खेल जगतको विश्व दस्तावेजमा जुम्ला‐रारा अल्ट्रा म्याराथन स्थापित हुने : खेलकुदमन्त्री श्रेष्ठ

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन खेल जगतको विश्व दस्तावेजमा स्थापितहुने   बताउनु भएकाे छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आयोजित कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयमा आफु सक्रियता भएर लाग्ने जानकारी दिनुभयो । आगामी बर्षमाहुने छैटौं जुम्ला‐रारा अल्ट्रा म्याराथन अझै भव्यका साथ गर्न जरुरी रहेकाे उहाँकाे भनाई छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो 'खेलाडीलाई देशमै बस्ने वातावरण बनाउनुपर्छ । खेल पर्यटनलाई विश्व रुपमा परिचित गर्ने जुम्ला‐रारा अल्ट्रा म्याराथनले महत्त्वपूर्ण भुमिका खेल्ने छ ।' खेलकुद राष्ट्रको प्रतिष्ठासंग जोडिएको विषय भएकोले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन सक्दो प्रयास गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । खेल मार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न खेल पर्यटनको विकासका लागि जुम्ला‐रारा अल्ट्रा म्याराथनको भुमिका निकै रहने कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको ४९ किलोमिटर लामो म्याराथन प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको सहभागी भएको छ। जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको हो। यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो । कोरोना महामारीका कारण ०७७ मा सञ्चालन हुन सकेनन्।

समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन जिल्लाको डाँफे लेक, चुच्चेमारा लेक हुँदै दुई हजार आठ सय ९० मिटरको उचाइमा रहेको रारातालको छेउमा पुगेर खेल समाप्त हुने क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले पाँचदेखि सात घण्टामा पार गर्छन् । एक हजार बढी खेलाडीले सहभागिता जनाएका छन् । ४९ किमितर्फ प्रथम हुने धावकलाई एक लाख, दोस्रो हुने धावकलाई ७५ हजार, तेस्रो हुने धावकलाई ५० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुने धावकलाई २० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । म्याराथनमा सहभागीहुने सार्कका धावकहरुले १४ हजार पाँच सय, अन्य देशका धावकलाई १६ हजार र नेपाली धावकलाई सात हजार आवेदन शुल्क तोकिएको क्लबले जनाएको छ ।

जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी, ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता भएको क्लबले जनाएको छ ।४९ किमि प्रतियोगितामा विजयी हुने खेलाडीलाई रारामा पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?