
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी राजकीय दुईदिने भ्रमणका क्रममा आज (मंगलबार) नेपाल आउँदै हुनुहुन्छ । पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ साँझ ५ बजे काठमाडौं आइपुग्नु हुनेछ । कतारी राजाको स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ । थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।
दुई निजी जहाज लिएर आउन लाग्नुभएका उहाँका साथमा आधा दर्जन मन्त्री सहभागी रहने बताइएको छ । उहाँको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आइसकेका छन् । पश्चिम एशियाको महत्वपूर्ण शक्तिराष्ट्रको प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । कतारी राजाको स्वागत र सुरक्षाका लागि सरकारले सार्वजनिक बिदा दिएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
केही दिनयता एशियाली देशको औपचारिक भ्रमणमा निस्कनुभएका कतारी अमिर फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर त्यतैबाट नेपाल आउन लाग्नुभएको हो । उहाँले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गरिरहनु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उहाँ बुधबार बेलुका नै कतार फर्कने कार्यक्रम छ । कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्कनुभएका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।
नेपालबाट सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गर्नुभएको थियो । त्यसअघि सन् २०११ अक्टोबर १० मा तत्कालीन राष्ट्रपति रामवरण यादव, सन् २०१९ अप्रिलमा तत्कालीन सभामुख कृष्णबहादुर महराले कतारको भ्रमण गर्नुभएको थियो । यस्तै, वर्तमान प्रधानमन्त्री प्रचण्डले सन् २०१४ मा अनौपचारिक रूपमा कतारको भ्रमण गर्नुभएको थियो ।
यी विषय उठाउँदै नेपाल
नेपालीहरूको प्रमुख रोजगार गन्तव्य देश मानिन्छ कतार । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार त्यहाँ झण्डै चार लाख नेपाली कार्यरत छन् । कतारका अमिरको पहिलो नेपाल भ्रमणमा ती श्रमिकको हितसँग सम्बन्धित विषय उठान गरिने बताइएको छ । भ्रमणका क्रममा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिष्कृत÷नवीकरण गरिनेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको श्रम मन्त्रालयले जनाएको छ । साथै, पर्यटन, लगानीलगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा कतारमा रहेर व्यवसाय गर्दै आउनुभएका आरके शर्मा थानीको भ्रमणबाट नेपालको कतारसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताउनुहुन्छ । नेपाली पर्यटनको सन्दर्भमा पनि अमिर अल थानीको यो भ्रमण महत्वपूर्ण रहेको उहाँको भनाइ छ । ‘कतारलाई जोड्दा मध्यपूर्वका धेरै देश जोडिन्छन् भन्ने लाग्छ । कतारसँग भावनाबाटै जोडिनका लागि पर्यटन प्रवद्र्धनबाट पनि सम्भव छ । कतारका राजपरिवारका सदस्यहरू सगरमाथा आरोहण गर्न आउनुभएको थियो । मध्यपूर्वका अन्य देशका नागरिकलाई यहाँ आउनका लागि कसरी सहज वातावरण बनाउन सकिन्छ भन्नेतर्फ हामीले सोच्नुपर्छ । यी काम गर्न सम्भव पनि छ । पक्कै पनि यसबाट नेपाल र कतार बीचको जनस्तरको सम्बन्ध झनै घनिष्ट हुन्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो ।
परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका राजा अमिरको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताउनुभयो । उहाँले नेपालले कतारले भनेको जस्तो श्रम सम्झौता गर्न तयार हुने तर कतारले विपिन जोशीलाई रिहा गर्नुपर्ने प्रमुख एजेण्डा बनाउनुपर्ने बताउनुभयो । सरकारले विपिन निर्दोष व्यक्ति भएको भन्दै इजरायली र प्यालेस्टाइनहरूसँग कुनै शत्रुता नभएको दाबी पेस गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्व–परराष्ट्रमन्त्री डा. नारायण खड्काले कतारी अमिरको भ्रमण बहुउपयोगी हुने बताउनुभएको छ । यस भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको हितअनुकूल हुनेगरी श्रम सम्झौतालाई परिमार्जन गर्न सकिने उहाँको भनाइ छ । साथै चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्व समुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको उहाँको जिकिर छ । अमिरको यो भ्रमणबाट कतार र नेपाल बीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताउनुभयो । गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिबी अर्यालसँगको भेटवार्ताका क्रममा राजदूत अन्सारीले नेपाल सरकारले अघि सार्ने प्रस्तावमा सहयोग गर्न कतार तयार रहेको बताउनुभएको थियो ।
यस्तै, हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशीको रिहाइका लागि पनि अमिरसँग आग्रह गरिने बताइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेण्डामा राखिएको बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले कतारका राजा अमिरसँग छलफल गर्ने एजेण्डाको पहिलो नम्बरमा नै विपिनको रिहाइको एजेण्डा रहेको बताउनुभएको थियो । यता, कञ्चनपुरका विपिन जोशीका आमाबुबाले पनि कतारी राजा थानीसँग छोराको रिहाइको विषय उठाइदिन सरकारसँग आग्रह गरेका छन् ।
सुरक्षाको जिम्मा सेनालाई
कतारी राजा थानी दुईदिने नेपाल भ्रमणका क्रममा रहँदा त्यसको सम्पूर्ण सुुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले त्यसको तयारी पूरा गरिसकेको पनि जनाइएको छ । थानी होटल सोल्टीमा विश्राम गर्ने कार्यक्रम छ ।
त्रिभुवन विमानस्थल आधा घण्टा बन्द
कतारी राजा थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार आज दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ । अति विशिष्ट व्यक्ति (भिभीआइपी) उडानका लागि नोटाम जारी भएको समयमा सामान्यतया अन्य वायुसेवा कम्पनीका जहाजहरूको उडान–अवतरण हुँदैन । स्रोतका अनुसार राजा निजी जहाजमा आउने तयारी छ । उहाँको जहाज राख्न पार्किङ वेसमेत खाली राखिनेछ । बुधबार राजा फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।
नेपालले दुईवटा हात्ती उपहार दिने
कतारी राजा थानी नेपाल भ्रमणमा आउँदा उहाँलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी सरकारले गरेको हो । योसँगै हात्तीका सुसारे पनि कतार पठाउने तयारी छ । हात्तीलाई कतारको संग्रहालयमा राखिने बताइएको छ ।
आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिन माग गरेको छ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिएपछि राप्रपाले सो माग गरेको हो । सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको हो । उहाँले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गर्नुभएको छ । विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको उहाँको भनाइ छ । उहाँले नेपालका राजालाई पनि स्थान, श्रीपेच र इज्जत दिन माग गर्नुभएको छ । ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछ !’ प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ । सबैभन्दा माथि देश ।’ राप्रपाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै सरकारलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच