आविष्कार र विज्ञानले द्रूततर गतिमा विकास गरिरहेको हामी सबैको अनुभव हो । यसैलाई चरम विकासको अवस्था भन्न चाहिँ किन पनि मिल्दैन भने संसारले यसभन्दा अझै धेरै विकास गर्नुपर्ने हुनसक्छ । अनेकौं चामत्कारिक विकास र आश्चर्यलाग्दा आविष्कार गर्न बाँकी नै छ, तर जे-जति भएको छ यो हालसम्मको विकासको उत्कर्ष हो भन्दा अस्वाभाविक नठानिएला । सन्दर्भ जलविद्युत्को विकास वा उत्पादनको हो र यसका लागि मात्र होइन सडक यातायातका लागिसमेत विभिन्न डाँडा, पाखा, पहाड, पर्वतमा सुरुङ बनाउने र एउटा नदीको पानी लगेर अर्का ठाउँमा खसालेर बिजुली उत्पादन गर्ने वा लामो र घुमाउरो बाटोबाट यातायात सञ्चालन गर्नुपर्ने अवस्थामा त्यसलाई सहज बनाउन पहाडहरू छेडेर छिटो र छोटो बाटो निर्माण गर्ने अनेक कार्य भइरहेका छन् ।
हालका दिनमा सुरुङ अनेकौं स्थानमा बनाइएका छन् र बनाइँदै छन् । नेपालकै सन्दर्भमा धेरै सुरुङ योजना हाल निर्माणाधीन छन् । कुनै-कुनै सुरुङ छिचोलिइसकेका छन् भने केही छिचोलिने क्राममा छन् । नागढुंगा-सिस्ने खोला सुरुङमार्ग छिचोलिने तयारीमा छ । तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिइसकेको छ । सुनकोशी मरिनको सुरुङ एक महिनापछि छिचोलिनेछ भनिएको छ । सुरुङमार्ग विकासका पर्याय बन्दै आइरहेका छन् । विगतमा र वर्तमानमा मात्र होइन भोलिका दिनमा पनि विकासका यस्तै शैलीको निरन्तरता हुनेछ । अझै भन्ने हो भने आजभन्दा भोलि बढोत्तरी हुनेछ । जसले गर्दा भविष्यमा विकासले चरम गति प्राप्त गरिसक्दासम्ममा विभिन्न पहाडपर्वत सुरुङ नै सुरुङले भरिने छन् ।
एकातिर विकासले हामी सम्पन्न हुनसक्ने छौं भने अर्कातिर प्रकृतिको सन्तुलन बिग्रिएर अनेकौं अप्ठ्यारामा पर्न सक्छौं । पहिले सम्पन्न भइसकेका विभिन्न जलविद्युत् आयोजनामा सुरुङ बनाएरै पानी लाने गरिएको छ । त्रिशूली झिमरुक, कालिगण्डकी ‘ए’ लगायत आयोजना यसरी नै सम्पन्न भएका छन् । यिनै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली हाल नेपाली जनताले उपभोग गर्न पाइरहेका छन् । जलविद्युत्का लागि मात्र होइन खानेपानीका लागि पनि यस्तो प्रविधि अपनाइन्छ । नेपालकै सबैभन्दा चर्चित खानेपानी आयोजना मेलम्ची सुरुङ बनाएरै सम्पन्न भएको आयोजना हो । छोटो र छिटोमात्र होइन पानी बग्न नसक्ने उकालो बाटोमा सुरुङमार्ग बनाएर सम्म वा ओरालो बनाएर पानी प्रवाहित गराइन्छ ।
चाहे खानेपानीका लागि होस् वा जलविद्युत्का लागि होस् अथवा सिँचाइका लागि किन नहोस् पानीको बहाव सहज बनाउन वा दूरी छोटो बनाउन यस प्रकारको उपायको अवलम्बन गर्ने गरिन्छ । यातायातको हकमा बाटो छोटो पार्न भीरपाखाको घुमाउरो बाटो कम गर्न वा दुर्घटना कम गर्न सुरुङ मार्ग अपानाउने गरिन्छ । समुद्र भएका देशहरूमा यसो गर्नुको विकल्प हुँदैन । सुरुङ निर्माणबाट गरिने विकास आयोजनामा लागत कम पर्न सक्छ । तर, यसरी गरिने विकासका कार्य जोखिमपूर्ण नहुने चाहिँ होइनन् । पृथ्वीको गर्भमा रहेर काम गर्नुपर्ने हुनाले त्यसमा अनेक खालका असजिला र जोखिमी अवस्था सिर्जना हुनसक्छन् ।
हुन त यस्ता विकासक्रममा बाहिर सतहमा रहेर काम गर्दा ढुंगा लडेर लाग्ने, यान्त्रिक दुर्घटना हुने, मानिस लड्नेजस्ता अनेकौं अवस्था आइपर्न सक्छन् । यद्यपि बाहिर सम्भावित दुर्घटनाबाट भाग्नसक्ने अवस्थाको विद्यमानता भने रहन्छ । भित्र सुरुङमा चाहिँ यस्तो अवस्था रहँदैन । काम गर्दागर्दै भत्किने र थुनिने, थिचिने, अक्सिजनको कमी भएर निसास्सिने जस्ता आपत आइपर्न सक्छन् । कमलो माटोमात्र भएको भागमा काम गर्दा अप्ठ्यारो हुने र मेसिनले माटो काट्न नमिल्ने तर जति कडा चट्टान भयो त्यति नै सजिलो हुने सम्बन्धित विज्ञ बताउँछन् । यसबाट कडा चट्टान भएको पहाड काटेर सुरुङ बनाउन सजिलो हुने रहेछ भन्ने बुझिन्छ ।
सडक, खानेपानी, सिँचाइ, जलविद्युत्, रेलमार्गजस्ता विभिन्न विकास निर्माणका लागि अपनाइने सुरुङ निर्माणको यस्तो प्रविधिबाट विकास सहज बन्दै गएको वर्तमान समयमा केही कुरा भने विचारणीय छन् । यसरी गरिने विकासबाट प्राकृतिक वातावरण वा स्थीर प्रकृति खल्बलिन सक्छ । पाखा-पर्वतको सन्तुलन बिग्रिएर प्राकृतिक विपत्ति आइपर्न सक्छन् । विकासलाई सहज र सुगम बनाइदिने भए पनि वातावरणीय सन्तुलन क्रमिक रूपले बिग्रन जाने सम्भावना रहन्छ । बाढी-पहिरोको प्रकोप प्रतिवर्ष भोग्दै आइरहेको विपत्ति हो । पहाड, पर्वत खोतल्दै गएपछि वनजंगलको विनाश उत्तिकै हुनेछ । पुराना वृक्ष यथावत् रहलान् । तर, नयाँ पलाउने हुन् कि होइनन् थाहा हुँदैन । वातावरणीय असन्तुलनको अर्थ हिमालमा असर हो, जंगलमा असर हो, माटोमा पर्ने प्रभाव हो, समग्रमा मानवमा पर्ने असर हो । यस्तो असर चक्रिय हुन्छ । यसतर्फ भने यस्ता विकास निर्माणका कार्य गर्दा सम्बन्धित पक्षले सचेतता अपनाउनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच