आदरणीय काम्रेड प्रचण्डजी !
जय नेपाल अनि तपाईंलाई (लालसलाम)
करनी र कथनी मिलेन
तपाईं भौतिकवादी दर्शनको अनुयायी हुँ भन्नुहुन्छ तर तपाईंमा दृढता लरबराएको छ । भौतिकवादीलाई पाप र धर्मको ख्याल हुँदैन । नेपाली भौतिकवादी भएर होला राँगोलाई दान पनि गर्नुभयो । मान्छे यस दुनियाँमा पूजित या निन्दित जे हुन्छ उसका निजी कृत्य/चरित्रका कारणले नै हुन्छ । कृषिप्रधान देशको कृषिविद् तपाईं भौतिकवादी विचारबाट प्रभावित भएर राजनीतिका क्षेत्रमा लाग्नुभएको रे ! शताब्दीयौंदेखिको नेपाली समाजमा रहेको थिचोमिचो, छुवाछूत, ईहलोक, परलोक आदि धारणाका कारणले भौतिकवादी दर्शनमा विश्वास गर्ने मान्छेलाई चित्त दुख्नु स्वाभाविक हो तर तपाईंका भौतिक-वादतिरका कदम फितला देखिन्छन् । तपाईंको विगत खोतलेर हेर्दा तपाईं जनताका नजरमा राजनेताभन्दा समस्या उत्पादकको जड देखिनु भएको छ । तपाईं राजनेता होइन, राजनीति उपभोक्ता हुनुहुँदो रहेछ ।
जुन ठाउँमा तपाईं अहिले शेरबहादुर देउवा र खड्गप्रसाद शर्मा ओलीका बुद्धिविहीन सत्ता र शक्ति लोभका कारणले पुग्नुभएको छ त्यो स्थानबाट ती शब्द बोल्दा पनि पश्चाताप गर्नुहुन्न भनेपछि तपाईंले कुन सभ्यता निर्माण गर्न खोज्नुभएको हो भनेर मान्ने ?
नेपाली राजनीतिलाई तपाईंले दुई प्रकारले उपभोग गर्नुभयो । पहिलो सडकबाट सत्तामा जानका लागि हतियार उठाएर यस देशमा रहेका तमाम मूक (बोली नभएका)लाई वाचाल बनाउने स्वप्न देखाउनुभयो । शोषित, दलित, उत्पीडितलाई सुनौलो स्वप्न देखाएर आफ्ना कार्यक्रमतिर आकर्षित गर्नुभयो । युवायुवतिलाई आकर्षित गर्न तपाईंले वनेलु शिबिरमा यौन स्वतन्त्रता पनि दिनुभयो । यसले ‘दुनियाँ दो दिलोंको मिल्ने हि नहि देती’ भन्ने अनुभूति भएका केटाकेटी बुर्कुसी मारेर तपाईंका सैन्य शिविरमा पुगे, युवाशक्तिमा जोस् थियो, होस् थिएन त्यसैले तपाईं झनै हौसिनुभएछ । आवश्यक्ता भन्दा बढी मारक/ध्वंसक शक्ति तपाईंहरूले पाउनुभयो । हतियार बनाउने र ल्याउने काम पनि गर्नुभयो । तर जति विनास गर्नुभयो त्यो निर्माण गर्न आजसम्म सक्नुभएको छैन । अहिलेको भन्दा राम्रो बनाउन पुरानो भत्काउनुपर्छ भनेर धेरै मान्छेलाई तर्क पनि दिनुभयो । तर ती तर्क सबै झुट साबित भए । रामपुर क्याम्पसमा कृषिविज्ञान पढ्दा जानेको थोरबहुत विज्ञानलाई उपयोग गर्नुभयो । डा.बाबुराम भट्टराईजस्तो अध्ययनशील मान्छेलाई साथमा लिएर ‘प्रचण्ड’ बनिनु पनि भयो तर क्रान्ति सकेर सत्ता पाएपछि परिवार, नसनाता, आलोचकभन्दा जीहजुर गर्नेलाई प्रथमिकता, आर्थिक अपचलन, बोली र क्रियाकलापमा अस्थिरता भएको, स्वालोचना सुन्न नसक्ने, भावुकजस्तो देखिने तर परिवारमा लपक्क भएर झुकेको देखेपछि डा.बाबुराम भट्किए ।
हिजोको त्यो क्रान्तिकारी छविको मान्छे आज सत्तामा टाँसिएर बसेको जुकोजस्तो देखिन थाल्नुभयो । तपाईं क्रान्ति गरेर आए पनि साँच्चिकै क्रान्तिकारीको सम्मान लिन असफल बन्नुभयो किन काम्रेड ? यतातिर कहिल्यै सोच्नुभएको छ ? बी.पी., पुष्पलाल, गणेशमान, सुवर्णलाई सधैं राम्रा भनेर हामी सम्झन्छौं त । तपाईंको करनी र कथनी मिलेन है ।
उत्ताउला बोली र क्रियाकलाप
सत्ता र शक्ति पाउनेबित्तिकै तपाईंमा उन्माद चढेर सेनापति फाल्न उद्यत हुनुभयो । राष्ट्रदेव पशुपतिनाथमाथि पनि हमला गर्नुभयो । यो राज्यसत्ता तपाईंका वन्यसेनाले कब्जा गरेर तपाईंलाई सत्तामा पुर्याएका थिएनन् । तपाईंका क्रियाकलाप एकातिर गए भने अर्कातिर ती विचरा अन्जान लडाकुलाई खुवाउन राज्यले भिक मागेर ल्याएको आर्थिक राशि र रसदपानीमा आँखा गाडेर तपाईंहरूले भन्ने गरेका परम्परित बुर्जुवा नोकरशाही शोषक सामन्तले भन्दा बढी धनदोहनका उपाय खोज्न थाल्नुभयो । अब तपाईं र पुस्त्यौने राजशाहीमा जनताले तुलना गरे । राज्यका सुरक्षा निकायलाई विश्वास नगरी दोहरो सुरक्षादल राखेर तपाईंहरू हिँडेको जनताले नांगा आँखाले देखे ।
बी.पी.ले यसो गरेका थिएनन् । तपाईंहरू त राज्यका हरेक ठाउमा भाग खोज्न लाग्नुभयो । तपाईंहरूका भागबण्डा र औधत्यपूर्ण क्रियाकलापले यो देशका चौदिशा भताभुंग भएर जान लागे । यसै क्रममा शैक्षणिक संस्था ओरालो लोगेका आजसम्म पनि स्थिर, स्तरीय बन्न सकेका छैनन् । भरखरै तपाईंले मेरिटोक्रेसीका नाममा अनेकौं नौटंकी गरेरै एक सयवटा मुसा खाएर हज गर्न हिँडेको बिरालो खोजेर विश्वविद्यालयलाई गैरप्राज्ञिकस्थलका रूपमा परिणत आजका दिन पनि गरिनै रहनुभएको छ । संसद् जस्ता स्थानमा प्रधानमन्त्री जस्तो पदमा बसेर बोल्दा ‘लात्ताले हानेर निक्लन्छु’ भनेर लाजै नमानीकन कुर्लनुहुन्छ । जुन ठाउँमा तपाईं अहिले शेरबहादुर देउवा र खड्गप्रसाद शर्मा ओलीका बुद्धिविहीन सत्ता र शक्ति लोभका कारणले पुग्नुभएको छ त्यो स्थानबाट ती शब्द बोल्दा पनि पश्चाताप गर्नुहुन्न भनेपछि तपाईंले कुन सभ्यता निर्माण गर्न खोज्नुभएको हो भनेर मान्ने ? तपाईं उग्र वामपन्थी देखिन रुचाउने व्यक्ति भारतमा गएर गेरु वस्त्र लाएर पूजारीका गोडा ढोग्न हिच्किचाउनु हुन्न ।
संसद् भवनमा राखेको सिसी टिभी पाचाउने मुसा पाल्न तपाईं जति खप्पिस को होला र ? नेता भनेको लैजाने हो चोरी, हिंसाहत्या र छलछाम तथा रङबदलुवा मान्छे होइन । तपाईंजस्ता तिनजाना छन् । एकजाना तपाईं, दोस्रा थिए हेमवतीनन्दन बहुगुडाँ तेस्रा हुन् नीतिशकुमार । हेमवतीनन्दनले चुनावका बेला जम्मा १७ वटा दल परिवर्तन गरेका थिए । तपाईं र नीतिशलाई सम्बोधन गर्ने शब्द नै भेटिएन है कामरेड ? नीतिशले त विहारीपनलाई सुधारे । तपाईंले चाहिँ राजनीतिलाई काम्लामा मुछेको सातु बनाउनुभयो । सरकारै निर्देशन सरकार बनाउनुभयो । भाषालाई पनि अत्यधिकलाई ‘अत्याधिक’ भन्नुहुन्छ । जनतालाई ‘जन् ता’ बनाई हाल्नुभयो । इमानलाई बेइमान र बेइमानलाई सबैभन्दा महँगो वस्तु बनाउनुभयो । माओवादी बन्न जातीय विभेद, परिवारवाद, गठबन्धनमा धोका दिनेजस्ता काम अनिवार्य हुन्छन् भनेजस्तो मूल्य स्थापना गर्न खोज्दै हुनुहुन्छ । निर्वाचन जित्नका लागि क्षेत्र परिवर्तन अनिवार्य हुन्छ भन्ने पनि देखाउन खोज्दै हुनुहुन्छ । न जीतिने भए चुनाव रोकेर पनि जित्नै पर्ने उदाहरणका लागि (सिराहा) हामीले बिर्सेका छैनौ । नसनाता मोहका दृष्टिले कोशी र चितवन प्रचण्डका परिचयस्मारकस्थल मानिन्छन् ।
बेलायतका एकजाना सांसद जोन स्टु अर्ट मिलले संसारलाई संसदीय व्यवस्थाका सच्चरित्रात्मक गुण र त्यो व्यवस्थाको महिमा बताएका थिए । शेरबहादुर देउवा, खड्गप्रसाद शार्मा ओली र तपाईंले संसारका कुनै देशमा आजसम्म नदेखिएको चुनावभन्दा पहिलेको गठबन्धन गरेर राजनीतिक दललाई दलदलमा पुरपार पार्ने काम मजले गर्नुभयो । रक्तचन्दन र सुन तस्करीले नपुगेर, नागरिकलाई गैरनागरिक बनाउने काम पनि तपाईंहरूले आ-आफ्नै पालामा आलोपालो गरेरै भए पनि सुसम्पन्न गर्नुभयो । प्रचण्ड, ओली र शेरबहादुरका सबै काण्डको नाम लिने हो भने सातवटा ‘शेओप्वायन’ रामको रामायण, रावणको रावणायन भने जस्तै (शेरबहादुरोलीपुष्पायन) बन्नसक्ने सामग्री भेटिँदारहेछन् । मिटर ब्याजकाण्ड, सहकारी घप्लाबाजीकाण्ड, दोहोरो राहदानीकाण्ड, दोहोरो नागरिकताको काण्डजस्ता काण्ड चलाएर आएका रविका सती जानेसम्मको हर्कत देखाउन पछि पर्नुभएन ।
हुन त तपाईं गिरिजाबाबुपछि ‘म’ भन्नुहुन्थ्यो । हामीले बुझेनछौं । कांग्रेसमा कहिल्यै चुनाव नहार्ने गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा नै हुन् भने हार्नै नहुने हार्न लागे अनर्थको धमास दिएर थर्काएर पनि जिताउन बाध्य गराउने तपाईं यो देशको कठोरतम उपभोक्ता हुनुहुँदो रहेछ भन्ने अब बल्ल बुझ्दैछौं हामी ।
यी सबै कुरालाई विचार गर्दा तपाईंहरूका सम्मानमा भन्न मनलाग्छ ‘राष्ट्रिय लिच्चडको’ जयहोस् । देखिने काम गर्छु भनेर आएपछि त लग्भग त्रैमासिक सरकार परिवर्तन र गठभन्जन पनि त गराएर देखाई छाड्नुभयो । अब बिहान बोलेको बेलुका बिर्सने, बेलुका बोलेको कुरो मध्यरातमा परिवर्तन गर्ने भन्ने शब्दावलीले तपाईंको प्रशस्ती गाउन नसक्ने भए काम्रेड !!!
नीचैगच्छत्युपरि च दशाचक्रनेमिक्रमेण
जसरी रथको पाङ«ो क्रमैसँग तलमाथि भइरहन्छ त्यसैगरी मानवजीवनमा मात्र होईन यस ब्रहृमाण्डका सारा कुरामा परिवर्तन आउँछ भन्ने कुरो पनि नबुझेर कसरी भनौं तपाईंजस्तो सुपठितलाई । नेपाली जनताको सोझो, श्रमशील, विश्वासिलो स्वभावको दुरुपयोग धेरै गर्नुभयो कमरेड तपाईंले । संसदीय परम्पराका दृष्टिले तपाईंलाई अतिमहत्वाकांक्षी बनाउने काम शेरबहादुर देउवा र खड्गप्रसाद शर्मा ओलीले गरे भन्न सक्छन् भोलिको इतिहास लेखकले । ८९ सिट र ७९ सिट भएकाहरूले आ-आफ्ना रागका कारणले तपाईंलाई हली बनाएर आफूहरू पटक–पटक गोरु बनेर हलो तानेको इतिहासकारले नजर अन्दाज गर्न सक्लान् र ? हुन त बहुदलीय प्रजातन्त्रमा मतदाताको र अदालतको विरोध गर्न पाइँदैन । यी भन्दा विवेकशील र निस्पृह विधिका स्मारक अरू हुँदैनन् भन्ने मानिन्छ तापनि म ती मतदाता जसले रक्सी, मासु र द्रव्यमा आफ्ना पाँच संवत्सर साटे तिनलाई पनि दोषी देख्छु । हुनसक्छ आगामी दिनमा पनि तिनले यही गल्ती दोहोर्याउनेछन् । किनभने सधैं तेलपेल्न कोलमा जाँदा कोदो लाने भुल गर्नेले तेल देख्न पाउँछ र ? डा बाबुराम पनि पुत्री मोहमा परेर पुकदालाई गोर्खा छाडेको दुष्परिणाम आज देशले भोग्दैछ ।
त्यस्तै पेय, चर्वणखण्ड र किञ्चित् द्रव्यका लोभमा परेर डाँडेल्धुरेलीले गरेका पापको परिणाम आज सिंगो देश र जनताले भोगेको देखिएको छैन र ? अनि त्यसैगरी खगेन्द्र अधिकारी पाण्डवलाई रुवाएर द्रव्य, खानपान र धाक रवाफमा परेका झापालीका कृत्यको दुष्परिणाम आज हामीले ताता, नुनिला आँसु घुट्घुटी पिएर खप्नु परेको छैन र ? हुन त तपाईं गिरिजाबाबुपछि ‘म’ भन्नुहुन्थ्यो । हामीले बुझेनछौं । कांग्रेसमा कहिल्यै चुनाव नहार्ने गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा नै हुन् भने हार्नै नहुने हार्न लागे अनर्थको धमास दिएर थर्काएर पनि जिताउन बाध्य गराउने तपाईं यो देशको कठोरतम उपभोक्ता हुनुहुँदो रहेछ भन्ने अब बल्ल बुझ्दैछौं हामी ।
बुढाबुढी र बालबालिका देशमा । युवायुवति विदेशमा मोजमस्तीमा तपाईंहरू क्या गतिलो परिवर्तन ल्याउनुभयो होकि ? तपाईंलाई थाह छ काम्रेड ? दशानन रावणलाई ढालेपछि लक्ष्मणले यहीं राज्य गरेर बसौं दाजुभन्दा रामले के भनेका थिए-
अपिस्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।
जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
अर्थात् हेलक्ष्मण, यद्यपि स्वर्णमय छ लंका तर पनि मलाई रोग, भोक, दारिद्र्र, अभाव, अशिक्षा आदिले भरिएको मेरो अयोध्या नै राम्रो लाग्छ किनभने जन्मदिने आमा र आफ्नो राष्ट्रजति प्रिय केही र कोही पनि हुँदैनन् । जाउ रावणसँग राजनीति सिक तर जाने त अयोध्या नै हो भनेका थिए । तपाईंहरू त सत्ता र शत्तिका लागि जे पनि गर्नपछि नहट्ने पो हुनुहँदो रहेछ त । काम्रेड ! तपाईं कतै श्रीमद्भागवतमा दत्तात्रयकी एउटी गुरुका रूपमा चित्रित पिंगलाको कलियुगे अवतार त हुनुहुन्न ? राजनीतिलाई कमाइको भाँडो बनाउनुभयो तपाईंले भने पिंगलाले पनि त आफ्नो सौन्दर्यलाई कमाइको भाँडै त बनाइथी ।
उसका पनि घरमा आउने उपभोक्ता प्रथम प्रहरमा पूर्वबाट, द्वितीय प्रहरमा दक्षिणबाट, तृतीय प्रहरमा पश्चिमबाट र चौथा प्रहरमा उत्तरबाट आउँथे । एक दिन आसैआसमा रात बित्यो कोही आएनन् र भनिछ, ‘आशा हि परमं दुःखं नैराश्यं परमं सुखम्’ । निर्देशक तपाईंका जीवनमा ‘तेहि नो दिवसा गता’ नहोओस् है काम्रेड ! ।
Bitter Truth
commendable discourse
Adequate surgery of Notable persons
उम्दा र साहसी आलेख
पाईं भौतिकवादी दर्शनको अनुयायी हुँ भन्नुहुन्छ तर तपाईंमा दृढता लरबराएको छ । भौतिकवादीलाई पाप र धर्मको ख्याल हुँदैन । नेपाली भौतिकवादी भएर होला राँगोलाई दान पनि गर्नुभयो । मान्छे यस दुनियाँमा पूजित या निन्दित जे हुन्छ उसका निजी कृत्य/चरित्रका कारणले नै हुन्छ । कृषिप्रधान देशको कृषिविद् तपाईं भौतिकवादी विचारबाट प्रभावित भएर राजनीतिका क्षेत्रमा लाग्नुभएको रे ! शताब्दीयौंदेखिको नेपाली समाजमा रहेको थिचोमिचो, छुवाछूत, ईहलोक, परलोक आदि धारणाका कारणले भौतिकवादी दर्शनमा विश्वास गर्ने मान्छेलाई चित्त दुख्नु स्वाभाविक हो तर तपाईंका भौतिक-वादतिरका कदम फितला देखिन्छन् । तपाईंको विगत खोतलेर हेर्दा तपाईं जनताका नजरमा राजनेताभन्दा समस्या उत्पादकको जड देखिनु भएको छ ।