श्रीमद्भागवत महापुराणको पहिलो स्कन्धमा महाभारतको प्रसङ््ग आउँछ । महाभारत युद्धको समाप्तिपछि युधिष्ठिरले शासन गरे । उनको शासनकाल धर्मराज्य भए पनि भगवान् कृष्णको स्वधाम गमनपछि उनले कलियुगको आरम्भ भएको जानकारी पाए । कलियुग सुरु भएपछि उनले शासनलाई गति दिन चाहेनन् । आफ्नो राज्य आफ्नै वंशका उत्तराधिकारी अर्जुनका नाति अभिमन्युका छोरा परीक्षितलाई सुम्पेर प्रयाणको बाटो रोजे । पाँच पाण्डव कुन्ती र द्रोपदीसहित उत्तरापन्थतिर लागेको चर्चा महापुराणमा पाइन्छ । महारथी अभिमन्युका छोरा, अर्जुनको नातिका हातमा हस्तिनापुरको शासन पनि विधिवत् चलिरहेको थियो । कलिको प्रवेशसँगै राज्यमा अधर्म बढेको जानकारी पाएपछि परीक्षितले कलिमाथि विजय प्राप्त गरे ।
भारत वर्ष भरि हजुरको शासन छ । राजा भएपछि सबैलाई बराबर व्यवस्था गर्नुपर्दछ । म अब कहाँ जाने । जाने र म बस्ने ठाउँ कतै पनि छैन । मेरो बस्ने व्यवस्था त शासकको कर्तव्य होइन र ? भन्दै कलि दीन, हीन अवस्थामा उनीसित प्रलाप गर्न लाग्यो र उनले कलिलाई बस्ने आधार प्रदान गरेको कथा आएको छ भागवत् महापुराणमा । महापुराणको कथा किन जोडियो भने उनले कलिलाई आश्रयस्थलका रूपमा सुन पनि दिएका थिए । उनले आफ्नो दरबारमा गएपछि जरासन्धको मुकुट पहिरिए । उनमा कलिको प्रवेश भयो । कलिको प्रभावका कारण तपस्या गरिरहेका तपस्वीको घाँटीमा मेरो सम्मान नगरेको भन्दै मरेको सर्प राखिदिए । मेरा पिताको घाँटीमा जसले सर्प राख्यो उसलाई आजको सात दिनभित्र तक्षक नागले डस्नेछ भन्ने श्राप ऋषिकुमारले दिए । श्राप दिएको वाक्यलाई ऋषिकुमार भन्छन् :
इति लड्घितमर्यादं तक्षकः सप्तमेद्रहनि ।
दड्क्ष्यति स्म कुलाड्गारं चोदितो मे ततद्रुहम् ।
जसले यो मानवीय भावना र मर्यादालाई उलङ्घन गरेको छ त्यसलाई आजका सात दिनभित्र तक्षक नागले डस्नेछ । यो हो ऋषिकुमारको तत्कालीन शासक परीक्षितलाई श्राप । उक्त श्रापबाट ग्रसित परीक्षित स्वामी सुकदेवबाट श्रीमद्भागतवत् महापुराण सुनेको चर्चालाई उल्लेख गरिएको छ ।
परीक्षितको निगाह
हाम्रा पुराणहरूमा राक्षसबाहेकका शासक गतिला र दयालु स्वभावका हुने गरेका छन् । उनीहरूले प्रजाका साथै राज्यको कुनै पनि व्यवस्था कमजोर नहोस् भन्ने चाहेका हुन्छन् । पाण्डवको वंशजका रूपमा आएका परीक्षित पनि त्यस्तै किसिमका शासकका रूपमा देखिएका शासक हुन् । उनले कलिमाथि विजय पाएपछि निम्नस्थान उसको आवासका लागि व्यवस्था गरे ।
अभ्यर्थितस्तदा तस्मै स्थानानि कलये ददौ
द्यूतं पानं स्त्रियः सूना यत्राधर्मश्चतुर्विध
पुनश्च याचमानाय जातरूपमदात्पभुः ।।
परीक्षितले पहिले कलिलाई चार स्थानमात्र तिम्रो लागि योग्य ठाउँ रहेको जानकारी दिए । जुवाघर, मदिरालय, नारी र बधशालालाई उनले कलिका लागि योग्य वासस्थानका रूपमा दिए । यी चार स्थानमा सदा अधर्म रहने कुरा उल्लखे गरेका परीक्षितलाई कलिले सबै स्थान अनुत्तम भए । एउटा त राम्रो स्थान पनि दिनुहोस् भन्ने भावलाई कलिले माग गरेको देखिन्छ । कलिले माग गरेको हुँदा उनले सुनलाई कलिको निवासस्थानका रूपमा स्वीकार गरेको पाइन्छ । परीक्षितले यी पाँच वस्तुलाई कलिको वासस्थानको व्यवस्था गरिदिए । यी वस्तुमा के छ भन्ने सन्दर्भलाई भागवत्कार भन्छन्
ततोद्रनृतं मदं कामं रजो वैरं च पञ्चमम्
अमूनि पञ्च स्थानानी ह्यधर्मप्रभवः कलि ।।
जुवाघरमा असत्य, मदिरामा मद वा घमण्ड, नारीमा काम, बधशालामा रजोगुण तथा सुनमा शत्रुता रहने सङ्केत भागवत् पुराणले गरेको देखिन्छ । यसरी द्वापर युगको अन्त्यमा कलियुगले आफूलाई सुनमा सुरक्षित राखेको देखिन्छ । कलियुगले सुनलाई परीक्षितको निगाहका रूपमा पाएको हो । यही निगाहका रूपमा पाएको सुनलाई उसले तत्कालीन हस्तिनापुरका शासक परीक्षितमा आफूलाई प्रवेश गराएर पूर्ण कलियुगको जीवनमा समर्पित गरेको देखियो ।
जुवाघरमा असत्य, मदिरामा मद वा घमण्ड, नारीमा काम, बधशालामा रजोगुण तथा सुनमा शत्रुता रहने सङ्केत भागवत् पुराणले गरेको देखिन्छ । यसरी द्वापर युगको अन्त्यमा कलियुगले आफूलाई सुनमा सुरक्षित राखेको देखिन्छ । कलियुगले सुनलाई परीक्षितको निगाहका रूपमा पाएको हो ।
हामी सनातनी परम्परामा रमाउने र सनातनलाई आफ्नो धर्मको भाव मान्ने परम्परामा हुर्केका छौँ । हाम्रो परम्परामा भक्तिलाई जीवन्त आधार मानिएको छ । भक्ति भोकमा प्रवेश गरे भोक व्रत बन्छ । जलमा भक्ति प्रवेश गरेमा त्यही जल चरणामृतका रूपमा मानिन्छ । भक्तिले भोजन वा खानालाई स्वीकार गरेमा उक्त भोजन प्रसादका रूपमा मानिएको हुन्छ । भक्तिले यात्रालाई अवलम्बन गरेको खण्डमा उक्त यात्रा तीर्थयात्राका रूपमा मानिएको हुन्छ । भक्तिले घरमा प्रवेश पायो भने त्यो घर मन्दिरका रूपमा स्थापित भएको मानिन्छ । कार्यमा भक्ति प्रवेश गरेमा उक्त कार्य कर्मका रूपमा रहेको मानिन्छ ।
भक्ति सड्गीतमा प्रवेश गरेमा सड्गीतलाई कीर्तनमा रूपमा स्वीकृत गरिन्छ । यदि भक्ति व्यक्तिमा प्रवेश गरेका खण्डमा व्यक्ति मानव हुन्छ । यो हो हाम्रो संस्कार र हामी बाँचेको समाज पनि । त्यसैले कलिलाई सुन वासस्थानका रूपमा दिने परीक्षित गलत थिए वा कलिले वासस्थानका रूपमा सुनलाई माग्नु गलत हो यो अध्ययनको विषय हुन सक्ला ? तर आजको सुन कलिको चरम रूप बनेर हाम्रो देशमा भित्रिएको छ ।
कलिको महत्व सुनमा
हाम्रो देश प्रकृति र वनस्पतिले भरिएको देश हो । हामीले हिमाललाई जडिबुटीको भण्डार मान्छौँ । पहाडलाई फलफूलको भण्डारका रूपमा स्वीकार गरेका छौँ । तराईलाई अन्नको भण्डार मानिन्छ । तराईको अन्न पहाड र हिमालमा, हिमालको जडिबुटी पहाड र तराईमा तथा पहाडको फलफूल तराई र हिमालमा जाने होइन र ? यही हो हाम्रो देशको सुन । यही सुनमा रमेको देश हो हाम्रो र हामी पनि यही सुन्दरतामा रमेका छौँ तर आज यही पहाड, हिमाल र तराईको सुनले केही गर्न सकेको छैन आजका मानिसलाई ।
यो सुन आजको युग र आजका नेपालीका लागि स्वागत योग्य मानिएको छैन । नेपालमा राजतन्त्रमा पनि सुन भित्रिन्थ्यो होला ? तर त्यसको लेखाजोखा आजको समयमा कसैलाई जानकारी नभएको हुनसक्छ । हामी आज गणतन्त्रमा छौँ । संसारको सबैभन्दा गतिलो शासनव्यवस्था । यो शासन व्यवस्था संसारकै उत्तम मानिएको छ । यही व्यवस्थामा नै सबैभन्दा बढी सुन तस्करी भएको तथ्य बाहिर आउनु लाजलाग्दो कुरा होइन र ?
यो सुन फलाउने देश किन सुन तस्करीको केन्द्र बन्यो । आजको अवस्थासम्म कति सुन भित्रियो र कति पटक भित्रियो भन्नेसम्मको जानकारी कसैलाई पनि छैन । सुनकाण्डमा केही वर्ष पहिले साना र खुद्रा मानिसहरू मात्र संलग्न रहने चर्चा पाइन्थ्यो । आज त सुन तस्कर देशका नेतामात्र होइन भूतपूर्व राष्ट्रपतिका छोरा, नेपालमा पटक पटक मन्त्री भएका व्यक्ति, सुरक्षा निकायका व्यक्ति र नेपालको व्यापारमा आफ्नो प्रभुत्व राख्न सक्नेसमेत मुछिनुले त देशको शासकीय व्यवस्थामा समेत प्रश्नचिहृन खडा गरेको छ । सुन तस्करीका कारण संसारमा सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रूपमा नेपाल दरिएको तथ्यलाई आजका नेपाली जनताले बेहोरिरहेको तथ्यलाई नकार्न सकिँदैन पनि । तस्करले कुन कुन विधि अपनाएर नेपालमा सुन भित्या्एर त्यसको चर्चा नेपालमा देखिँदैन पनि ।
नेपालमा सुन तस्करी हवाइमार्गबाट मात्र होइन स्थलमार्गबाट पनि भइरहेको देखियो । नेपाली समाजका विश्वासपात्र बनेका र नेपाली राजनीतिमा जनताको प्रतिनिधित्व गर्ने व्यक्ति नै तस्करीमा पर्नुलाई नेपाली समाज र नेपालीहरूले कुन रूपमा हेरेका छन् त्यो अवस्था आउने निर्वाचनमा पक्कै पनि देखिनेछ ।
यही अवस्था नै आजको नेपाली समाजको चरित्र नै बनेको देखिन्छ । यही तस्करीको जालोमा रमेको छ नेपालको राजनीति पनि । आज हामी सम्पन्नशाली मुुलुकमा विद्यमान छौँ । हामीले चाहेको व्यवस्था हामीले हाम्रो देशमा ल्याएका छौँ । यो व्यवस्थामा देशको समुन्नति हुने तर्कलाई नेपालीले आन्दोलनका माध्यमबाट अभिव्यक्त गरेका थिए । विकासका सन्दर्भमा नेपालले चुस्त बनाउने तर्कलाई नेपालीले मनन नगरेका पनि होइनन् तर नेपालको समुन्नतिमा भ्रष्टाचार नै बाधक बनेर आएको छ । सबै क्षेत्रमा देखिने भ्रष्टाचार आजको नेपालका लागि गलत प्रक्रिया बनेर आएको छ । आज नेपाल सबैभन्दा उन्नत देशमा दरिनुपर्ने होइन र ? तर आजको नेपाल भ्रष्टाचार र सुन तस्करीमा जीवन्त रहनुलाई के भन्न सकिन्छ र ?
हिजोको नेपाल समुन्नत हो । हामी जल, जङ्गल र जमिनमा सम्पन्न थियौँ । नेपालीले जहाँ जे उत्पादन हुन्छ त्यही खाने बानी बसाल्ने हो भने नेपाली भोकै मर्नुपर्ने अवस्था छैन । तर, हाम्रो भोकले कोदाको रोटी, भुटेका र पोलेका मकैका ठाउँमा चाउचाउ र चाउमिन खोज्न थालिसक्यो । हाम्रो प्यासले झरना र धारोको पानीका ठाउँमा कोक र फेन्टा खोज्न थाल्यो र हामी अरबको खाडीमा तातिन थालिसक्यौँ । सुनको उत्पादन गर्ने देश आज सुनकै तस्करीमा समर्पित हुनुलाई के भन्न सकिन्छ त ? हामीले ल्याएको व्यवस्था राम्रो हो । हामीले समातेको व्यवस्था उत्तम हो । संसारको सबैभन्दा उत्तम व्यवस्थाका रूपमा गणतन्त्रलाई लिने गरिएको छ ।
राजाले देशमा निरङ्कुशता र भ्रष्टाचारलाई प्राथमिकतामा राखे भनेर हामीले शासकीय व्यवस्थामा परिवर्तन ग¥यौँ । यो परिवर्तन नेताका लागि मात्र नभएर देशका लागि पनि उत्तम थियो । व्यवस्थालाई प्रश्न गर्ने ठाउँ पक्कै पनि होइन तर व्यवस्था ल्याउन नेपालीको नेतृत्व गरेका कुनै पनि दलका व्यक्ति वा नेता नै पवित्र हुन सकेनन् । देशको नेतृत्व गर्ने कुनै पनि दलका नेतामा स्वच्छता, पवित्रता, वेदागीपन कतै पनि देखिएन । राजनीति दलका नेता र उनका कार्यकर्ताले गरेको संस्थागत भ्रष्टाचारलाई नेपालीले कहिल्यै पनि स्वीकार गर्न सकेनन् । देशको व्यवस्थालाई जीवन्त बनाउनका लागि नेताले सुन तस्करीमात्र होइन भ्रष्टाचारलाई पनि रोक्नु आवश्यक मानिन्छ ।
नेपालमा सुन तस्करी हवाईमार्गबाट मात्र होइन स्थलमार्गबाट पनि भइरहेको देखियो । नेपाली समाजका विश्वासपात्र बनेका र नेपाली राजनीतिमा जनताको प्रतिनिधित्व गर्ने व्यक्ति नै तस्करीमा पर्नुलाई नेपाली समाज र नेपालीहरूले कुन रूपमा हेरेका छन् त्यो अवस्था आउने निर्वाचनमा पक्कै पनि देखिनेछ । भ्रष्टाचार गरेर किर्नाजस्तै ढाडिएका, सहकारीको ऋण खाएर सामान्य नेपालीलाई बिचल्ली पार्ने, सुनलाई नेपाल भित्राउन तस्करसित रात्रि र दिवाभोज गर्ने व्यक्ति नै आजका सबैभन्दा ठूला नेता र दलको शीर्षस्थानमा रहनुले आजको गणतन्त्रलाई गिज्जाइरहेको छ । देशको अवस्थालाई विकासको मूल भावमा लैजान नसक्नु र भ्रष्टाचारको कालो धनमा रमाउने नेपाली नेताको प्रवृत्तिले नेपाली जनताले ल्याएको गणतन्त्रलाई उपहास गरिरहेको छ ।
यस उपहासले कुन समयमा विद्रोहको रूप लिने हो कसैलाई पनि जानकारी छैन । सञ्चारको विकासमा उन्नतिशील बनेको नेपाली समाजका सामान्य कुरालाई पनि सामाजिक सञ्जालमार्फत बाहिर ल्याउन उद्यत देखिएको छ । मैले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका कुराले नेपाली समाज र समाजमा बाँचिरहेका व्यक्तिको चरित्रहत्या त गर्दैन भन्ने जानकारीसमेत नराख्ने आजको पुस्ता उन्नतशील देखिएको छ । त्यसैले आजको नेतृत्वको हालत हस्तिनापुरका तत्कालीन शासक परीक्षितको जस्तो देखिएको छ ।
परीक्षितलाई त सन्त शुकदेवले मृत्युभयबाट मुक्त गराए । आजका नेपाली नेतालाई न त शुकदेवजस्ता सन्त मिल्नेछन् न त परीक्षितजस्तै मृत्युभयबाट मुक्त हुनेछन् । यो प्रकृतिले सजिएको नेपाल र सुन फल्ने देशलाई सुनकै तस्करीको जालोबाट बाहिर ल्याउन सके नै यो देशले काँचुली फेर्नेछ र नेपाली सुखी हुने सत्यलाई कुनै नेपालीले नकार्न सक्ने छैन ।
डा. गणेशप्रसाद घिमिरेको अन्य लेख पढ्नुहोलाडा. गणेशप्रसाद घिमिरे
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच