काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न दलहरूले तयारी बढाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई सघाउने बताउनुभएको छ । पार्टीको बझाङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले उपनिर्वाचनमा अन्तिम समयमा एमालेलाई सघाउन माओवादी केन्द्र तयार हुने बताउनुभएको हो । ‘मलाई विश्वास छ-अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने कांग्रेस जिताउन मिल्दैन,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले एमालेभन्दा बलियो अवस्थामा रहेको भए इलाम माओवादी केन्द्रलाई छोड्न तयार हुने बताउनुभयो । ‘त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गथ्र्यौं । तर माओवादीको चार हजार छ । हामी १३ हजार छौँ । साढे १३ हजारभन्दा बढी छौँ हामी । त्यसकारण हामीले छोडन मिल्दैन,’ उहाँले भन्नुभयो । ओलीले यसपालि इलाममा एमालेको प्रतिस्पर्धी नै नभएको बताउनुभयो । ‘गणितले स्पष्ट देखाउँछ-हामी यसपटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौँ पुग्छौँ । कांग्रेस १० हजारमा झर्छ । त्यो स्पष्ट छ,’ उहाँले भन्नुभयो । अरू दलले प्रतिस्पर्धै गर्न नसक्ने उहाँले बताउनुभयो । हिजो माओवादी र समाजवादीको घाँस र कुँडो खाएर कांग्रेस बलियो भएको तर अहिले त्यो अवस्था नभएको ओलीले बताउनुभयो । ‘त्यतिबेला हामीले हराइदिएका थियौँ । अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन,’ उहाँले भन्नुभयो ।
सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौँ : प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि वामपन्थी शक्ति एकताबद्ध हुने बाटोमा फर्किएको बताउनुभएको छ । २४औँ जेल ब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रूपमा व्याख्या गर्नुभएको हो । ‘अस्ति २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरू एक भएर चुनाव लडौँ भनेर प्रस्ताव मैले नै गरेको हो । त्यो कुरा तपाईंहरू सबैलाई थाहा छ । त्यसले झण्डै दुई तिहाईमा वामपन्थीलाई पुर्याई पनि दियो । तर, दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौँ, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौँ । तर, आज हामी फेरि त्यतैतिर फर्कंदै छौँ र मैले भन्ने गरेको छु-देशलाई समाजवादको बाटोमा लैजान सकिन्छ’, उहाँले भन्नुभयोे । वामपन्थी एकताका लागि सबैले पहल गर्नुपर्ने प्रचण्डले बताउनुभयो । ‘यो कुराको गहिराइलाई आत्मसात गरौँ । एकताको निम्ति सबैले आ-आफ्नो ठाउँबाट वातावरण बनाऔँ । हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौँ’, उहाँले भन्नुभयोे । अहिले समाजमा निराशाको कुरा धेरै हुने गरेको भन्दै प्रचण्डले निराशा छाडेर आशावादिताको कुरा गर्नुपर्ने बताउनुभयो ।
चुनाव नजिते चकटीमै बसौँला तर गठबन्धन गर्दैनौँ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा गठबन्धन नगर्ने दोहो¥याउनु भएको छ । ‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुग्नुभएका महामन्त्री थापाले त्यहाँ कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताउनुभएको हो । गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले बरू गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताउनुभयो । महामन्त्री थापाले त्यसका लागि बरु पार्टीभित्र अभूतपूर्व एकताको खाँचो औँल्याउनुभयो । पार्टीभित्र अभूतपूर्व एकताको सुनिश्चितता गरी सुस्ताएको समाजलाई सम्हाल्न जरुरी रहेको बताउनुभयो । त्यसका लागि एउटा ठूलो तागत पनि चाहिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले पार्टीमा केही विभागहरू गठन गर्ने तयारी भइरहेकाले कुशलतापूर्वक निभाउने गरी जिम्मेवारी लिन तयार रहन पनि आग्रह गर्नुभयो । उहाँले देशभरका सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लगाएको बताउनुभयो । त्यसले जनता अलमलिएको र अलमलिएको जनतालाई सत्यतथ्य बुझेर बाहिर निस्कन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । महामन्त्री यतिखेर मुलुकको सबैभन्दा ठूलो समस्या समाजले गुमाएको आत्मविश्वास जगाउनु रहेको र त्यो काम कांग्रेसले गर्नसक्ने र गर्नुपर्नेमा जोड दिनुभयो ।
सुवास नेम्वाङको विरासत बोक्न मैदानमा आएका छौँ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर मिलन लिम्बूलाई आगामी उपनिर्वाचनको उम्मेदवार घोषणा गर्नुभएको हो । रास्वपाले इलामको चोक बजारमा एक कार्यक्रम गरी पत्रकारिता पृष्ठभूमि रहेका लिम्बूको उम्मेदवारी सार्वजनिक गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताउनुभएको हो । शनिबार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले मिलन लिम्बूलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गर्नुभयोे । उहाँले सुवास नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गर्नुभयो । परिवारका सदस्यले मात्र विरासत नधान्ने बताउँदै उहाँले भन्नुभयो, ‘राजनीतिमा त राजनीति नै चल्छ, परिवारमा दशैँ तिहारमा टीका लगाउने काम त भइनै हाल्छ, राजनीतिमा राजनीति नै हुनुपर्छ, यो हामीलाई सुवास नेम्वाङले सिकाउनुभएको कुरा हो । सम्मानपूर्वक प्रतिस्पर्धा गर्ने आँट र अठोटका साथ हामी मैदानमा आएका छौँ ।’
उहाँले विपक्षीको आलोचना गरेर आफ्नो उचाइ बढ्छ भन्नेमा आफूलाई विश्वास नभएको बताउनुभयो । उहाँले सडकको समस्या रहेको, किसानले आफ्ना कृषि उपज फाल्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई हटाउन आवश्यक रहेकोले नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारमा गएको पहिलो हप्तामै उल्लेख्य काम गरेर देखाएको बताउँदै उहाँले पहिलो हप्तामै चौका छक्का हान्न थालिसकेको उल्लेख गर्नुभयोे । अब चितवन र तनहुँमा जस्तै इलाममा पनि घण्टीको लहर आउने विश्वासका साथ चुनावी मैदानमा आएको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच