काठमाडौं । आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जसलाई पर्यटन पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले मुख्यरूपमा डोर्याएको हुनेछ । विश्व बैंकले अर्धवार्षिकरूपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोगसमेत बढ्नेछ ।
पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वर्ष २०२५ मा थप ४.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । तर, उक्त प्रक्षेपण बहु चुनौतीसहितको हुने बताइएको छ ।
सुधारको बाटोमा नेपालको अर्थतन्त्र तर न्यून निजी लगानी शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । तर, उक्त प्रक्षेपण बहु चुनौतीसहितको छ, जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकको सुस्त वृद्धि पर्छ, जसका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउनेछ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भन्नुभयो, ‘पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन् ।’
नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तररूपमा तयार गरिएको हो, जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरूले बेहोर्नुपरेका नीतिगत चुनौती विश्लेषण गर्छ । उत्थानशीलताका लागि रोजगारी शीर्षकको अप्रिल २०२४ को उक्त संस्करणले विश्वका कुनै पनि उदाउँदा बजार र विकासशील मुलुकमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन सन् २०२४ मा छ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । तर, प्रतिवेदनले यस्तो अनुमान झुक्याउने खालको पनि हुन सक्ने जनाएको छ । प्रतिवेदनअनुसार धेरै मुलुकको वृद्धि अझै पनि महाव्याधीपूर्वको भन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ ।
सोही समय सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ र सो क्षेत्रले तीव्ररूपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिर सिर्जना गर्न सकेको छैन । दक्षिण एसियाका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओहृन्सोर्जले भन्नुभयो, ‘आफ्नो जनसांख्यिक लाभलाई पूर्णरूपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ, यदि यो क्षेत्रले अन्य उदाउँदा बजार र विकासशील अर्थतन्त्रहरूले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो ।’
तीव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेलभपमेन्ट अपडेटले केही नीतिगत सुझाव पनि दिएको छ, जसअन्तर्गत व्यापारमा खुलापन वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षण सुदृढीकरण रहेका छन् । उल्लेखित उपायहरूले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि आधार तयार गर्न सहयोग पुर्याउने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच