जनकपुरधाममा प्रदेशस्तरीय ललितकला प्रदर्शनी

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मधेसको राजधानी जनकपुरधाममा प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गरेको छ । जसमा स्थानीय उत्कृष्ट कलाकृतीहरूको प्रदर्शनी भइरहेको छ । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित चार दिवसीय ललितकला प्रदर्शनीमा उत्कृष्ट हुने कलाकृति राष्ट्रिय प्रतिस्पर्धा र पुरस्कारका लागि छनौट हुनेछ ।

मधेस प्रज्ञा प्रतिष्ठाको समन्वयमा आयोजित प्रदर्शनीको अन्तिम दिन चैत ५ गते विज्ञहरूको निर्णय बमोजिम प्रदेशका उत्कृष्ट कलाकृतिहरू राष्ट्रिय छनौट प्रतिस्पर्धाका लागि पठाइने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मधेस प्रदेश संयोजक अरुणा हिमांगले बताउनुभयो । प्रदर्शनीमा ७६ वर्षीय वृद्वा कलाकारले धागोले बनाएको गणेश भगवानको प्रतिमादेखि एक से एक कलाकृतिहरू राखिएको छ ।

प्रादेशिक स्तरमा पहिलो पटक भएको यस्तो आयोजनले स्थानीय कलाकारसमेत खुशी छन् । यस्तो भएपछि अब अवसरको अभावमा ओझेलमा परेका वास्तिवक कलाकारसमेत राष्ट्रिय स्तरमा पुग्नसक्ने भएको भन्दै उनीहरू हर्षित छन् । जनकपुरधामकी मिथिला चित्रकार रुवि पाठक अब वास्तिवक कलाकार राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा पुग्ने आशा जागेको बताउनु हुन्छ ।

आयोजनको अभिभावकत्व ग्रहण गरेको मधेस प्रज्ञा प्रतिष्ठानले यस्ता संस्थाहरू समेत संघीयताको प्रादेशिक मर्म आत्मसाथ गर्दै स्थानीय कलाकारसम्म पुग्नु नै महत्वपूर्ण रहेको भन्दै अब पहुँच होइन मिहिनेत र उत्कृष्ट कलाकृति अगाडि बढ्ने प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडी भ्रमरको दाबी छ । उहाँले पहिला पहुँच र जानकारीको भरमा सीमित कलाकारहरू सिधैंआफैं काठमाडौं पुग्ने गरेकोमा यसपटक स्थानीयस्तरबाट छनौट भएर जाने प्रतिभाले अवसर पाउने बताउनुभयो ।

-पुरन साह

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?