
गुल्मी । गुल्मीको मालिका गाउँपालिकालाई त्यहाँका सेवाग्राहीले सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासोसँगै सुझाव दिएका छन् । यहाँको वडा नम्बर–६, अर्जैको पोखराबारी खेलमैदानमा भएको सार्वजनिक सुनुवाइमा सहभागी सेवाग्राही तथा सरोकारवालाले पालिकालाई गुनासोसंगै सुझाव दिएका हुन् ।
विशेषगरी कार्यक्रममा सहभागी अधिकांस कृषक सेवाग्राहीहरुले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई कटौती गरेको आरोप लगाएका छन् । उनीहरुले अनुदान काट्नुभन्दा पनि वास्तविक किसान पहिचान गर्न जरुरी रहेको सुझाव दिएका छन् । जनताको मर्म र भावनालाई बुझेर काम हुनुपर्ने भन्दै सहभागीले खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा, रोजगार, सडक, खेलकुदलगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थिए । यहाँका विद्यार्थीहरुले कक्षा ११ र १२ को शिक्षा निःशुल्क गाउँपालिकाले व्यवस्था गरिदिनु पर्ने माग राखेका थिए ।
यस वडाका पूर्व वडाध्यक्ष शोभाखर गिरीले गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछि अघिल्लो जनप्रतिनिधिले ल्याएको उत्पादनमा आधारित अनुदानलाई कार्यक्रमलाई काटौती गर्न नहुने बताउनुभयो । नयाँ जनप्रतिनिधिले यस कार्यक्रमलाई कटौती गर्नुभन्दा वास्तविक किसान पहिचान गरेर उनिहरुलाई सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । पूर्व जनप्रतिनिधि र राजनीतिक दलसँग समन्वयको अभाव भएको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित योजना तथा कार्यक्रमको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको रहेको उहाँको भनाइ छ ।
नेकपा एमाले यस गाउँपालिका अध्यक्ष ओम कार्कीले पालिकाबाट अधिकांस ठूला तथा साना योजनामा रातारात उपभोक्ता समिति गठन गरी सार्वजनिक परीक्षण बिना नै भुक्तानी दिने गरिएको हुँदा यसलाई तत्काल रोक्नुपर्ने बताउनुभयो । यहाँ सबैभन्दा बढी शिलबन्दी र कोटेशन मार्फत भएको हुँदा यस कार्यलाई रोक्न आग्रह गर्नुभयो । स्थानीय शेरबहादुर नेपालीले गाउँपालिकामा भएका विकास तथा प्रशासनिक काम जनतामुखी नभएको बताउनुभयो ।
उहाँले विषयगत संयोजक, विभिन्न वडाका वडाध्यक्ष र शाखा प्रमुख समेत उपस्थिति नभएको हुँदा यो सार्वजनिक सुनुवाइ झारा टार्ने काम भएको भन्दै आगामी दिनमा यस्तो नगर्न सुझाव दिनुभयो । अर्का स्थानीय सीता अर्यालले गाउँमा बालविवाह र महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्ने हुँदा गाउँपालिकाले बालविवाह र महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरुलाई थप ल्याउन सुझाव दिनुभयो ।
त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत विकास खनालले गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका गतिविधिका बारेमा जानकारी गराउनुभयो । गाउँपालिका अध्यक्ष देविराम अर्यालले सेवाग्राहीबाट आएका गुनासालाई आगामी दिनमा सम्बोधन गर्ने र सुझावलाई पालिकाले सन्दर्भ सामग्रीको रुपमा लिएको बताउनुभयो । सेवाग्राहीबाट आएका गुनासा तथा जिज्ञासालाई यस वडाका वडाध्यक्ष दीपक भण्डारी र शाखागत कर्मचारीले सम्बोधन गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच