
काठमाडौं । जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रम तथा नेपाली लेखक संघको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम सम्पान्न भएका छन् । पहिलो चरणको कार्यक्रम ‘हाम्रो बाटो हाम्रो गन्तव्य’ शीर्षकमा सम्पन्न भयो । कार्यक्रम नेपाली लेखक संघका सभापति तीर्थ श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा संविधानसभा सदस्य अमरसिंह पुन प्रमुख अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा माननीय प्रतिमा गौतम, गण्डकी प्रदेशका सांसद डिल्लिराम सुवेदी, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरे, मनोजमणि आचार्य, शकुन्तला खतिवडा दाहाल अतिथिका रूपमा रहनुभएको थियो ।
मित्रसेन दाहाल प्रतिष्ठानका अध्यक्ष हरि दाहालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा नेपाली लेखक संघका सहअध्यक्ष रत्नमणि नेपालले कार्यक्रममको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । मनोज न्यौपानेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विश्लेषक अरुण सुवेदीले ‘हाम्रो बाटो हाम्रो गन्तव्य’ विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको वर्तमा आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र परराष्ट्र सम्बन्धसम्बन्धी अवस्थाको चित्रण गर्दै अबको बाटो बारे बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुन, अतिथिहरू गौतम, सुवेदी तथा अन्त्यमा सभापति तीर्थ श्रेष्ठले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । २८ गते शुक्रबार बेलुका लप्सेफेदी मैत्रीआश्रममा आयोजित कार्यक्रमपछि भोलिपल्ट २९ गते शनिबार अन्य विभिन्न कार्यक्रम सम्पन्न भएका थिए ।
शनिबारको पहिलो कार्यक्रम लाइन्स क्लब आफ ओखलढुंगाले मैत्रीसेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको थियो । लाइन्स क्लब अफ ओखलढुंगाका अध्यक्ष पुस्कर अर्यालद्वारा दाल, चामललगायत खाद्य सामग्री हस्तातरण गरिएको थयो । यसैगरी समाजसेवी नरबहादुर कटुवालले पनि आश्रममा बस्नेहरूका लागि केही खाद्य सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो ।
तेस्रो चरणको कार्यक्रम मैत्री सेवाआश्रमकै सभाकक्षमा भएको थियो । जेपी प्रतिष्ठानका अध्यक्ष शकुन्तला दाहालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा मित्रसेन दाहाल प्रतिष्ठानका अध्यक्ष हरि दाहालले मैत्रिआश्रमको समग्र परिचय गराउनुभएको थियो । ‘सबैका मित्र मित्रसेन’ विषयमा आयोजित कार्यक्रम बिहान आठ बजे सुरु भएको थियो । प्रा. पुरुषोत्तम दाहालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रमुख अमरसिंह पुन प्रमुख अतिथि रहनुभएको थियो । यस कार्यक्रममा आश्रमका परिकल्पनाकार मित्रसेन दाहालसम्बन्धी ‘बहुमुखी व्यक्तित्व मित्रसेन दाहाल’ र ‘मित्र-विचारमाला’ पुस्तकहरू सम्पादन गर्नुभएका विनोद दाहालले मित्रसेनबारे उहाँको व्यक्तित्वमाथि प्रकाश पार्दै आफूले सम्पादन गरेका पुस्तकहरू सम्पादन गर्दाका अनुभवहरू बताउनुभएको थियो ।
यसैगरी डा.ज्ञानु पाण्डेले मित्रसेन दाहालका विविध व्यक्तित्व बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति पुरुषोत्तम दाहालले लेखकहरू सधैं सत्तासँग नजिक बन्ने होइन स्वतन्त्र भएर लेखन कार्यमा लाग्नुपर्छ भन्नुभयो । ‘हामी लेखनमा वर्ग खडा गर्दैनौं वर्गलाई नजिक ल्याउने प्रयास गर्छौ’, उहाँले भन्नुभयो । वर्ग दुश्मन बनाएर अघि बढ्ने काम प्रजातन्त्रवादीहरूको होइन भन्दै उहाँले स्वतन्त्रताकर्मीहरू एक ठाउँमा उभिन सक्नुपर्छ भन्नुभयो । उहाँले मित्रसेन दाहालसँगको आफ्नो सानिध्यका सम्बन्धमा पनि केही दृष्टान्तका साथ प्रकाश पार्नुभयो ।
चौथो वा अन्तिम चरणको कार्यक्रमका रूपमा रचना वाचन कार्यक्रम आयोजना भएको थियो । दिनको एक बजे सुरु भएको उक्त कार्यक्रम तीन बजेसम्म सञ्चालन भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा विभिन्न २६ जना कविहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो । कवि हेम प्रभासले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आआफ्ना रचना वाचन गर्ने कवि, कवयित्रीहरूमा सोझो गाउँले, बाबु साहेब, मोतीराज बम, दुर्गाकिरण तिवारी, गीता निरौला भण्डारी, हयग्रीव आचार्य, बिमुन्स पौडेल, विनोद दाहाल वत्स, डा.विष्णु केसी, राजेन्द्र गुरागाई, ए.के.एन.गोगने, वशिष्ठ अधिकारी, भावुकराज न्यौपाने, बिसुकुमार केसी, कविता उपाध्याय र आयुस खनाल रहनुभएको थियो ।
यसैगरी कविता वाचन गर्ने अन्य कविहरूमा अर्चितबाबु मर्सिपूmल, गीता रेग्मी, राधिका गुरागाई, दामु मर्सिपूmल, डा.शैलेन्दुप्रकाश नेपाल, डा.रत्नमणि नेपाल, पुरुषोत्तम दाहाल, नवीनचन्द्र घिमिरे, गोविन्द लुइँटेल र हेम प्रभास रहनुभएको थियो । शैलेन्दुप्रकाश नेपालको अध्यक्षताको समितिले तयार पारेको घोषणापत्र डा.नेपालले कार्यक्रमा पढेर सुनाउनुभएको थियो भने जेपी प्रतिष्ठानकी अध्यक्ष शकुन्तला खतिवडा दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरी डा.रत्नमणि नेपालले प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति विष्णुविभु घिमिरेले यसरी यस प्रकारका साहित्यिक तथा वैचारिक बहसका कार्यक्रम आयोजना हुनु खुसीको कुरा रहेको बताउँनु भयो ।
कार्यक्रममा काठमाडौं उपत्यका बाहिरबाट पनि कवि कवयित्रीहरूको उल्लेख्य सहभागिता थियो । रोल्पाबाट आउनुभएकी कवयित्री कविता उपाध्याय बेला-बेलामा राजधानीमा यस प्रकारका कार्यक्रमहरू भइरहने हो भने आफूजस्ता उपत्यका बाहिरका साहित्यकारहरूलाई समेत प्रेरणा मिलिरहने बताउनुहुन्छ । यसैगरी अर्का कवि नवीनचन्द्र घिमिरे यस कार्यक्रमले आफ्नो लेखन कार्यमा ऊर्जा थपिदिएको प्रतिक्रिका व्यक्त गर्नुहुन्छ । विराटनगरबाट आउनुभएका कवि दम्पती राजेन्द्र गुरागाई र राधिका गुरागाईको प्रक्रिक्रिया पति यस्तै छ । गुरागाई दम्पती मोफसलमा बसेर लेख्नेहरूका लागि राजधानीले बेलाबेलामा यसरी नै ऊर्जा भरिरहनुपर्छ भन्ने छ । हेटौंडाबाट सहभागी बन्नुभएको हयग्रीव आचार्य यस कार्यक्रमले आफूलाई अरू थप प्रोत्साहित गरेको बताउनु हुन्छ । यस अवसरका लागि नेपाली लेखक संघ र जेपी मैत्री सेवाआश्रमप्रति उहाँहरू संयुक्त रूपमा आभार प्रकट गर्नुहुन्छ ।
सुन्दर कार्यक्रम। जेपि प्रतिष्ठान प्रति हार्दिक आभार