नेपाली राजनीतिमा पाको उमेरका नेताहरूको बाहुल्य र नेतृत्व हावी हुँँदै आएको छ । यस्ता प्रश्न बेलाबेलामा उठ्ने गर्छन् तैपनि युवाहरूले नेतृत्व पाउने अवस्थाको सिर्जना हुन सकेको छैन । पाको उमेरका नेताहरूले पद छोड्न नचाहेकाले यस्तो हुँदै आएको हो । पदमा रहँदा पाइने सेवासुविधाको चाहना र वृद्धावस्थामा आवश्यक उपचारमा समेत पदबाट सहयोग पुग्न सक्छ । यस्ता अनेकौं कारण हुन सक्छन् जसले गर्दा सकेसम्म कोही राजनीतिज्ञले पदबाट सन्न्यास लिँदैनन् । वर्तमान सन्दर्भकै कुरा गर्ने हो भने पनि नेपालका मुख्य तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्तरी र असी वर्षको बीचको उमेरका नेताहरूको नेतृत्वबाट डोहोरिइरहेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असी वर्षको निकटमा हुनुहुन्छ तैपनि उहाँ पार्टीको नेतृत्व गरिरहनुभएको छ । प्रजातन्त्रको पुनस्र्थापनापछिका सबै निर्वाचनमा उहाँ आफ्नो गृहजिल्ला डडेल्धुराबाट विजयी बन्नुभएको छ । उहाँ पाँचपटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँलाई नेतृत्व छोड्न र युवालाई ठाउँ दिन दबाब आए पनि गत महाधिवेशनमा उहाँकै पक्षमा अत्यधिक सदस्यहरूको साथ-सहयोग देखियो । आपूm ५६ वर्षको उमेरसम्म मात्र राजनीतिमा सक्रिय रहने र त्यसपहिले नै प्रधानमन्त्री बन्छु भनेर दाबी गर्दै आउनुभएका वर्तमान महामन्त्री गगन थापा सभापतिमा प्रतिस्पर्धी बनेर पनि देउवासामु आफ्नो प्रभाव देखाउन सफल बन्न सक्नुभएन । गगनले ५६ वर्षपछि राजनीति गर्नुहुन्छ कि हुन्न त्यो भने पछिको कुरा हो ।
सोही पार्टीका तत्कालीन प्रभावशाली नेता गिरिजाप्रसाद कोइराला आफ्नो जीवनको अन्तिम अवस्थासम्म पनि नेतृत्वमा रहिरहनुभयो । प्रधानमन्त्री र पार्टी सभापति दुवै पद आफैंले लिनुभयो । एक व्यक्ति एक पद भनेर आवाज उठ्दा पनि उहाँले पद छोड्नुभएन । ‘साथीहरूको चाहना अनुसार गरेको हुँ’ भन्ने भनाइलाई भने उहाँ पटक-पटक दोहोर्याई रहनु हुन्थ्यो । प्रजातन्त्र आउँदा समय र परिस्थितिले नै उमेर ढल्किसकेको थियो नत्र कृष्णप्रसाद भट्टराईले भने पदमा लोभलालच देखाउनुभएन, स्वार्थअनुसार अरूले उहाँलाई गोटी चाहिँ बनाइरहे । इतिहास पल्टाउने हो भने पहिलो कम्युनिष्ट प्रधानमन्त्री महमोहन अधिकारी पनि प्रधानमन्त्री बन्दा सत्तरी वर्ष कटिसक्नुभएको थियो ।
यसपछि बेला-बेलामा पालैपालो प्रधानमन्त्रीको पदमा पुगेका कम्युनिष्ट पार्टीका प्रधानमन्त्रीहरू प्रधानमन्त्री बन्दा धेरै पाको उमेरका हुनुहुन्थ्यो तर अहिले उहाँहरूको पनि उमेर वार्धक्यतर्फ उन्मुख छ र उहाँहरू राजनीतिमै सक्रिय हुनुहुन्छ । नेकपा एमालेको नेतृत्व गरी पार्टी हाँक्ने जिम्मेवारीमा रहनुभएका उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओली उमेर र रोग दुवैका कारण अब राजनीतिबाट सन्न्यास लिनुपर्ने अवस्थामा पुग्नुभएको छ तर नेपालको वर्तमान राजनीतिलाई उहाँले नै फनफनी घुमाइरहनुभएको छ भन्दा अन्यथा नहोला । माओवादी र नेपाली कांग्रेसको गठबन्धनबाट बनेको सरकारलाई केही समय अघिमात्र असफल बनाउन उहाँ सफल बन्नुभएको छ । वर्तमान सरकार बनेको एक महिनामात्र भइरहेको अवस्थाका अहिले नेपाली कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने खालका आवाजहरू उठिरहेका छन् र यसमा उहाँको पनि रुचि छैन भन्न सकिँदैन ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पनि सत्तरी वर्षको सेरोफेरोमा हुनुहुन्छ । नेपाली कांग्रेस र नेकपा एमालेको तुलनामा उहाँको पार्टी धेरै कम स्थान जितेर प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेको छ तर सरकारको नेतृत्वमा उहाँ सुरुदेखि नै हावी बन्दै आउनुभएको छ । हालैमात्र उहाँले आपूm बाँचेसम्म नेपालको राजनीतिमा बेलाबेलामा उथलपुथल भइरहन्छन् भन्ने उद्घोष गर्नुभएको छ । उहाँलाई एक थरीले अत्यन्त बाठो नेता मानेका छन् भने अर्को थरीले अस्थिर नेताका रूपमा हेरेका छन् । एमालेबाट फुटेर गएका एकीकृत समाजवादी पार्टीका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि वार्धक्यकै निकटमा हुनुहुन्छ । तर, राजनीतिको लालसाबाट पर बन्न सक्नुभएको छैन ।
वर्तमान सरकारमा उहाँहरूको पार्टीको समेत संलग्नता छ । एमालेसँग काटोछिनो गर्दै आउनुभएको उहाँहरू एमालेका अध्यक्ष ओली नेपालको घरैमा गएर अनुनय विनय गरेपछि वर्तमान सरकारमा सामेल बन्न पुग्नुभएको हो । यसरी नेपालका कम्युनिष्ट पार्टीहरूलाई जोड्ने र सरकारमा उनीहरूकै नेतृत्वको निरन्तरता कायम गराउने काममा उत्तरको छिमेकी देशको हात रहेको तर्क पनि नेपाली राजनीतिक गर्ने गरिएको छ । तराईवादी पार्टी हुन् वा अन्य, सबै पार्टीमा वृद्ध नेताहरूकै नेतृत्व रहँदै आएको छ । नेपालको इतिहासमै नयाँ पार्टीका रूपमा दुई वर्षपहिले स्थापना हुन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी भने यसको अपवाद देखिएको छ ।
यस पार्टीमा युवाहरूको बाहुल्य छ र हाल सरकारमा संलग्न मन्त्रीहरू युवा नै हुनुहुन्छ । नेपाली जनताले उहाँहरूबाट केही अपेक्षा गरेका छन् । त्यो अपेक्षा उहाँहरूबाट पूरा भएन र विवादमा तानिनुभयो भने त्यस पार्टीको पनि राजनीतिमा संलग्नता र निरन्तरता मात्र हुन जानेछ । डेढ दुई दशक त्यसरी नै पार्टी चल्दै गयो भने त्यस पार्टीमा पनि अरू पार्टीहरूमै जसरी वृद्ध नेताहरूको नेतृत्व रहनेछ । प्रायः सबैजसो पार्टीमा युवाहरू छन् तर तिनले नेतृत्वको मौका पाइरहेका छैनन् । तिनले नेतृत्व पाउने हो भने निश्चय नेपाली जनताले केही परिवर्तनको महसुस गर्न पाउनेमा निर्विवाद छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच