रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई दुई-शून्य गोल अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको १०औँ मिनेटमा रेडहर्षका युवराज राईले पहिलो गोल गर्नुभएको थियो भने ५८औँ मिनेटमा आशिष राईले दोस्रो गोल गर्नुभएको थियो ।

यसअघि शुक्रबार भएको खेलमा घरेलु टिम मानाभरा युथ क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । यसैबीच आइतबार दिउँसो १ बजेपछि हुने खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र पथरी ११ मोरङबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ क्लबसहित आठ टिम सहभागी छन् । विसं २०२९ देखि लाखे जात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड-१९ को महामारीलगायतका कारण रोकिएको थियो । यसअघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यो पटक ताप्लेजुङ गोल्डकपका रूपमा सञ्चालन भएको हो ।

यही भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

लाखे जात्रासँगैको खेलकुद प्रतियोगितामार्फत् जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण रूपले जुटेको अध्यक्ष गुरुङले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?