार्कबाट चारवटा र भद्रकालीबाट ६ वटा बस छुट्नेछन् । कांग्रेसले छुटेका महासमिति प्रतिनिधिहरूलाई सातदोबाटोको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय अगाडिबाट लैजाने र गोदावरीबाट फर्किन ६ बजे आ-आफ्नो रुटका बस चढ्नुपर्ने जनाएको छ । कांग्रेसले कार्यक्रम अवधिभर बिहानको नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै उपलब्ध गराउनेछ । बेलुकाको खाना र आवास भने सहभागी आफैँले व्यवस्था गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
बैठकमा आज प्रतिवेदनहरू पेस हुँदै
नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरू आज मंगलबार बिहान पेस हुँदै छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरू छलफलका लागि पेस हुने जानकारी दिनुभयो । बिहान ९ बजेदेखि सुरु हुने बन्दसत्रमा चारवटा प्रस्ताव पेस हुने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेस हुने भनिए पनि मंगलबार चारवटा पेस हुने भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा.प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्नेछन् । लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेस गरिने समयबारे मुख्य सचिव पौडेलले जानकारी दिनुभएन । १४औँ महाधिवेशनपछि कांग्रेसको महासमिति बैठक बसेको छ । पार्टीका नीतिगत दस्ताबेजमा छलफल गर्ने उद्देश्यले महासमिति बैठक बोलाइएको हो । जसमा विभिन्न दस्ताबेज पेस हुनेछन् ती दस्ताबेजहरूमा छलफल गरेर परिमार्जनसहित पास गरिने कांग्रेसले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच