यतिखेर प्रतिनिधिसभामा वटम लाइनको चर्चा चलिरहेको छ । यो वटम लाइन नेपाली कांग्रेस पार्टी र सत्तासीन गठबन्धनबीच प्रतिदिन देखिने जुहारीमा परिणत भएको छ । गृहमन्त्री रवि लामिछानेका अनगिन्ती विवादास्पद कर्महरूले नेपाली राजनीतिलाई रंगीन बनाएको धेरै भएको छैन । अनेक रंगहरूमध्ये कुनै एक रंगलाई नेपाली कांग्रेसले सार्वजनिक बहसको विषय बनाएको छ र प्रतिनिधिसभामा वटम लाइनको अडान प्रस्तुत गरेको छ ।
नेपालीमा एउटा उखान छ ‘जस्तालाई तस्तै...।’ नेपालको राजनीति हेर्दा यही उखानको चरितार्थ हुने गरेको छ । जो सत्तामा पुग्छ त्यसले दिलोज्यानले आफ्नो सत्ताको बचाउ गरिरहेको हुन्छ र जो सत्ताबाहिर हुन्छ त्यसले पनि त्यसरी नै न्वारानदेखिको बल निकालेर सरकारको विरोध गर्ने गर्छ । सरकार पक्ष भने प्रतिपक्षलाई पेलेर भित्तासम्म नै पुर्याउन खोज्छ । सरकारमा बसेकाहरूले राष्ट्र सबैको साझा हो भन्ने भावना बिर्सिएर प्राप्त पद र सेवासुविधा आफ्नो निजी सम्पत्ति ठान्छन् । उनीहरू त्यही विस्मृत मनोविज्ञानले निर्देशित भएर सुविधा र पदको उपयोग गर्दछन् । यस्ता हर्कत गर्न कोही कम र कोही बेसी छैनन् । अहिलेको अवस्था पनि त्यस्तै छ । प्रतिपक्षले विरोध गरिरहने र सत्ता पक्षले बचाउ गरिरहने । जब नेपाली कांग्रेस सरकारमा थियो त्यसबेला नेकपा एमालेले अनेक समस्या र बहाना बनाएर लामो समयसम्म लगातार सदन अवरोध गरेको विगत छ ।
त्यसबेला एमालेका केही महिला सांसदहरू मर्यादापालकका काँध-काँधमा चढेको दृश्य टेलिभिजनहरूमा हेर्दा गर्नेलाई भन्दा हेर्नेलाई लाज हुने अवस्था थियो । सांसदहरूले मर्यादापालकहरूलाई धकेलेकोलाई स्वाभाविक मान्ने हो भने पनि तिनका हात टोकेको र कुर्सी र माइकहरू भाँचेको दृश्यलाई त सामान्यभन्दा सामान्य मानिसहरूले पनि स्वाभाविक मान्न सक्ने अवस्था थिएन । अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ र एमालेलगायतका दलहरू सरकारमा छन् । वर्तमान राजनीतिक परिदृश्य पहिलेको भन्दा ठ्याक्कै उल्टिएको छ । पहिले अनेकौं छिद्रहरू देखाएर विरोधमा बोल्दै सदन अवरोध गर्नेहरू आफ्ना पक्षमा समर्थन गर्ने दल वा व्यक्तिहरूको तिनै कमीकमजोरीहरूलाई ढाकछोप गरेर चिलले बेग हानेर झम्टा मार्दा पोथीले पँखेटा फिँजाएर चल्लाहरूको संरक्षण गर्न खोजेझैँ गरी सरकारमा जोडिन आएका छन् ।
तर, विभिन्न अभियोगमा उजुरी परेका व्यक्तिहरूलाई जोगाउने र निजले त्यस्तो काम गरेको छैन भन्दै बचाउ गर्नुका साथै छानेको र रोजेको मन्त्रालयको मन्त्री बनाएर राखेका छन् । नेपाली कांग्रेस सरकारमा छँदा यस्तै छिद्रहरू खोज्ने र विरोध गर्ने, निरन्तर संसद अवरुद्ध गर्नेहरू हाल आएर तिनै कुराको बचाउ गरिरहेका छन् । अनि यसैगरी नेपाली कांग्रेस विरोधमा छ । राष्ट्रका कतिपय साझा सबालहरूमा सत्ता पक्ष र प्रतिपक्ष एकै मत भएर अगाडि बढ्न किन सक्दैनन् ? डोरी तान्ने खेलमा जस्तै आफ्नो आफ्नोतिर मात्र बल गरेर तानिरहने हो भने अन्ततोगत्वा देशमा विद्यमान यो प्रणाली नै धरापमा पर्ने हो कि भनेर पनि सोच्नु पर्दैन र ?
नेपाली कांग्रेससँगको सहकार्यमा माओवादीको नेतृत्वमा बनेको सरकारलाई जसरी भए पनि असफल बनाएर आपूm सरकारमा जानुलाई अन्तिम ध्येय बनाएको एमाले अहिले आएर सफल भयो । प्रधानमन्त्रीले यसको बचाउमा नेपाली कांग्रेसले आपूmलाई सहयोग नगरेको बताउनुभएको छ । नेपाली कांग्रेसले पनि जबाफमा अर्थमन्त्रीसँग कार्यकर्ताहरूलाई बाँड्नका लागि प्रधानमन्त्रीले ठूलो धनराशि निकासाको माग गरेको जानकारी दिएको छ । यसरी जो सरकारमा गए पनि राष्ट्रको सम्पत्ति दोहनलाई नै अन्तिम लक्ष बनाउने गरेको देखिन आयो । दोषी सधैंका लागि दोषी हुनुपर्ने हो तर उसले गरेको दोष एक पक्षले दोष देख्ने र अर्को पक्षले त्यसैलाई निदोर्षिताको पगरी लगाइदिने गर्दा जनतालाई पनि यसले द्विविधामा पार्ने गरेको छ ।
कुनै आरोपी मानिस दोषी हो कि होइन भनेर आधार प्रमाणको विश्लेषणबाट न्यायालयले फैसला गर्ने हो । वर्तमान मन्त्रीमण्डलमा उपप्रधान तथा गृहमन्त्री रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागिरहेको छ र उहाँविरुद्ध उजुरी परेको छ । अन्तिम फैसला भएर उक्त व्यक्ति दोषी प्रमाणित नहुन्जेल निजलाई दोषी भन्न मिल्दैन आरोपीमात्र भन्न सकिन्छ, भन्छ कानुनले । यसलाई आधार बनाएर रास्वपाका प्रभावशाली नेता स्वर्णिम वाग्लेले गृहमन्त्रीसमेत रहनुभएका आफ्नो पार्टीका सभापति रवि लामिछानेका सम्बन्धमा प्रश्न उठाएर संसदीय छानविन समिति बनाउने माग गरिरहेको नेपाली कांग्रेसलाई प्रश्न गर्नुभएको छ ।
अदालतले दोषी प्रमाणित नगरेको मानिसका बारेमा कसैले उजुरी गरेकै आधारमा राजीनामा गर्दैजाने हो भने त धेरै सांसद र मन्त्रीहरूले पनि राजीनामा गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ भन्ने वाग्लेको चुनौतीपूर्ण प्रश्न छ । तर, वटम लाइनको फेर समातेर बसेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको मननीय तर्क छ ः प्रधानमन्त्रीले गृहमन्त्री निर्दोष भएको फैसला संसद्को रोस्टमबाट गर्न मिल्दैन ।
कांग्रेसले जोडदार रूपमा रविमाथि लागेको आरोपबारे संसदीय छानविन समिति बनाउन जोडदार रूपमा माग गर्दै आएको भए पनि सरकार पक्ष यसका लागि तयार देखिएको छैन । संसद्मा यही दोहोरी चलिरहेको छ । यस्तो नौटंकीपूर्ण दोहोरीले देशको हित हुने होइन उल्टो देशको प्रतिष्ठालाई स्खलित पार्ने गर्छ भन्ने सबैलाई थाहा छ तर यस्तै भइरहेको छ ।
पहिले जस्तै हुने गरेको शक्ति संघर्ष फरक अनुहार र फरक मुद्दामा ध्रुवीकृत हुँदैछ । यसबाट जनतामा भने थप निराशा चुलिन पुगेको छ । जो आए पनि देशका बारेमा सोच्ने रहेनछन्, सत्ता र शक्तिमा रहने प्रपञ्चमात्र तीबाट रचिने रहेछ । आफ्नो र आफ्नाका बारेमा मात्र तिनको ध्यान केन्द्रित हुने रहेछ भन्ने देखिँदै छ । राजनीति गर्ने पार्टीहरूले राजनीतिलाई यसरी फोहोरी खेल बनाउने हो भने जननिराशाले सगरमाथा छुनसक्छ । निराशालाई घटाउने हो भने जनता र देशको बारेमा सोच्नु अनिवार्य छ । होइन भने देशको हालत अहिलेको भन्दा अझै बिग्रिएर जानेछ र नेता र प्रणालीका विरुद्ध नै जनताले संघर्ष गनुपर्ने अवस्था सिर्जना हुन सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच