कर्णाली प्रदेश अस्पतालका दुई विभाग बन्द, उपचारमा समस्या

नन्दराम जैशी
Read Time = 10 mins

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नहुँदा दुई विभाग बन्द भएका छन् । विगत तीन हप्तायता ओपीडी र सघन अप्रेसन दुबै विभाग बन्द भएका हुन् । न्यूरोलोजिस्ट डाक्टर निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौं फर्किएपछि विगत तीन वर्षदेखि दिदै आएको न्यूरो सेवा प्रभावित भएको हो ।

सेवा सञ्चालनमा आएदेखि नै काम गर्दै आएका न्यूरोलोजिस्ट डा.खड्कालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनाका लागि मात्रै प्रदेश अस्पताल खटाएको थियो । तर डा. खड्का स्वतस्फूर्त रुपमा साढे दुई वर्ष बढी प्रदेश अस्पतालमा बसेर सेवा दिएका थिए ।

हाल प्रदेश अस्पतालमा न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नहुँदा विरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा दिनहुँ टाउको र मुटु रोग सम्बन्धिका विरामी बढ्दै गएका छन् । तर विशषेज्ञ न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नै नभएपछि विरामीको उपचारमा समस्या भएको हो ।

हाल अस्पताल आउने टाउको र मुटुरोग सम्बन्धिका सामान्य विरामीलाई जनरल फिजिसियनले हेर्दछन् । तर जटिल खालका विरामीलाई उपचार गर्न संभव छैन । टाउको र मुटुरोग सम्बन्धि प्रदेश अस्पताल पुग्ने विरामीहरु उपचार नपाइ रित्तोहात फर्किन बाध्य छन् । जसले गर्दा अस्पतालप्रति आम नागरिक तथा विरामीको धारणा परिवर्तन हुन थालेको छ ।

अस्पतालमा न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टरको स्थायी दरबन्दी रिक्त छ । कर्णाली प्रदेश सरकार मातहतमा रहेको यो अस्पतालमा संघीय सरकारले छात्रवृतिमा पढेका डाक्टरलाइ रोटेशनमा काज पठाउने बाहेक स्थायी पदपूर्ती गर्न पाउँदैन ।

प्रदेश सरकारको उदासिनताका कारण कर्णाली प्रदेश लोकसेवा आयोगले समेत पाँचौं तह माथिका डाक्टर पदपूर्तीका लागि विज्ञापन नखुलाउँदा प्रदेश अस्पतालमा दरबन्दी पूर्ती गर्न सकस परेको हो । यसअघि प्रदेश लोकसेवा आयोगले खुलाएको सातौ र आठौ तहका चिकित्सकको विज्ञापन पनि स्थगित भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको यस अस्पतालमा मन्त्रालयले समेत आवश्यक अस्थायी दरबन्दीमा डाक्टर पठाउन सकेको छैन । तर यसअघि अस्थायीका लागि मन्त्रालयले खुलाएको आवेदनमा चिकित्सकहरुनै आएनन् ।

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतकाअनुसार अस्पतालमा आउन इच्छुक न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टरका लागि अस्पतालले आन्तरिक स्रोतबाट पनि व्यवस्थापन गर्ने तयारी गरेको छ । तर डाक्टर नै आउँदैनन् ।

उहाँले भन्नुभयो, ‘डाक्टरहरू नहुँदा दैनिक हुने सडक दुर्घटनाबाट घाइते तथा अन्य न्युरोको उपचार गर्न अस्पताल आएका विरामीलाई बाहिर पठाउनुपर्ने अवस्था आएको छ ।’

उहाँका अनुसार नेपालमा कार्डियोलोजिस्ट र न्युरोलोजिस्ट डाक्टरहरु खासै कम नै छन् । त्यसैमा झन् कर्णाली भन्ने बित्तिकै आउन मान्दैनन । यहाँ आउन चाहाने डाक्टरलाई आन्तरिक स्रोतबाट भएपनि थप सुविधासहित अस्पताल राख्न तयार छ ।

मन्त्रालयले पठाएका डाक्टर आएनन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतमा खटाएका कार्डियोलोजिस्ट र न्युरोलोजिस्ट दुई डाक्टरहरु अँझै हाजिर भएका छैनन् ।

न्युरोलोजिस्ट डा. ओमविक्रम शाह र कार्डियोलोजिस्ट डा. सुतप यादव फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर भइसक्नुपर्ने हो । तर अहिलेसम्म पनि हाजिर भएका छैनन् ।

गत भदौ १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले न्युरोलोजिस्ट डा. ओमविक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो ।

जसमध्ये पहिलो चरणको ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पताल सुर्खेतमा हाजिर भइ रमना लिएर गइसकेका छन् । अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन् भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन् ।

यस्तै पहिलो चरणको ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डाक्टर ओमविक्रम र सुतप दोस्रो चरणमा सुर्खेत आउनुपर्ने हो । तर अहिलेसम्म पनि उनीहरु प्रदेश अस्पताल सुर्खेतमा हाजिर नभएका हुन् । उनीहरू नआउँदा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्कालेसमेत यो विषयमा फोन गरेर समन्वय गर्दा पनि ती डाक्टरहरू कर्णाली आउन नचाहेको बताइन्छ । खड्कासहितको टोलीले काठमाडौं पुगेर मन्त्रीलाईसमेत यो समस्याबारे जानकारी गराएको थियो । तर यो बिषय सुनुवाइ भएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अस्पतालको कमजोरीका कारण नभइ स्वयम् आउने डाक्टरहरूको कर्णालीलाई हेर्ने नजर फरक रहेका कारण समस्या भएको हो ।

यस्तै आकर्षक सेवा सुविधा र व्यक्तिगत सहजता खोज्ने प्रवृतिले पनि प्रायः डाक्टरहरू कर्णालीमा आउन मान्दैनन् । भने पछिल्लो समय प्रदेश अस्पतालले दिने सेवाका विषयमा पनि टिप्पणी हुन थालेको छ । पछिल्लो समय भौतिक संरचना निर्माणमा ठुलो उपलब्धि हासिल गरेपनि प्रदेश अस्पताल डाक्टरहरूको रोजाइमा भने पर्न सकेको छैन । यसको उदाहरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर नहुनु हो ।

पछिल्लो समय गर्मी बढेसँगै प्रदेश अस्पताल सुर्खेतमा विरामीको चाप पनि बढ्दै गएको छ । दैनिक अस्पतालमा ६ सय बढि विरामी उपचारका लागि धाउने गरेका छन् । गर्मी बढेसँगै अस्पतालमा सेवा लिने विरामीको घुइँचो लाग्ने गरेको छ ।

अस्पतालका अनुसार विगत तीन आर्थिक वर्षमा मात्रै चार लाख १६ हजार तीन सय ३७ जना बिरामीले सेवा लिएका छन् । बिरामीको बढ्दो चापलाई मध्यनजर गरी हाल तीन सय शैयाको प्रदेश अस्पताललाई पाँच सय शैयामा स्तरबृद्धि गर्ने काम भइरहेको अस्पतालका निर्देशक डा.डम्बर खड्का बताउनुहुन्छ । पाँच सय शैयाको अस्पताल संचालनका लागि हाल भवन निर्माणको काम तिब्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय डा. खड्काको नेतृत्वमा अस्पतालले भौतिक पूर्वाधारमा फड्को मार्दै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिने कोसिस गरेको छ । तर विशषेज्ञ डाक्टरहरुलै आउन नमानेपछि समस्या भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?