भक्तपुर । देशभरका मानन्धरको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ । अमूर्त सम्पदाका रूपमा रहेको मौलिक लोपोन्मुख बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको हो । संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर ठिमीको क्वलाखु क्षेत्रमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको छ ।
नौ बाजाको सिधा अर्थ नौ किसिमका मौलिक बाजाका प्रकार र सोही बाजा समूहमा सहायक बाजा सम्मिलित गराइने हुन्छ । विशेषगरी काठमाडौं उपत्यका र काभ्रेमा मात्र यो बाजा संरक्षित छ । बौद्धमार्गी नेवारहरूले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतम बुद्धको तत्कालीन समयमा कपिलवस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास गरिन्छ । श्रृंगभेरी अपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप जुइगु तरखरमा छ । त्यसैले संघले पहिलोपटक नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बेलगायतका बाजालाई पृथक् ताल र बोलमा प्रदर्शन गर्ने वातावरण तयार गरेको हो ।
करिब हराउनै लागेको नौ बाजाका कलाकार नगण्य संख्यामा रहेका छन् । संघअन्तर्गत युवा उपसमिति र सञ्चार उपसमितिको संयोजनमा मध्यपुर ठिमीस्थित सिवा सायमि खलः तथा मानन्धर युवा समूहसँग समन्वय गरी सम्पन्न भएको कार्यक्रमलाई मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर ठिमीको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरेका थिए । सांस्कृतिक पक्षलाई सुरेन्द्र मानन्धरले संयोजन गर्नुभएको थियो भने समग्रमा गजेन्द्रप्रसाद मानन्धरले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच