
निनु कर्ण
मध्याहृनको समय मधेसको ग्रामीण बस्तीमा खेतबारीकोे काम सकेर नजिकको पोखरी अथवा कलमा नुहाउने अनि घर गएर खाना खाने समय हुँदो रहेछ । अहिले आँप फल्ने मौसमको सुरुवाती समय भएको हुनाले ‘गाछी’ अर्थात् आँपको बगैंचामा एकजना कुरुवा बस्ने सानो खुला किसिमको स्थानीयस्तरमा उपलब्ध भएको खर, पराल र बाँसले निर्मित रखबारी घर बनाइएको प्रायजसो गाउँबस्तीका बगैंचाहरूतिर देखिन्छ । महोत्तरीको ऐतिहासिकस्थल मठिहानी पालिकाअन्तर्गत वार्ड नं-६ मा पर्ने जरलहवा गाछी भन्ने टोलमा आगोले हाहाकार मच्चाइदियो ।
१२ः३० बजेक मध्य समय तातो हावाको रापतापको समय अनि हावाको रफ्तार तेज हुनुका साथै अत्यधिक तापले भरिएको हावा । कोहीले काटिएको गहुँ समेटेको, कसैको बारीमा सागसब्जी लगाइएको हुँदा बिहानभरि गोडमेल गरेर त कोही आँपको संरक्षण गर्ने क्रमलाई एकछिनको निम्ति रोकेर आफ्नो दैनिकी स्नान ध्यान गर्दै खाना खाने तयारीमा घरतिर लम्किँदै गरेको समय थियो । रापतापले भरिएको हावासँगै आगोको सानो झिल्को उड्दै आयो र परालले बनाइएको गोठघरमा झर्यो । हेर्दा हेर्दै बस्तीभरि आगोको झिल्को उड्दै गयो सानो झिल्काले विकराल रूप लिँदै गयो आठ घण्टाको प्रयासपछि जब हावा शान्त भयो अनि आगो पनि शान्त भयो बस्तीलाई खरानी बनाएर ।
सिन्का-सिन्का जोडेर घर बसाएका हुन्छन ग्रामीण बस्तीका न्यून आयस्तर भएका परिवारका प्रत्येक सदस्यहरूले । घरपरिवारको सुख त्याग गरेर विदेशमा गई परिश्रम गरेर परिवारको पालनपोषण बालबच्चाहरूको शिक्षादीक्षाको व्यवस्थापन गरिरहेका हुन्छन् प्रत्येक परिवारको एकजना सदस्यले तर प्रकृतिको निर्ममताले क्षनभरमै सबै खरानी बनाइदिन्छ । आफ्नो आँखा अगाडि आफूले कष्ट सहेर जोहो गरेको निर्माण गरेको गृहस्थी खरानीमा परिवर्तन भएको असहृय पीडाको बयान गर्ने शब्दहरू हुँदैनन् । अहिले मधेसमा अत्यधिक तापक्रम बढेको छ, जसका कारण दिनहुँ आगलागी भएर बस्तीका बस्ती खरानी बन्दै गरेको छ । महोत्तरीको मठिहानी सप्तरीको चिम्टी, सर्लाहीका विभिन्न स्थानमा आगोले विकराल रूप लिएको देखिन्छ ।
मधेसमा केही दिनदेखि अत्यधिक गर्मीको कारण दिनहुँ कुनै न कुनै स्थानमा आगलागीका घटना भइरहेका छन् । तथ्यांकअनुसार सबैभन्दा बढी सिरहा तथा सबैभन्दा कम सर्लाहीमा यस्ता घटना भएको देखिन्छ । यसै गरी सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सामा आगलागीले क्षति पुर्याएको देखिन्छ ।
मधेसमा गर्मी अत्यधिक हुने हो तर दिनानुदिन जमिन तातिँदै गएका कारण हावामा अत्यधिक राप भएको महसुस गर्दैछन् तराईवासीले । हावामै तातोपन भएका कारण सानो आगोको झिल्का उड्दा पनि ठूलो विकराल रूपको कहरमा परिणत भएको पाइन्छ । सुख्खा बोटबिरुवा छन् भने भूइँमा झरेका पात सुकेका हुन्छन् र तातो हावाको तेज रफ्तारले त्यहाँ आगलागीका घटना निम्त्याइरहेको हुन्छ भन्ने भनाइ गाउँबस्तीमा बसोवास गर्ने स्थानीय बुढापाकाको रहेको हुन्छ ।
मधेसमा केही दिनदेखि अत्यधिक गर्मीका कारण दिनहुँ कुनै न कुनै स्थानमा आगलागीका घटना भइरहेका छन् । तथ्यांक अनुसार सबैभन्दा बढी सिरहा तथा सबैभन्दा कम सर्लाहीमा यस्ता घटना भएको देखिन्छ । यसैगरी सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सामा आगलागीले क्षति पुर्याएको देखिन्छ । प्रायः आगलागीबाट ग्रामीण बस्ती तथा न्यून आयस्रोत भएका परिवार बढी प्रभावित भएको पाइन्छ । लामो समयदेखि आकाशे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीले आगलागीका घटना अत्यधिक भएको पाइन्छ ।
उर्वराशक्तिले भरिएको माटो, पानीको स्रोतले भरिपूर्ण भएको तराई क्षेत्र ‘अन्नको भण्डार’ भनेर परिचित हुन्थ्यो प्राकृतिक दोहन र विनाशबाट अहिले मरुभूमिमा परिणत भएको छ । नदीनाला, पोखरी सबैजसो सुख्खा छ, जमिन सिञ्चित हुन पाएको छैन र माटोको उर्वराशक्ति विलिन भइसक्यो । जमिन सुख्खा भएकाले हावा तातिएको हुन्छ । यसले शहरीया बासिन्दाको जीवन झनै कष्टकर बनाएको छ । गर्मीयाम सुरु हुने बित्तिकै वनजंगलका सुख्खा झारपात तथा घाँसहरूलाई समाप्त पार्ने उद्देश्यले डढेलो लगाउने प्रवृत्तिले हावाको तापक्रममा वृद्धि हुने गर्दछ । वनजंगलको डढेलोको रापताप हावामा फैलिँदा आगलागीका घटनाले तीव्रता लिएको हुनसक्छन् ।
पहाडको छाती चिरेर हरियालीले भरिएको वनजंगललाई समाप्त पार्दै कंक्रिटको जंगल विकसित गर्ने विनाशकारी सोचले प्राकृतिक सौन्दर्यलाई नै जिस्क्याउन थालिएको छ । मानवीय क्रियाकलापले प्रकृतिलाई नकारात्मक असर परेको हुँदा परिणाम पनि मानवले नै भोग्नु परेको अवस्था हो प्राकृतिक प्रकोप । यसप्रति मानव जाति सचेत हुनुपर्ने हो । वनजंगलको डढेलोले तापक्रममा वृद्धि गराउँछ र त्यसको असर समतल भूभागको मैदानीमा पर्दै आएकाले तापक्रममा अत्यधिक वृद्धि हुनसक्छ । बढ्दो तापक्रमको परिणाम अहिले तराईवासीले भोग्नुपर्ने बाध्यता छ । झण्डै दुई दशकयता वनजंगलको विनाश, चुरे क्षेत्रको दोहन, नदीहरूबाट बालुवागिट्टीको निकाशी पनि तापक्रम वृद्धिको महत्वपूर्ण कारण हुनसक्ने विज्ञहरूको अनुमान छ ।
विभिन्न प्रजातिको बोटबिरुवा भएको वनजंगलमा अहिले मसालाको रूख बढी मात्रामा लगाइएको पाइन्छ । हल्का काठको रूपमा प्रयोग हुने यसलाई संरक्षण गर्न धेरै मिहिनेत नलाग्ने र वनजंगलमा खुला देखिने भएको हुँदा यो रूख रोप्नलाई बढी प्रोत्साहित गरेको पाइन्छ । प्रायः तराई क्षेत्रको वनजंगलमा मसालाको रूख देख्न सकिन्छ । जमिन सुख्खा बनाएको कारणमध्ये मसालाको रूख पनि हो भन्ने भनाइ विज्ञहरूको छ । यस रूखले दिनको सय लिटर जति पानी सोस्छ, वातावरणलाई हरियाली बनाउनमा खासै भूमिका हुँदैन । प्रदूषण न्यूनीकरण गर्ने र वर्षा गराउने प्रणालीमा यस्तो प्रकारको रूखहरूको भूमिका नरहेको अझ जमिनको पानी सोसेर रूखको वृद्धि विकास हुँदै गर्दा तराईको भूमि मरुभूमिमा परिणत भएको अनुमान गरिएको छ ।
राजनीतिक अस्थिरताले मानवजीवनको महत्वपूर्ण पक्षहरूमा ध्यान नपुगेको हुन सक्छ । यस्तो विकराल अवस्था सिर्जना हुनमा पूर्णरूपमा मानव दोषी छ । त्यसैले यसका लागि मानव जगत् नै सचेत हुन आवश्यक ठानिन्छ । प्रत्येक मानवले प्राकृतिक संरचनाको संरक्षण गर्ने प्रण गर्नुपर्ने समय आएको छ ।
धर्ती बल्दै छ । यसका कारण अनेकौं हुन सक्छन् तर महत्वपूर्ण कारण त विश्वको तापमान हो । अहिलेको समय मानिस भौतिक सुविधा साधन जुटाउने प्रतिस्पर्धामा अन्धो भएर क्रियाकलाप गर्दै छन् । पेट्रोल, डिजलबाट उत्पन्न भएको धुवाँले वातावरणमा पहिलेको अपेक्षाभन्दा कैयौं गुणा बढी कार्बनडाइअक्साइडले भरिएको छ जसबाट मौसमलाई तापमा बदल्नमा अहम् भूमिका खेल्दछ । प्रकाश संस्लेषण प्रणालीद्वारा बोट बिरुवाहरूले पर्यावरणलाई सन्तुलन बनाउन अहम् भूमिका खेल्ने प्राकृतिक अवस्था नै खल्बलिएको छ । अत्यधिक उपभोग, असन्तुलित जीवनशैली र प्राकृतिक स्रोतहरूको अत्यधिक उपयोगको परिणाम स्वरूप आज प्राकृतिक सन्तुलनलाई विनाश गरेको कुरा त सर्वविदितै छ । वनजंगलको विनाश, वन्यजन्तुको हत्या, नदीनाला सुख्खा र क्षणिक फाइदाकारक विकासको परिणामले धर्ती नै जलिरहेको छ ।
भौतिक सुखसुविधाको भोगविलासको प्रतिस्पर्धामा मानवले खुट्टा टेक्ने स्थान धर्तीलाई पनि दोहन र शोषण गर्न छाडेका छैन । प्रकृतिले मानवजीवनको बाँच्ने आधारको संरचना तयार बनाएर उपहार दिएको तर लोभीलालची मानवीय सोच व्यवहारले आज प्राकृतिक संरचनालाई तहसनहस बनाइसकेको अवस्था छ । माटो, पानी, हावा सबै प्रभावित बनेका छन् । मानवीय क्रियाकलापले रिस-रागको तापले हावाको माध्यमबाट मानिसलाई सेकिरहेको छ तर स्वार्थी मानवसमाज प्रकृतिको चित्कारलाई तिरस्कार गरिरहेको छ । परिणाम अबोध र सोझोसाझा मानवहरू भोग्दैछन् । जहाँ छाक टार्न बिहान-बेलुका परिश्रम गर्दै छन् र सानो झुप्रो बनाई जीवन बिताइरहेका छन्, गाईवस्तु पालेर जीविकोपार्जनका आयस्रोत जुटाइरहेका छन् ।
त्यहाँ प्रकृति दोहनका कारण कोलाहल मच्चिन्छ, त्यहाँ आगलागी हुने गर्दछ र सर्वस्व जलेर क्षणभरमा खरानी हुने रहेछ । यो विडम्बना नै हो । खेतीयोग्य जमिन सबै सुख्खा छ, खानेपानीको स्रोत चापाकलबाट पानी आउन बन्दभइसक्यो, बोटबिरुवाहरू सुक्दै छन्, चराचुरुंगीहरू पानी खान नपाएर मार्दै छन्, ४४ डिग्रीको तापमान छ, हावा तेज छ तर तातो छ । चुरे संरक्षणका सरकारी योजनाहरू थन्किएको अवस्थामा वर्षौंदेखि थन्किएका छन् । चुरे विनाशकै कारण तराई क्षेत्र मरुभूमिमा परिणत भइरहेको छ, जसले तराईवासीको जीवन कष्टकर बन्दै छ । वनजंगलको संरक्षण, जलाधार संरक्षण, फोहोर व्यवस्थापन, आवास क्षेत्रको व्यवस्थापन र बढ्दो शहरीकरणलाई समयमा उचित व्यवस्थापन गर्न नसक्ने गरी प्राकृतिक विपद्को चपेटामा मानव फसेको हो ।
राजनीतिक अस्थिरताले मानवजीवनको महत्वपूर्ण पक्षहरूमा ध्यान नपुगेको हुनसक्छ । यस्तो विकराल अवस्था सिर्जना हुनुमा पूर्णरूपमा मानव दोषी छ । त्यसैले यसका लागि मानव जगत् नै सचेत हुन आवश्यक ठानिन्छ । प्रत्येक मानव प्रकृतिप्रति सचेत हुने र प्राकृतिक संरचनाले संरक्षण गर्ने प्रण गर्नुपर्ने समय आएको छ । जमिनको पानी सुक्नु भनेको प्रलयको संकेत हो भन्छन् धर्मगुरुहरू । मानवले पर्यावरणको रक्षा गर्न सचेतनामूलक अभियान चलाउँदै प्रकृतिलाई बचाउनुपर्ने समय छ ।
प्रत्येक व्यक्तिले धर्तीको महत्व बुझ्नु आवश्यक छ । धर्ती बचाउनुसक्यो भनेमात्र मानवजीवन बाँच्न सक्छ । प्राकृतिक संरचना मानवजीवनको अनमोल धरोहर हो जसले बाँच्ने आधार निःशुल्क उपलब्ध गराउँदै आएको छ । धर्तीलाई संरक्षण गरौं, तापक्रम वृद्धि हुनबाट रोकौं र जलिरहेको मधेस भूमिलाई जोगाउन हिमाल, पहाड, तराई सबै जागौं । धर्ती जल्नु एक चिन्ताजनक विषय हो, जसले मानव जगतलाई सावधान गराउनका निम्ति घच्घच्याइरहेको छ । सुगा, महोत्तरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच