काठमाडौं । नेपाल डेरी एसोसिएसनले नव वर्ष २०८१ का अवसरमा नयाँ वर्षको क्यालेण्डर विमोचनका साथै शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहाल, बागमती प्रदेशका सांसद जयराम थापा, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरी, एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्रगोपाल श्रेष्ठलगायतले क्यालेण्डर संयुक्तरूपमा विमोचन गरेका थिए ।
सो अवसरमा केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले उत्पादक किसानले उद्योगीबाट दूधको पैसा नपाएको गुनासो गर्दै आगामी नयाँ वर्षबाट क्रमशः सुधारिँदै बक्यौता चुक्ता गर्न आग्रह गर्नुभयो भने दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले दुग्ध क्षेत्रको समस्या नयाँ वर्ष आगमनसँगै समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेशका सांसद थापाले दुग्ध क्षेत्रका समस्यामा आफू पनि गम्भीर रहेको भन्दै समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभयो । एसोसिएसनका अध्यक्ष दाहालले सरकारले विद्युत् सहुलियत, डेरीजन्य प्याकिङ सामग्री आयातमा भन्सार र अन्य कर छुट प्रदान गरेमा उत्पादन लागत घट्ने भएकाले दूध तथा दुग्ध पदार्थको उपभोक्ता मूल्य पनि घटाउन सकिने बताउनुभयो ।
यसैबीच एसोसिएसनको सोही दिन सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । हाल डेरी उद्योगमा बढी भएको नौनी, पनिर, एसएमपी, घ्यू खपत बढाउन नेपाल सरकारअन्तर्गत आर्मी, प्रहरी, सशस्त्र प्रहरी, खेलाडीका खानामा अनिवार्य गर्न, एसोसिएसनका सदस्यको बाँकी रहेको बक्यौता धेरै नरहेको र भएको पनि छिट्टै चुक्ता गराउन पहल गर्ने र दुग्ध क्षेत्रमा आइपर्ने विभिन्न समस्या पहिचान एवं समाधानका लागि मनोजकुमार यादवको संयोजकत्वमा समिति गठन गरी केन्द्रलाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष दाहालले जानकारी गराउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच