
काठमाडौं । चलचित्र‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एक सयभन्दा बढी हलमा प्रदर्शनरत चलचित्रले दुई सातामा दश करोड चौध लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । पहिलो साता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको चलचित्रले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन गरेको हो ।
दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपका आधारमा चलचित्रलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । चलचित्रलाई प्राप्त शोले ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने देखिन्छ । निर्माता म्याक्स दीपेश खत्रीले चलचित्रले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताउनुभयो ।
भारतबाहेकको चलचित्र वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार नेपालपछिको दोस्रो ठूलो मार्केट मानिने अष्ट्रेलियामा दुई सातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० शो, न्युजिल्याण्डमा १२ शो, युरोपअन्तर्गतका देशमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भइसकेको छ ।
यी सबै शो शोल्ड आउट भएका थिए । मध्यपूर्वअन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्स अफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भइसकेको छ भने युनाइटेड अरब इमिरेट्समा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपालझैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरू भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशीझैँ नियमित प्रदर्शन भइरहेको छ ।
चैत ९ गतेदेखि प्रदर्शनरत चलचित्रमा फणिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ । चलचित्रले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताउनुभयो । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको चलचित्रलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलगायतका विशिष्ट व्यक्तिले हेरिसक्नुभएको छ ।
चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग यो चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्तरूपमा निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच