राया गाउँमा रहेका सरकारी कार्यालयमा विद्युत सेवा विस्तार

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा-३ राया गाउँमा रहेका सरकारी तथा संघ संस्थाका कार्यालयमा विद्युत सेवा जडान गरिएको छ ।

राया खोला जलविद्युतले वडा कार्यालय, हुम्ला माध्यमिक विद्यालय राया, स्वास्थ्यचौकी र सहकारीलाई रातीको समयमा मात्रै विद्युत सेवा उपलब्ध गराउँदै आएको थियो भने बुधबारदेखि २४ सै घण्टा विद्युत सेवा निरन्तर हुने गरी लाइन विस्तार गरिएको सोही जलविद्युतका अध्यक्ष टेक बहादुर बुढाले बताउनुभयो । स्वास्थ्यचौकीमा विरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सहजका लागि लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई दिउँसोको समयमा प्रशासनिक काम गर्न विद्युत सेवा उपलब्ध नहुँदा समस्या भएको हुनाले सेवा प्रवाहमा सहजका लागि विद्युत लाइन विस्तार गरिएको उहाँले बताउनुभयो । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत सेवा उपलब्ध भएपछि दैनिक कामकाज गर्न सहज हुनेभएको छ ।

यस्तै विद्युत लाइन विस्तार गर्न तारको व्यवस्था जलविद्युतले गरेको थियो भने प्राविधिक खर्च वडाले दिएको हो । सिधै पावर हाउसबाट लाइन छुट्याएर विस्तार गरिएको हो । विद्युत सेवा जडान सँगै दैनिक काम काजमा सहज हुने भएको छ ।

वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक रु दुई हजार विद्युत शुल्क तोकेको उहाँले बताउनुभयो । गाउँमा रहेको दुधेदह प्राङगारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयको भन्दा रु एक हजार कमको शुल्क तोकिएको छ । गाउँमा विद्युत सेवा उपभोग गर्ने सेवाग्राहीलाई मासिक रु दश रुपैयाँ शुल्क जलविद्युतले लिँदै आएको सोही जलविद्युतका अध्यक्ष बुढाले बताउनुभयो ।

राया खोला जलविद्युतमा काम गर्ने कर्मचारीको तलबका लागि पनि उक्त शुल्क उठाउँदै आएको बुढाको भनाई छ । २५ किलाेवाट क्षमता भएको राया खोला जलविद्युतले राया गाउँमा ६ वर्षदेखि उज्यालो दिदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?