
काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्मिलित चार दलीय समाजवादी मोर्चामा सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेलाई समेट्ने प्रयास सुरु भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मोर्चाको बैठकमा एमालेलाई पनि समेट्नेबारे छलफल भएको समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिनुभएको छ । एमालेसँग थप छलफल गरेर मोर्चाको आगामी कार्यक्रम ल्याउने तयारी रहेको जानकारी दिँदै संयोजक चन्दले भन्नुभयो, ‘समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भयो । मोर्चामा एमालेलाई पनि समेट्ने गरी पहल थालेका छौँ । एमालेका नेताहरूसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्नुहुन्छ । एमालेसमेत बसेर मोर्चाको कार्यक्रम टुंगो लगाउने छौँ ।’
मोर्चाको बैठक बस्नुअघि संयोजक विप्लवले एमालेका अध्यक्ष केपी ओलीसँग बिहीबार साँझ दुई घण्टा लामो भेटवार्ता गर्नुभएको थियो । ओलीसँगको कुराकानी सम्बन्धमा संयोजक विप्लवले शुक्रबार मोर्चाको बैठकमा ब्रिफिङ गर्नुभएको थियो । ओलीसँग थप छलफल गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिइएको छ ।
एमाले अध्यक्ष ओलीसँगको भेटवार्ता सकारात्मक भएको जानकारी दिँदै विप्लवले भन्नुभयो, ‘समाजवादी मोर्चामा एमालेलाई समेट्ने विषयमा मैले अध्यक्ष केपी ओलीसँग बिहीबार कुराकानी गरेको थिएँ । यस विषयमा सरकारमा सहभागी भएका नेताहरूसँग छलफल गर्ने भन्ने कुरा भएको छ । आगामी दिनमा कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा कुरा भयो । सकारात्मक कुरा भएको छ । मोर्चाप्रति उहाँ सकारात्मक देखिनुभएको छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा एमाले सहभागी नहुने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार सिंहदरबारमा भएको छलफलपछि समाजवादी मोर्चामा एमाले सहभागी हुने हो ? भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘हैन ।’
तर, नेकपा एमाले भने तत्काल समाजवादी मोर्चामा सहभागी हुन अनिच्छुक देखिएको छ । सत्तारूढ माओवादी केन्द्रसहित संसद्मा रहेका तीन दल र नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्मिलित समाजवादी मोर्चा गठन भएको नौ महिना बितिसकेको छ । समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ गठित मोर्चाका गतिविधि भने अहिले शून्यप्राय छ । सत्ता समीकरणमा एमालेसमेत जोडिएपछि मोर्चाको भविष्यमाथि प्रश्न चिहृन खडा भइरहेको बेला एमालेलाई सहभागी गराउने प्रयत्न सुरु भएको हो । तर, एमालेले विगतदेखि नै मोर्चाको औचित्यमाथि प्रश्न उठाइरहेको छ ।
विगतमा सत्ता समीकरणमा देखिएको खटपट तथा प्रधानमन्त्री प्रचण्डलाई सरकार सञ्चालनमा देखिएको अप्ठेरो महसुसका बीच समाजवादी मोर्चाको गठन भएको थियो । मोर्चा गठनसँगै संसद्मा उसको प्रतिनिधित्व भने केही हदसम्म बलियो देखिन्छ । सत्तारूढ माओवादी केन्द्रका ३२, जसपा १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद मोर्चामा समावेश छन् । पछिल्लो सत्ता समीकरणमा जोडिएको एमालेलाई समेत प्रवेश गराए उसको संसद्मा थप बलियो उपस्थिति देखिनेछ ।
यद्यपि, मोर्चामा एमाले सहभागी हुने विषयमा अहिले केही सोच नबनाएको एमालेका महासचिव शंकर पोखरेलको प्रतिक्रिया छ । सत्ता समीकरण फेरबदल भएसँगै यसलाई थप बलियो बनाएर जाने विषयमा आफूहरूको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले हामी समाजवादी मोर्चामा जाने सोचमा छैनौँ । सरकार र सत्ता सहकार्यको विषयलाई बलियो गरी अगाडि बढाउने खालको सोचमा रहेका छौँ । सत्तासँगको सहकार्य अटुट रूपमा बढ्छ ।
वाम ध्रुवीकरण पार्टीलाई बलियो बनाउने विषय हो । भोलि बलियो राष्ट्रिय शक्ति बनाउने कुरा हो । अहिलेको अवस्थामा समाजवादी मोर्चा बनाएर जाने विषयमा सोच नभए पनि पछि सहकार्य वा एकता हुनसक्छ ।’
फागुन ६ गते एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले संयोजकमा विप्लवलाई चयन गरेपछि एमालेलाई समेट्ने गरी पहल सुरु गर्नुभएको थियो । समाजवादी मोर्चाको विषयमा अहिलेसम्म पार्टीमा औपचारिक छलफल नभएको जिकिर गर्दै एमाले सचिव योगेश भट्टराईले भन्नुभयो, ‘समाजवादी मोर्चाको विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । सामान्यतया यस्ता मोर्चामा एमाले सामेल हुँदैन । हुन हुँदैन भन्छु म । जाँदैन । एमालेलाई अहिले मोर्चा आवश्यक छैन ।’
मोर्चामा एमाले सहभागी हुँदैन:ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा एमाले सहभागी नहुने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार सिंहदरबारमा भएको छलफलपछि समाजवादी मोर्चामा एमाले सहभागी हुने हो ? भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘हैन ।’
ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो अहिलेको समसामयिक विषयमा ।’ त्यसपछि सञ्चारकर्मीले एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा ओलीले भन्नुभयो ‘होइन’ । दुई नेताबीच संसद्मा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ: भुसाल
यता, सत्तारूढ दल नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारूढ दल नेकपा एमाले सहभागी नभए पनि मोर्चा कायम रहने बताउनुभएको छ ।
वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने उहाँको जिकिर छ । समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने उपाध्यक्ष भुसालको भनाइ छ ।
द्वन्द्वकालीन मुद्दाको विषय अदालतमा प्रवेश हुन थालेपछि पूर्वमाओवादी घटकहरूबीच एकताको विषयमा छलफल भइरहेको छ । विप्लवको पार्टीसँग एकता गर्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन् ।
एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै बृहत् हुनसक्ने दाबी गर्दै उपाध्यक्ष भुसालले भन्नुभयो, ‘त्यहाँ हामीले सरकारमा भएका र नभएकाहरूको हो समाजवादी मोर्चा, सडकमा भएका पनि, सदनमा र सरकारमा भएकाहरूको पनि । त्यहाँ एउटा छलफल, समझदारी गरेर हामी बनाउँछौँ । चलाउँछौँ । मोर्चा छ । यसको औचित्य छ । आवश्यकता छ । एउटा वाम, समाजवादी हुनुको नाताले एमाले आयो भने पनि ठिकै छ । तर, नआए पनि हामी यो मोर्चालाई अगाडि बढाउँछौँ ।’
माओवादीसँग एकताबारे सकारात्मक प्रयास जारी छ: विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले माओवादी केन्द्रसँग एकता आवश्यक रहेको विषयमा छलफल भइरहेको बताउनुभएको छ । छलफल सकारात्मक रूपले अघि बढिरहेको जानकारी दिँदै विप्लवले भन्नुभयो, ‘एकताको कुरा नीतिगत कुरा हो ।
यस विषयमा निरन्तर कुरा भइरहेकै छ किनकि नेपालको कम्युनिष्ट आन्दोलनको बारेमा एउटा नयाँ बहस आवश्यक छ । माओवादी बीचको एकताको कुरा पनि आवश्यक छ भन्ने कुरा चलिरहेकै छ । त्यसमा सकारात्मक छ ।’ २०६९ साल असारमा तत्कालीन नेकपा (एकीकृत माओवादी)बाट अलग्गिनुभएका विप्लव पछिल्लो समय माओवादीसँग नजिकिनुभएको छ ।
द्वन्द्वकालीन मुद्दाको विषय अदालतमा प्रवेश हुन थालेपछि पूर्वमाओवादी घटकहरूबीच एकताको विषयमा छलफल भइरहेको छ । विप्लवको पार्टीसँग एकता गर्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन् ।
प्रचण्ड र ओलीबीच छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारमा दुई नेताबीचको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल भएको बताइएको छ । प्रदेश सरकारको नेतृत्वबारे सत्ता गठबन्धनका दलहरूबीच विवाद रहँदै आएको छ । विवादकै कारण केन्द्रमा सत्ता समीकरण परिवर्तन भएको दुई साता बितिसक्दा पनि प्रदेश सरकारहरू परिवर्तन भएका छैनन् ।
यसैबीच, नेकपा एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । सचिवालय बैठकमा आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ । बैठक साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले पनि सचिवालय बैठक आहृवान गरेको छ ।
चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आहृवान गरेको हो । बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवेदनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच