होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।

गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको हकमा छानबिन भइरहेको छ ।”

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।

फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाटसमेत निगरानी गरिएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?