
काठमाडौं । कोभिड महामारीपछि बन्द भएका १४ वटा परम्परागत सीमा नाका खोल्न चीन तयार भएको छ । उपप्रधान दथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका क्रममा कोभिडका कारण बन्द पराम्परागत नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको हो । नेपाल-चीन विद्यमान १४ परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न आफूले गरेको आग्रहलाई चिनियाँ पक्षले स्वीकारेको उहाँले बताउनुभयो । नौ दिन लामो भ्रमण सकेर सोमबार स्वदेश फर्किनुभएका मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रसुवागढी-केरुङ, तातोपानी-झाड्मु, यारी-पुरान तथा नेचुङ-लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेको बताउँदै कोभिड महामारीका कारण बन्द भएका नाका खोल्न चीन तयार भएको बताउनुभयो । यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने उहाँको अपेक्षा छ ।
नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरमा संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उहाँले बताउनुभयो । मन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का पोलिट्ब्युरो सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निम्ता दिएको बताउनुभयो । वाङ यीले यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराएको श्रेष्ठको भनाइ थियो ।
नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन तयार
नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक देखिएको छ । परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमणका क्रममा नेपालीलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेकोमा चीनले सकारात्मकता देखाएको हो । ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ,’ उहाँले भन्नुभयो । चिनियाँ पर्यटकलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ ।
बिआरआई कार्यान्वयनमा समस्या छैन
भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनका विषयमा समेत छलफल भएको मन्त्री श्रेष्ठले बताउनुभयो । बिआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रूप दिने बताउनुभयो । चीनबाट बिआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उहाँले यसबारे तेस्रो फेजमा टुंगो लगाउने बताउनुभयो । नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको पनि उहाँले बताउनुभयो । ऋणमा नै भए पनि कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय छनोट गर्ने उहाँको भनाइ थियो । नेपालमा हुने लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी भिœयाउन अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो ।
काठमाडौं-ल्हासा सिधा बस सेवा पुनः सुचारु हुने अपेक्षा
चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएको उहाँले बताउनुभयो । नेपालको काठमाडौं र चीनको स्वशासित क्षेत्रको ल्हासाबीच सिधा बस सेवा पुनः सुचारु गर्न दुवै पक्ष सकारात्मक भएका छन् । राँगाको मासु, घाँस तथा औषधीय जडीबुटीका उत्पादन, तरकारी तथा फलफूल जस्ता नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको र यसमा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री श्रेष्ठले बताउनुभयो । नेपाल चीन सीमाका केही क्षेत्रमा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न नेपालको अनुरोधलाई पनि चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको उहाँको भनाइ छ । नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो । नेपालका काठमाडौं र पोखरा तथा चीनका विभिन्न शहरबीच थप उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन् । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा छ । चीनमा नेपाल भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक मनाउन दुई देशका सम्बन्धित निकायहरूले मिलेर काम गर्ने सहमति भएको छ । यसबाट नेपालमा चिनियाँ पर्यटकहरू बढ्ने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो । अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारण लाइन आदिको विस्तार गरी नेपाल चीन बीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन् । नेपालको औद्योगीकरण गर्न, उत्पादनशीलता बढाउन र जनशक्ति विकास गर्न संयुक्त रूपमा काम गर्ने बारेमा महत्वपूर्ण छलफल भएको छ ।
दुई देशबीचको सम्बन्धन बलियो बनाउन भ्रमण महत्वपूर्ण : श्रेष्ठ
मन्त्री श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो । दुई देशबीचको सम्बन्धन बलियो बनाउन भ्रमण महत्वपूर्ण भएको उहाँको भनाइ थियो । ‘मेरो भ्रमण दुई देशबीचको सम्बन्धन बलियो बनाउन महत्वपूर्ण भएको छ । भ्रमणले आन्तरिक स्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भिœयाउने भन्नेमा छलफल केन्द्रित भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । चैत ११ गते चीन प्रस्थान गर्नुभएका मन्त्री श्रेष्ठ सोमबार स्वदेश फर्किनुभएको हो । भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल, छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतलगायत सहभागी हुनुहुन्थ्यो ।
लामो भ्रमण गर्ने कुरामा पुनर्विचार गर्नुपर्छ : नीलाम्बर आचार्य, पूर्वराजदूत
छिमेकी र मित्र देशमा भ्रमण हुनु राम्रो हो । यसले दुई देशबीचको सम्बन्ध राम्रो बनाउन मद्दत गर्छ । परराष्ट्रमन्त्रीले यस्ता भ्रमण अधिकतम गर्नुपर्छ । उहाँ परराष्ट्रमन्त्री मात्रै नभएर उपप्रधान तथा सरकारको नेतृत्व गरिरहेको पार्टीको उपाध्यक्ष पनि हो । यसले पनि अर्थ राख्छ । कुरा के हो भने भ्रमणको निश्चित उद्देश्य हुनुपर्छ । छोटो र कामकाजी हुनुपर्छ । उहाँको भ्रमण धेरै लामो भयो । छोटो र कामकाजी गर्दा राम्रो हुन्छ । लामो भ्रमण गर्ने कुरामा पुनर्विचार गर्नुपर्छ । अब भ्रमणका उपलब्धि के के भए त ? भ्रमणका क्रममा उहाँले को-कोलाई भेट्नुभयो ? के–के कुराकानी भयो ? त्यो स्पष्ट हुनुपर्छ । उहाँ आठ/नौ दिन बस्नुभयो । त्यसमा के के भयो त ? पूरै डिटेल्स चाहियो नि ∕ नतिजा अहिले नै नदेखिए पनि कतिपय सम्बन्धका कुरा राम्रो भएको हुन्छ । भ्रमण गर्नुलाई सकारात्मक मान्नुपर्छ ।
लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्री इभेन्ट सेमिनार
लगानी बोर्डको सहकार्यमा चीनका विभिन्न ठाउँमा प्री इभेन्टसम्बन्धी सेमिनार गरिएको छ । लगानी सम्मेलन नजिकिँदै गएका बेला लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ, छेङदु र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा सेमिनार आयोजना गरिएको हो । तेस्रो लगानी सम्मेलनको प्री-इभेन्टसम्बन्धी पाँचवटा छुट्टाछुट्टै सेमिनारमा लगानी बोर्डले सहभागिता जनाएको छ । आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकाय, लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरू तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित छलफल गरेको गरिएको हो । कार्यक्रममा आगामी लगानी सम्मेलनको उद्देश्य र लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयास, लगानीका अवसर र सम्भाव्य परियोजनाबारे जानकारी दिइएको थियो । मार्च २३ मा हङ्कङस्थित महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदयराना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिनुभएको थियो ।
लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी, मार्च २५ मा छेड्दुस्थित महावाणिज्य दूतावासको आयोजनामा कार्यक्रम भएको थियो । यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले मार्च २६ मा आयोजना गरेको प्री-इभेन्ट सेमिनारलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले चिनियाँ लगानीकर्तालाई आगामी लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका लागि आहृवान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच