काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरूमा फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदै छ । यसवर्ष पहाडी तथा हिमाली जिल्लामा ११ चैत (आइतबार) र तराईका जिल्लाहरूमा १२ चैत (सोमबार) होली मनाउन लागिएको हो । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र पानी खेली मनाउने परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा अभद्र रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।
नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रहृलादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान् विष्णुको प्रतापले प्रहृलादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किंवदन्ती होली पर्वसँग जोडिएको छ ।
हिन्दूहरूले यसलाई महŒवपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रंगहरूको टीका लगाई मनाउने गरिन्छ । यो पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागु पूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् बताउँछन् । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि चीर विशेष रूपले सजाएको लिंगो गाडेपछि फागु सुरु भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । यस्तै, फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग (लग) लाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ ।
फागुमा प्रयोग गरिने रङको आ–आफ्नै महŒव रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । फागु पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, दलका प्रमुख नेतासहित विभिन्न नेताहरूले शुभकामना दिएका छन् ।
सुरक्षित तरिकाले पर्व मनाउन प्रहरीको आग्रह
जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको हो ।
‘होली पर्वको नाममा उच्छृंखल क्रियाकलाप नगरौँ । अपरिचित समूहमा होली नखेलौँ । कसैको इच्छाविपरीत रङ, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔँ, केमिकल रङको प्रयोग नगरौँ,’ प्रहरी परिसर काठमाडौंले भनेको छ ।
नौ सय बढी ट्राफिक प्रहरी खटिने
होलीलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन काठमाडौं उपत्यकाका तीनै जिल्लाका सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वभन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउन नौ सय बढी ट्राफिक प्रहरी खटिने भएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका प्रवेश गर्ने नाका र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको जनाएको छ ।
त्यस्तै, ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दुर्घटनारहित होली मनाउन र उच्छृंखल गतिविधि नियन्त्रण गर्न तयार भएको सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच