
काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्धको शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेख थपिनुभएको छ । यस्तै, युवा बलर आकाश चन्द पनि टोलीमा समेटिनुभएको छ । प्रिमियर कपमा भने उहाँ वैकल्पिक सूचीमा हुनुहुन्थ्यो ।
आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्रगतिका बलर हुनुहुन्छ । युवा तीव्रगतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सक्नुभएन । नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन ।
नेपाल र वेष्ट इण्डिज ‘ए’बीचको पाँच खेलको ट्वान्टी-२० शृंखला वैशाख १५ गतेदेखि सुरु हुँदैछ । दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिनेछ ।
नेपालसँग अभ्यास खेल खेल्न वेष्ट इण्डिजको ‘ए’ टोली काठमाडौं आइपुगिसकेको छ । वेष्ट इण्डिजको टोली नेपाल भ्रमणमा आएको यो पहिलोपटक हो ।
उक्त शृंखलापश्चात् नेपाली टोली आइसिसी टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ । आइसिसी टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ ।
आगामी आइसिसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ । उक्त समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगाण्डा छन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द हुनुहुन्छ ।
वेष्ट इण्डिज ‘ए’ टोली :
रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोन्सन चाल्र्स, मार्क दयाल, आन्द्रे लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच