
काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिका-४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा सहभागी उहाँले जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८०मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो । जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या कम गर्न के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने उहाँको भनाइ थियो ।
विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहे पनि खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद भएको बताएका खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नांगा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारीहरू सहभागी थिए । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुग्नुभएको थियो ।
चारदिने नेपाल भ्रमणमा आउनुभएका गुटेरेसले आइतबार उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली लगायतलाई पनि भेट्नुभएको थियो । त्यस्तै, उहाँले परराष्ट्रमन्त्री एनपी साउद, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नुभएको थियो । आइतबार नै उहाँले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन पनि गर्नुभएको थियो । महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । महासचिवका रूपमा यो उहाँको दोस्रो कार्यकाल हो । यसअघि सन् २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा बान्की मुनले नेपाल भ्रमण गर्नुभएको थियो । यसको ठिक १५ वर्षपछि राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनुभएको हो ।
‘नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघ भवनमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभयो । महासचिव गुटेरेसले नेपाललाई आर्थिक-सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसंघीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो । नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक-सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव भएसम्म दृढताका साथ सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पार्नुभएको थियो । महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृंखला पग्लन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।
आज लुम्बिनी जाँदै, प्रधानमन्त्रीसमेत उपस्थित हुने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुने भएको छ । महासचिव गुटेरेस मंगलबार बिहान लुम्बिनी जाने कार्यक्रम छ । लुम्बिनी विकास कोषले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको तयारी पूरा भएको जनाएको छ । महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताउनुभयो । उहाँले महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय भन्दै भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुने विश्वास व्यक्त गर्नुभयो । महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत गर्ने आफूहरूको तयारी रहेको उहाँले बताउनुभयो ।
विकास कोषलाई परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिकाअनुसार महासचिव गुटेरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको छ । महासचिव गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. लामासहित सरकारी उच्चस्तरीय अधिकारीहरूले स्वागत गर्नेछन् । महासचिव गुटेरेस मंगलबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा लुम्बिनीमा पुग्ने कार्यक्रम छ । कोषका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्ध धर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटेल व्यवसायीहरूले समेत शान्ति दीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । लुम्बिनीमा डेढ घण्टा बिताएपछि उहाँ काठमाडौं फर्कने कार्यक्रम बनेको छ ।
पोखरामा भव्य स्वागत, अन्नपूर्ण बेसक्याम्प जाने
यसअघि उहाँ सोमबार पोखरा पुग्नुभएको थियो । उहाँ सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा अवतरण गर्नुभएको थियो । गुटेरेसलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो । महासचिव गुटेरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए । गुटेरेसलाई स्वागत गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित पोखरा महानगरका मेयर धनराज आचार्यलगायत विमानस्थल पुग्नुभएको थियो । उहाँलाई मेयर आचार्यले नेपाली ढाकाटोपीसमेत पहि¥याइदिनु भएको थियो । महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प जाने कार्यक्रम छ ।
आज संघीय संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त सभालाई आज (मंगलबार) सम्बोधन गर्नुहुने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । उहाँको सम्बोधनका लागि संघीय संसद् सचिवालयले तयारी गरिसकेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई महासचिव गुटेरेसले सम्बोधन गर्ने व्यहोराको पत्र सरकारबाट पाएसँगै सचिवालयले तयारी थालेको थियो । सचिवालयले बैठक कक्षलाई सजावट गरिएको छ । उहाँले सम्बोधन गर्ने जानकारी आइतबार प्रतिनिधिसभा बैठकमा पनि दिइएको थियो । गुटेरेसको सम्बोधन हुनुभन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गर्नुभएको छ । साथै उहाँले औपचारिक पोसाकमा आउनसमेत आग्रह गर्नुभएको छ ।
सचिवालयले सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र संवैधानिक अंकका प्रमुखलाई आमन्त्रण गरेको छ । राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्न लागेको यो पहिलोपटक हो । यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा सांसदलाई सम्बोधन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच