
स्याङ्जा । स्याङ्जा पुतलीबजारकी चन्द्रकला रानाले यसै वर्षको अन्तर्राष्ट्रिय महिला दिवसमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट उद्यमशीलतातर्फको ५० हजार राशिको प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार प्राप्त गरिन् । उनले त्यसै यो पुरस्कार प्राप्त गरेकी भने होइनन् । जिल्लामै पहिलो अचार उद्योग खोलेर अचार व्यवसाय सुरु गरेकी उनी एक सफल महिला उद्यमी हुन् ।
चन्द्रकलाले बाल्यकालदेखि नै सामाजिक सेवा गर्ने सपना बुनेकी थिइन् । आफू सबैका बिचमा राम्रो काम गरेर चिनिनुपर्छ भन्ने सोच उनमा सानैबाट थियो । तर समय र परिस्थितिले साथ नदिँदा ती बाल्यकालीन सपनाहरु मुर्च्छिछत थिए ।
उनको सानैमा बिहे भयो । बिहे भएपछि छोराछोरी जन्मे । रोजगारीका लागि पुरै परिवार नै भारत हानियो । भारतमा गएपछि उनले अनेक सङ्घर्ष गर्नुप¥यो । उनले कुकिङको काम पाइन । पछि दुईओटा नोकरी गरेर पैसा कमाइन् । लोग्नेको र आफ्नो कमाइ गर्दा राम्रो आम्दानी पनि भयो । पैसा त भयो तर उनको सानैदेखि हुटहुटी भने पुरा नभएको अनुभूति उनले गरिन् । ‘दुःखले पैसा त कमाएँ तर मैले खोजेको खुसी भने त्यो पैसाले मिलेन ।’
उनलाई भारतमा ८ वर्ष बस्दा पहिचान गुमेको अनुभूति भयो । त्यसपछि उनकै जोडबलमा पुरै परिवार नै नेपाल आयो । नेपाल आएपछि केही समय त भाषाकै समस्या भयो । के गर्ने के गर्ने भइरहेका बेलामा नजिककी दिदीको सल्लाहमा उनले स्याङ्जाको पुतलीबजारमा कस्मेटिक पसल खोलिन् । कस्मेटिक पसलबाट सामान्य दिनचर्या चले पनि उनको सानैदेखिको पहिचान र समाजसेवाको हुटहुटी भने त्यसले पनि पूरा गरेन ।
त्यही बिचमा उनले टोलछिमेकका दिदीबहिनीहरुबाट पुतलीबजार नगरपालिकाले अचार सम्बन्धी तालिम सञ्चालन गरेको थाहा पाइन् । उनी पनि त्यो ३ दिने अचार सम्बन्धी तालिममा सहभागी भइन् । त्यो तालिमपछि उनको व्यवसायको क्षेत्र परिवर्तन भयो । उनले कस्मेटिक व्यवसाय छाडेर अचार उद्योग खोल्ने सोच बनाइन् ।
त्यसपछि एक जना साथी र उनी भएर चन्द्रशोभा अचार उद्योग दर्ता गरे । दुई दिदीबहिनीले अचार बनाउन सुरु गरे । पुतलीबजारमा अचारको पसल खोले । ३ दिनको तालिमका भरमा मात्र अचार व्यवसाय सञ्चालन गर्दा उनीहरुको व्यवसाय सोचेजस्तो भएन । उनीहरुले बजारको माग र गुणस्तर अनुसारको अचार उत्पादन गर्न सकेनन् । चन्द्रकला भन्छिन् ‘३ दिनको तालिम अपुरो भयो । धेरै कुरा सिक्न नपाएर समस्या भयो । अनुभवको कमी पनि भयो ।’
उनीहरुको अचार बिक्री पनि सोचे जस्तो भएन । यसछि साझेदार साथीले व्यवसाय नै छाडिन् । उनले भने हिम्मत हारिनन् । उनले एक्लै त्यो व्यवसाय धानिन् । उनको भित्री इच्छा पैसाभन्दा पनि उद्यमशीलताका क्षेत्रमा अगाडि बढ्नु थियो । यसै बिचमा उनले अचार सम्बन्धी ७ दिने र १५ दिने तालिम लिइन् । त्यसपछि उनलाई अचारका सम्बन्धमा धेरै ज्ञान प्राप्त भयो । अचार व्यवसायलाई बढाउँदै गइन ।
अहिले उनी स्याङ्जाकै एक उत्कृष्ट अचार प्रशिक्षकका रुपमा स्थापित भइसकेकी छन् । जिल्लाकै पहिलो अचार उद्योग खोलेकी चन्द्रकलालाई आफूले प्रशिक्षण दिएका दिदीबहिनीहरुले अचार बनाएर बेचेको देख्दा खुसी लाग्छ । ‘मैले प्रशिक्षण दिएका दिदीबहिनीहरुले होमस्टेमा तथा अन्य ठाउँहरुमा अचार बनाएर बेचिराख्नुभएको छ । कतिपयले त उद्योग नै सुरु गर्नुभएको छ । यसबाट सन्तुष्टि मिलेको छ ।’
अहिले उनी अचार व्यवसायका लागि आवश्यक कच्चा सामग्रीहरु आफैले बनाउनुपर्छ भन्ने सोचमा लागेकी छन् । उनले भीरकोट ४ मा करिब १०५ रोपनी क्षेत्रफलको जग्गामा टिमुर खेती गरिरहेकी छन् । अब कफी खेती पनि थप गर्दै कृषि उद्यमशीलतालाई अचार व्यवसायसँग जोड्ने उनको लक्ष्य रहेको छ ।
हाल उनले ४० प्रकारको अचार बनाउँछिन् । उनले बनाएको अचार देशभित्र र देशबाहिर बिक्री हुँदै आएको छ । उनको अचार हाल कतार, मलेसिया, अमेरिका लगायतका विभिन्न देशमा रहेका नेपाली दाजुभाइहरुले लैजान थालेका छन् । आँप, मेथी, मिक्स, करेला, लप्सी, डल्ले खुर्सानी आदिको अचार बढी बिक्री भएको उनले बताइन् ।
उनको सक्रियता अचारमा मात्रै सीमित छैन । उनी हाल पुतलीबजार नगरपालिकाको सहयोगमा बनेको ‘स्थानीय उत्पादन उद्यमी समूह’ की अध्यक्ष हुन् जसमा ९ जना उद्यमी महिलाहरु आबद्ध छन् । उनकै सक्रियतामा पुतलीबजार नगरपालिकाको ४ लाख ५० हजार सहयोगमा स्याङ्जा बजारमा कोसेली घर निर्माण गरेर अचार लगायत अन्य उत्पादित सामग्री बेच्न थालिएको छ ।
उद्यमी तथा कृषकहरुले उत्पादन गरेका सामानहरुको उचित बजारका लागि पालिकाले यसप्रकारको व्यवस्था गरेको भए तापनि बाहिरी सामानको प्रभाव रोक्न नसक्दा र अर्गानिक सामान महङ्गो पर्दा बजारीकरणमा समस्या भएको उनको दुःखेसो छ । राजनैतिक दल, सरकारी कर्मचारी तथा शिक्षित समुदायका मानिसले पनि कोसेली घरको सामानलाई महङ्गो भनेर मुख खुम्च्याउँदा चन्द्रकलालाई दुःख लाग्छ । तर उनले हरेस भने खाएकी छैनन् ।
उनी भन्छिन्, ‘थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने व्यवसाय अचार व्यवसाय हो । महिलाहरुका लागि यो आम्दानीको राम्रो स्रोत बन्न सक्छ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच