आजको पुस्ता शिक्षित पुस्ता हो । सभ्य र केही गर्छु भन्ने भावनालाई हृदयभित्र राख्ने पुस्ता हो । सपनाको महललाई विपनामा परिवर्तन गरेर आफूमात्र होइन समाज, देश र विश्वलाई हाँक्न सक्ने क्षमताले भरिएको पुस्ता हो । आजको पुस्तासित आमाबाबाले मात्र होइन समाज र राष्ट्रले पनि केही खोज्नु अनिवार्य मानिएको छ । विज्ञान र प्रविधिले सम्पन्न यो पुस्तालाई आजको समाजले केही दिने होइन । यही पुस्ताले समाजलाई सुम्पेको छ संसारका सबै विषय पनि । यो पुस्तासित घर परिवारको मात्र होइन नेपालीको पनि अपेक्षा भरिएर रहेका छन् ।
पुरानो पुस्ताले समय देख्यो । बुबाआमाले दिएको संस्कार र परम्परा देख्यो । अभावमा बाँचेर पनि केही गर्न सकिन्छ कि ? भन्ने भावना पनि देख्यो । आफूले भोगेको अभाव र सङ्घर्ष आउँदो पुस्तालाई नहोस् भन्ने कामनाले छटपटीमा रह्यो । त्यही छटपटीमा उसले आफूभन्दा पछिल्लो पुस्ताको भविष्य देख्यो । उसले देखेको भविष्य आफ्ना लागि मात्र होइन परिवार, समाज र देशका लागि पनि हो । समाजका सबै वर्गमा आफूलाई अब्बल सावित गर्न तम्सिने आजको पुस्तामा ज्ञान र प्रविधिको अथाह भण्डार छ । त्यही अथाह भण्डारमा रुमलिएको आजको पुस्तालाई पुरानो पुस्ताका सपना र जल्पनालाई पूरा गर्नुपर्ने बाध्यता बनेको छ ।
हामीले दिने आजको शिक्षामा मानवीय भावनाको अभाव देखिएको छ । प्ले ग्रुपदेखि दिइने शिक्षा र त्यो शिक्षाले सिकाएको पाठमा आजको पुस्ता रमेको छ । बाह्रखरीका साँवा अक्षर सिकाउनुपूर्व अङ्ग्रेजीका शब्द घोकाउन सिकाउने शिक्षाले आजका बालबालिका पूर्णसक्षम हुन्छन् भन्ने विश्वासमा आजका आमाबाबु रहेका देखिन्छन् ।
शिक्षाको जग
कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो नैतिक दृष्टान्त कवितामा मानिसको जीवनमा आउने उन्नतिका बारेमा यसरी उल्लेख गरेका छन् । कवि भन्छन्
कसैको लोकमा छैन एकैनास समुन्नति
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।
संसारमा उन्नति सधै भइरहँदैन । कहिलेकाँहि समाजमा अवनतिको पनि स्वाद मानिसले चाख्नुपर्दछ कविले भने । उनले दृष्टान्तका रूपमा सूर्यको प्रकाशमा आउने परिवर्तनको गतिलाई लिए । यो श्लोकमा कविले मानिसको जीवनमा आइरहने परिवर्तन र त्यो परिवर्तनसित उसले बाँध्ने सम्बन्धलाई बाहिर ल्याएका छन् । आजको समयमा मानिसको जीवनमा आउने परिवर्तन शिक्षाले दिने गरेको छ । शिक्षाका माध्यमबाट मानिसको जीवनमा, उसको बँचाइ र जीवन भोगाइमा परिवर्तन आउने गरेको तथ्यलाई नकार्न सकिँदैन पनि ।
नेपाल सनातन परम्परा र मानवीय भावना, पुर्खाले दिएको संस्कारमा बाँचेको समाज हो । यो समाजका आफ्नै मान्यता र परम्परा रही आएका छन् । प्राच्य परम्पराबाट आधुनिक सभ्यतामा लहरिने समाजको व्यवथापनमा नेपाली समाज बाँचेको होइन । हाम्रो जीवनका हरेक पल हामीलाई हाम्रा पुर्खाले दिएका छन् । हामीलाई आइपर्ने समस्यासित जुध्न पुर्खाले बाटो बताएका छन् । ती पुर्खाले दिएको परम्परामा हुर्केको समाजका वासिन्दा हामी नेपाली । हाम्रो सभ्य प्रकृति, डाँडाकाँडा, खोलानाला तथापुर्खाले दिएको भावना र परम्परामा हुर्केको समाज आजको समाज ।
हामीले दिने आजको शिक्षामा मानवीय भावनाको अभाव देखिएको छ । प्ले ग्रुपदेखि दिइने शिक्षा र त्यो शिक्षाले सिकाएको पाठमा आजको पुस्ता रमेको छ । बाह्रखरीका साँवा अक्षर सिकाउनुपूर्व अङ्ग्रेजीका शब्द घोकाउन सिकाउने शिक्षाले आजका बालबालिका पूर्ण सक्षम हुन्छन् भन्ने विश्वासमा आजका आमाबाबु रमेका देखिन्छन् । विद्यालयले दिने शिक्षा र छोराछोरीले बोकेको पुस्तकको भारीले आजका अभिभावकलाई अचम्भित पारेको छ । अझ विद्यालयले आफैं लिने परीक्षामा आएको शतप्रतिशत अङ्कले समेत अभिभावकलाई हौसाएको हुन्छ । यही अभिभावकको खुशीमा आजको पुस्ताले विद्यालयीयदेखि विश्वविद्यालयीय शिक्षालाई पार गरेको हुन्छ । समाजका लागि एउटा योग्य, क्षमतावान्, दक्ष जनशक्ति बन्ने अभिलाषामा गहिरिएको हुन्छ आजको पुस्ता । यो पुस्ताले सपनालाई साकार पार्ने शिक्षा चाहेको छ जो नेपाली शिक्षानीतिले दिन सकेको छैन ।
विश्वविद्यालयले लिने परीक्षाविभिन्न सड्काय तथा विभिन्न तहका हुने गर्दछन् । ती परीक्षाहरू वर्षभरि नै चलिरहेका हुन्छन् । निजी तथा सामुदायिक विद्यालयले वर्षमा एकपटक वार्षिक परीक्षा लिइरहेका हुन्छन् । विद्यालयीय शिक्षा आज स्थानीयतहको मातहतमा रहेको छ । अहिले माध्यमिक तहमा विद्यालय तहका वार्षिक परीक्षाहरू चलिरहेका छन् । माध्यमिक तहको फलामे ढोका मानिने कक्षा दशको परीक्षा यही चैत १५ गतेदेखि आरम्भ सकेको छ । कक्षा बाह्रको परीक्षा माध्यमिक परीक्षा बोर्डले वैशाख १४ गतेदेखि लिने भनेर कार्यतालिका प्रकाशन गरिसकेको छ । महिनाको लाखौं तिरेर अध्ययन गरिरहेका तथा सरकारी विद्यालयमा पनि मुस्किलले अध्ययन गर्न पाएका बालबालिका एउटै प्रश्नपत्रमा घोत्लिन बाध्य छन् नेपालको शिक्षा नीति र सरकारी नीतिका कारण ।
माध्यमिक तहको शिक्षालाई स्थानीयतहमा सुम्पनु राम्रो होला राजनीतिक दृष्टिले । कक्षा छ र आठमा एउटै प्रश्नपत्र आएको समाचारले पनि नेपालको स्थानीयतहले गरेको त्रुटिलाई बाहिर ल्याएन र ?
त्रिभुवन विश्वविद्यालले स्नातकतह प्रथम वर्ष जनसङ्ख्या विषयका उत्तरपुस्तिका हराएको समाचार पनि बाहिर आएको छ । विश्वविद्यालयीय शिक्षामा देखिएको यो दुर्गतिका बारेमा कसलाई सुनाउने र कहाँ उजुरी गर्ने आधार र आचार किन यस्तो ? नेपालमा सामान्य रूपले उच्च शिक्षासम्मको अध्ययन गर्न एउटा विद्यार्थीले आफ्नो आधा उमेर सुम्पेको हुन्छ । यो आधा उमेरमा पनि विश्वविद्यालयको यो अवस्था देखिनु पक्कै पनि राम्रो सङ्केत होइन । केही समय पूर्वगठबन्धनबाट नयाँ शिक्षामन्त्रीले पदभार ग्रहण गरेकी छिन् । उनले समयसमयमा गर्ने भाषण र दिने अभिव्यक्ति पक्कै पनि चाख मानेर सुन्ने खालका हुने गर्दथे ।
अब स्वयं आफू नै त्यो पदमा पुगेर नेपालको शिक्षा नीतिमा करी परिवर्तन र विश्वसनीय वातावरण निर्माण हुन्छ त्यो भने हेर्न नै बाँकी छ । उपकुलपतिको विज्ञापन खोलेर वरियताक्रममा पहिलो फालिनु र दोस्रो नियुक्त हुनु पनि विज्ञापन प्रतिको अविश्वास हो । यो अविश्वास कुलपतिले आफूमा मात्र स्थापित गरेनन् सम्पूर्ण प्राध्यापककै मानमर्दन गरे । मानमर्दन बुद्धिजीवीको भयो । मानमर्दन गुरुहरूको गरियो । जुन देशमा गुरुको नै मानमर्दन गरिन्छ त्यो देशको शिक्षाले आउँदो पुस्तालाई के दिन सक्ला र ? गुरुको अपमान गर्ने र शिक्षाप्रति बेवास्ता गर्ने नेपालको सरकारी नीति र उद्देश्यले आजको पुस्तालाई गिज्याइरहेको छ ।
विद्यार्थीको सोच
नेपालको शिक्षा नीतिले कक्षा बाह्रसम्मको शिक्षालाई माध्यमिक तहको शिक्षा मानेको छ । चैत्र १५ गतेदेखि कक्षा बाह्रको वार्षिक परीक्षा सञ्चालन हुन गइरहेको छ । उनीहरूले आफ्नो विद्यालयले लिने पूर्वयोग्यता परीक्षा सकिसकेका छन् । उनीहरूको विद्यालयले प्रकाशित गर्ने परीक्षाफल प्रकाशित हुने क्रम चलिरहेको छ । उनीहरूले माध्यमिक तथा विद्यालयीय शिक्षाको अन्तिम खुड्किलोका रूपमा परीक्षा दिने तयारीमा लागेका छन् ।
केही दिनअघि नियुक्त भएकी शिक्षामन्त्रीले दिएका अभिव्यक्ति पक्कै पनि आशलाग्दा छन् । ती अभिव्यक्तिलाई कार्यान्वयन गर्न उनका अघि चुनौतीको पहाड छ । चुनौतीलाई चिरेर शिक्षामा आमूल परिवर्तन गर्ने सद्बुद्धि ईश्वरले प्रदान गरून् उनलाई । फेरि पनि गर्न खोजेँ तर कर्मचारीतन्त्रले दिएनन् भन्ने अभिव्यक्ति नआउला ।
परीक्षा दिने विद्यार्थीले विद्यालयीय शिक्षापछि के गर्ने भन्ने शोच पहिले नै बनाएको हुन्छ । उसले उक्त सोचलाई विभिन्न माध्यमबाट व्यक्त गरेको हुन्छ । उसका चाहना र उत्तरवर्ती समयका मनोकाङ्क्षालाई उसले व्यक्त गर्ने माध्यम विभिन्न किसिमका हुने गरेका छन् । विद्यालयले लिएको पूर्वयोग्यता परीक्षाको अन्तिम दिनमा विभिन्न विद्यालयका विद्यार्थीले विद्यालयको पोशाकमा लेखेको देख्दा कुन नेपालीको मन छियाछिया हुँदैन र ? नेपाली विद्यालयमा अध्ययन गर्ने ती बालबालिकाले नेपालमा आफ्नो भविष्य देखेका छैनन् । कसैले आफ्नो पोशाकमा सहसचिव हुने मनोकाड्काक्षा व्यक्त गरेका छन् । कसैले खाडीमा भेटौँला भन्ने अभिव्यक्तिलाई बाहिर ल्याएका छन् । कसैले ड्राइभर हुने चाहनाबाहिर ल्याएका छन् ।
यो कस्तो विडम्बना हो हाम्रो शिक्षा नीति र शिक्षाले युवापुस्तालाई दिने भविष्यको पनि । सामान्य विद्यालयमा अध्ययन गर्ने यी बालबालिकाले अभिव्यक्त गरेका शब्द ती शब्दले पार्ने असरलाई आज राजनीतिका पण्डितले बुझेका छैनन् । सम्पन्न परिवारका बालबालिका भए उनीहरूको अभिव्यक्ति अमेरिका, जापान, अष्ट्रेलिया, क्यानाडा वा यूरोप हुने थियो । ती विद्यार्थीमा त्यसकिसिमको अभिव्यक्ति देखिएन । चर्चामा आउने उद्देश्य तिनीहरूको हुनसक्ने तर्कलाई बाहिर ल्याउन सकिन्छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाले यो देशको भविष्यका बारेमा बोलेका छन् । यो देशमा गणतन्त्रले ल्याएको शिक्षा नीतिले केही दिन नसक्ने अवस्थाई बाहिर ल्याएका छन् । गणतन्त्रले शिक्षामा ल्याएको विकासको धज्जी उडेको छ ।
ती बालबालिकाले कलेजको पोशाकमा त्यसरी लेखेर सामाजिक सञ्जालमार्फत पस्कनुलाई नेपाली राजनीतिका धुरन्धरले कसरी लिन्छन् भन्न सकिँदैन । नेपालको राजनीतिले शिक्षा र रोजगारलाई वेवास्ता गरेको तथ्य यो भनाइमार्फत बाहिरिएको छ । उनीहरू देशका सम्पत्ति हुन् । देश विकासका हिस्सेदार हुन् । ऋण, धन गरेर पढाउने आमाबुबाका सपना हुन् । उनीहरूका सपनाले देशको विकास तथा राजनीतिक परिवर्तनलाई हेरेन । विद्यालयीय शिक्षाबाट पाएको ज्ञानलाई उपयोग गर्दै उच्च शिक्षालाई प्राथमिकता दिने पुस्ताले विद्यालयको पोशाकमा नै यसरी लेख्नुले नेपालको शिक्षालाई कसरी हेरिएको छ भन्ने कुरालाई प्रमाणित गर्दैन र ?
खरदारमा प्रवेश गरेर सहसचिव बन्ने चाहना पनि उनीहरूको पोसाकमा देखियो । यो सकारात्मक सोच हो । यो सोच नेपाली शिक्षाप्रतिको विश्वासभन्दा पनि लोकसेवाप्रतिको विश्वास हुन सक्छ । यो विश्वास सबैमा जगाउन आवश्यक छ । नेपालको शिक्षा नीतिमा आमूल परिवर्तनको आवश्यकता छ । आज केही निजी तथा केही सामुदायिक विद्यालयले संस्कृत पढाउने कुरालाई बाहिर ल्याएका छन् । शिक्षामा हाम्रो संस्कार परम्परा र हाम्रा पूर्वजले दिएका सम्पत्ति झल्किनु अनिवार्य मानिन्छ । पश्चिमा परम्पराबाट भित्रिएको शिक्षाले हामी विविधतामा हुर्केका नेपालीलाई कल्याण गर्दैन भन्ने कुरालाई यसले प्रमाणित गर्दैन र ?
केही दिनअघि नियुक्त भएकी शिक्षामन्त्रीले दिएका अभिव्यक्ति पक्कै पनि आशलाग्दा छन् । ती अभिव्यक्तिलाई कार्यान्वयन गर्न उनका अघि चुनौतीको पहाड छ । चुनौतीलाई चिरेर शिक्षामा आमूल परिवर्तन गर्ने सद्बुद्धि ईश्वरले प्रदान गरून् उनलाई । फेरि पनि गर्न खोजेँ तर कर्मचारीतन्त्रले दिएनन् भन्ने अभिव्यक्ति दिँदै अरुमा दोष थोपरेर आफू उम्कने काम हुनेछैन होला ? आफ्ना सपनालाई खाडीमा र ड्राइभरमा देख्ने यो पुस्तालाई नेपालमा वा आफ्नो देशमा सबै छ भन्ने शिक्षाको आवश्यकता छ आजको पुस्तालाई ।
यस पुस्तालाई देशमा राख्ने शिक्षानीतिको आवश्यकता छ पलायन हुने नीतिको होइन । अध्ययन गर्ने नाममा हुने पलायनले युवा पुस्तालाई मात्र बाहिर पठाएको छैन । उनीहरूसँगै बाहिरिने अर्बौं रुपैयाँलाई कसैले पनि देखेको छैन । शिक्षालाई नेपाल सुहाउँदो र नेपालका लागि उपयोगी बनाउन आवश्यक छ । यदि यो व्यवस्थाले प्रत्येक वर्ष अध्ययनका नाममा लाखौँ कलिला मष्तिष्क भएका विद्यार्थीलाई बाहिर पठायो भने देश युवाविहीन हुने निश्चित छ र व्यवस्थाप्रति नै प्रश्नचिहृन खडा हुने कुरालाई कसैले पनि नकार्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच