
गोविन्द मरासिनी
परम्परागत शैलीका घरहरू, मनमोहक स्थानमा हिमाल हेर्दै टिपिकल नेपाली शैलीको खानपानमा रमाउन तनहुँको बन्दीपुर धेरैको रोजाइमा पर्ने गरेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै १३७ किमीको (पोखराबाट ६३ किमी) दूरीमा तनहुँको डुम्रे पुगिन्छ । डुम्रे बजारबाट आठ किमी उकालो लागेपछि पर्यटकीय क्षेत्र बन्दीपुर पुग्न सकिन्छ । पहाडकी रानीको नामले समेत चिनिने बन्दीपुरमा धेरै पर्यटकीय विशेषताहरू छन् । यही विशेषताले त यस स्थानमा नयाँ वर्ष र बिदाका समयमा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । मुख्यतः भक्तपुरे शैलीमा निर्माण गरिएका पुराना घरहरूले बनेको बजार क्षेत्रले मन लोभ्याउँछ । बन्दीपुर तनहुँको पुरानो सदरमुकाम शहर हो । नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको शहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । यस बजारभित्र सवारीसाधनसमेत निषेधित गरिएकाले वाकिङ गर्नुको मजा नै बेग्लै छ । डुम्रेबाट बन्दीपुरसम्म जानका लागि बस र जिपहरू पाउन सकिन्छ । यदि ट्याक्सीमा जाने हो पाँच सय रुपैयाँमा बन्दीपुर पुग्न सकिन्छ ।
पहाडकी रानीको नामले समेत चिनिने बन्दीपुरमा धेरै पर्यटकीय विशेषताहरू छन् । यही विशेषताले त यस स्थानमा नयाँ वर्ष र बिदाका समयमा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।
रहनसहन, थिति र संरचनाका साथसाथै प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । यस स्थानका घरमा झ्यालढोका, टुँडाल, सिँढी आदि काठबाट बनाइएका छन्, जसले बन्दीपुरलाई थप सुन्दर बनाएको छ । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारिक नाकाका रूपमा समेत रहेको थियो । तनहुँ, कास्की, लमजुङ र गोरखाका लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलका रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामका रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।
बन्दीपुर पुगेपछि तपाईं, हामी कतिपयले बन्दीपुरमात्र बसेर घुमेर फक्र्यौँ भने हाम्रो बन्दीपुर यात्रा अपुरो रहन्छ । बन्दीपुरको यात्रालाई पूर्ण बनाउनका लागि ऐतिहासिक, धार्मिक थानी माई पुग्नै पर्छ । बन्दीपुरबाट पश्चिम दिशा हुँदै उकालो लाग्दै गर्दा आधा घण्टामा थानी माई पुगिन्छ । यस मन्दिर छानो नभएको नामले समेत प्रसिद्ध छ । यहाँबाट ‘सनराइज’ को मात्र नभई ‘सनसेट भ्यु’ का साथै छोटो दूरीको हाइकिङका लागि समेत उपयुक्त मानिन्छ । बजारसँगै रहेको खड्ग माई र बजारबाट उत्तरपूर्व रहेको बौद्व गुम्बा अर्को छुटाउन नहुने स्थान हुन् । खड्ग माईमा बडादशैँको फूलपातीमा विशेष मेला लाग्दछ भने बौद्व धर्मावलम्बीहरू आस्थाका रूपमा बौद्व गुम्बामा पुग्ने गर्दछन् ।
पृथ्वी राजमार्गको हाइवे विमलनगरबाट एक घण्टाको उकालो र बन्दीपुरबाट झर्दा एक घण्टाको ओरालोमा सिद्ध गुफा रहेको छ । यो गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । ठूलो गुफा भएकाले यस गुफाभित्र विभिन्न संघ, संस्थाले सभा, सम्मेलन र गोष्ठीको समेत आयोजना गर्ने गर्दछन् । हालसालै बन्दीपुर युनेस्को क्लबले यही गुफामा टेबलटेनिस खेलको प्रतियोगितासमेत सञ्चालन गरेको थियो । यस स्थानमा साउन महिनामा बोलबमको मेलासमेत लाग्ने गर्दछ । विमलनगरबाट हाइकिङ गर्ने हो करिब तीन घण्टामा यो गुफा हुँदै बन्दीपुर पुग्न सकिन्छ । हिमालयको फराकिलो दृश्यावलोकन यहाँको अर्का प्रमुख विशेषता हो । बन्दीपुर बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको मात्र नभई सुन्दर फाँट र पहाडलाई समेत नियाल्न सकिन्छ । यहाँबाट पश्चिमतिर लाङटाङ, गणेश, हिउचुली, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमालको फेददेखि टुप्पोसम्मै अवलोकन गर्न सकिन्छ ।
यस्तै, मिनी ग्रेटवाल नामले चिनिने थानी माईदेखि मणिमुकेन्देश्वरी गढीसम्म निर्माण भइरहेको यो पर्यटकको रोजाइमा पर्न थालेको छ । यसलाई मिनी ग्रेटवाल भन्ने गरिए तापनि यसको खास नाम भने मुकुन्देश्वर पैदल मार्ग हो । यो मार्ग २.६ किमी रहेको छ । परापूर्वकालमा पाल्पाका राजा मणिमुकुन्द सेन यस स्थानमा आएर बसेकाले त्यस परम्परागत इतिहासलाई चिनाउने उद्देश्यले यो मार्ग निर्माण गरिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ । करिब १० करोडको लगानीमा सम्पन्न हुने यो मार्गको निर्माण कार्य ४० प्रतिशत सकिएर रोकिएको छ । चीनको झल्को दिने गरी निर्माण भइरहेको यस स्थानकै कारण बन्दीपुरमा पर्यटकको आवागमन बढ्ने विश्वास लिइएको छ ।
कृषि पर्यटनका लागि पनि बन्दीपुरलाई अब्बल मान्न सकिन्छ । नेपालकै एकमात्र बाख्रा अनुसन्धान केन्द्र नेपालकै नमुना फार्मका रूपमा विकसित भएको छ । बन्दीपुर गाउँपालिका दूध, मासु, तरकारी, बाख्रा पालन र अण्डामा आत्मनिर्भर छ ।
यस्तै, बन्दीपुर गापाको वडा नं. ३ रामकोटदेखि बन्दीपुर बजार (वडा नं. १, २,४) हुँदै वडा नं. ५ बाहुन भञ्ज्याङसम्म निर्माण भइरहेको करिब ९ किमी साइकल लेन पर्यटकका लागि बन्दीपुर पुग्दा बसाइ लम्ब्याउन सक्दछ । पहाडी भू-भागमा साहसिक साइक्लिङलाई विस्तार गर्ने योजनाका साथ लेन बनाइएको गाउँपालिकाले जनाएको छ । यस्तै, बजारबाट पश्चिममा रहेको टुँडिखेलबाट प्याराग्लाइडिङ गर्न सकिन्छ, यसका लागि भने अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ ।
कृषि पर्यटनका लागि पनि बन्दीपुरलाई अब्बल मान्न सकिन्छ । नेपालकै एकमात्र बाख्रा अनुसन्धान केन्द्र नेपालकै नमुना फार्मका रूपमा विकसित भएको छ । बन्दीपुर गाउँपालिका दूध, मासु, तरकारी, बाख्रा पालन र अण्डामा आत्मनिर्भर रहेको छ । बन्दीपुरलाई एग्रो टुरिजमका रूपमा विकास गर्दै पर्यटकलाई गाउँसम्म पु¥याएर गाउँले परिवेश र खेतीपाती देखाउने र घुमाउने गरी विकास गर्न सकेमा भविष्यमा अझ धेरै पर्यटकहरू भित्र्याउन सकिने अपेक्षा गर्न सकिन्छ ।
नयाँ वर्षमा खाना महोत्सवको रौनक
‘सडकमै खाऔँ सडकमै रमाऔँ आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ चैत ३० गतेदेखि २०८१ वैशाख २ गतेसम्म खाना महोत्सवको आयोजनासमेत गरिएको छ । महोत्सवमा विभिन्न सांस्कृतिक कलाहरूको प्रदर्शनका साथमा विभिन्न परिकारका खानाहरू सडकमै खान पाइनेछ । बन्दीपुरमा यसअघि पनि विभिन्न अवसरमा सडक खाना महोत्सव हुँदै आएको छ । यसपटकको महोत्सवमा ५० हजारदेखि ६० हजारसम्मको संख्यामा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाई, उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई समिति र रेबान तनहुँ, बन्दीपुरलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो ।
खानपान, बासस्थान र संस्कृति
बन्दीपुरमा घुम्नका लागि बसोबासको समस्या छैन । यहाँ होमस्टेका साथै होटलको समेत व्यवस्था छ । यहाँ करिब आधा दर्जन होमस्टे र ४० भन्दा बढी होटलहरू रहेका छन् । जसमा बस्नका लागि करिब एक हजारदेखि सुविधा हेरेर चारदेखि पाँच हजारसम्मका कोठाहरू पाउन सकिने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताउनुभयो । बन्दीपुरमा स्थानीय स्तरमै उत्पादन भएका टिपिकल खानेकुराहरूको स्वाद चाख्न पाइन्छ । एकै स्थानमा गुरुङ, मगर र नेवार समुदायको संस्कृतिमा झुम्न पाइने यस सांस्कृतिक हिसाबले समेत भरिपूर्ण लाग्दछ । यसका साथै परम्परागत तीनधारा, पुराना पार्टी, पौवा, स्वच्छ हावापानी यहाँका विशेषताहरू हुन् ।
(लेखक मरासिनी पत्रकार हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच