विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश औद्योगिकरण हुन नसक्नुको आधारभुत कारण खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बतउनु भयो । विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभुत कारणहरु हामीले खोज्नुपर्छ । आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्छ । राष्ट्रिय उद्योग धन्दाहरु भनेको के हो ? हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरु बनाउन सकिन्छ । बन्न पनि खोज्दैछन्, बनाउने सम्भावना व्यापक छन् । हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी खालि विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौँ ।’

पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताउनु भयो । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने बताउनु भयो । उहाँले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?