
नदीसँग मानवको प्रत्यक्ष सम्बन्ध रहेको छ । संसारका यावत् सभ्यता यिनै नदी किनारबाट नै आरम्भ भएको पाइन्छ । नदीलाई मानवले जीवनको आधारस्थल बनाएका छन् । सृष्टिको आदिदेखि नै नदीको विशेष महिमा गान गरेको पाइन्छ । चाहे पौरस्त्य शास्त्र हुन् चाहे पाश्चात्य शास्त्रीय परम्परा । अध्यात्मको केन्द्रका रूपमा नदीले मुख्य भूमिका खेलेको पाइन्छ । नदीसँगै मानव जीवनको पनि आधारस्थल तय भएको कुरा इतिहास र वर्तमानले दर्शाएका छन् ।
सिन्धु घाँटीको सभ्यता सिन्धु नदीको किनारबाट आरम्भ भएको हो । आजको हिन्दूसभ्यता पनि यही सिन्धु नदीको किनारबाट आरम्भ भएको मानिन्छ । मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ । यो सभ्यता पनि मध्यअफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा अवस्थित छ । मेसोपोटामियाको सभ्यताको विकास दुई नदीहरू (टिग्रिस र युफ्रेटस) को बीचमा भएको थियो । टाइवर नदीको किनारमा रोम सभ्यताको विकास भएको थियो । चीनको सभ्यता हाङ नदी किनारबाट आरम्भ भएको मानिन्छ ।
पौरस्त्य वाङ्मयमा नदीको विशेष महिमा गान गरिएको छ । भागिरथी गङ्गाले सर्वत्र पावन बनाएका ऐतिहासिक कथा प्रसङ्ग पाइन्छन् । नदीले इहलोकका साथै पारलौकिक मुक्ति प्रदान गर्ने कुरा पनि शास्त्रमा वर्णन पाइन्छ । गङ्गाको नाम नै पवित्रको पर्याय बनेको पाइन्छ ।
यसरी हेर्दा विश्वका जेजति प्रमुख मानव सभ्यताहरू आरम्भ भएका छन् र वर्तमानमा पनि विद्यमान छन् अधिकांश नदी किनाराबाटै आरम्भ भएका पाइन्छन् । आधार नदीलाई नै बनाए मानव विकासको आरम्भ भएको पाइन्छ । आज पनि विश्वका मुख्यस्थलहरू नदी वा समुद्रको आसपासमा नै विद्यमान पाइन्छ । सैन नदीको किनारमा फ्रान्सको पेसिर सहर, हड्सन नदीको किनारमा न्युयोर्क, थेम्स नदीको किनारमा लन्डन सहर, वागमती विष्णुमती नदीको किनारमा काडमाडौं आदि थुप्रै सहरले नदीलाई नै केन्द्रबिन्दु बनाएको पाइन्छ ।
पञ्चतत्त्वमध्ये एक पानीको मुख्य स्रोत नदी रहेको र नदीले नै एक स्थानबाट अन्य स्थानमा मार्ग तय गर्न अनि मानव जीवनका लागि पानीलगायत अन्य वस्तुको पनि आपूर्ति सहज हुने भएकाले पनि हुन सक्छ नदीलाई केन्द्रमा राखेको पाइन्छ । विश्वको भूराजनीतिलाई पनि नदीले विशेष प्रभाव पारेको देखिन्छ । नक्साङ्कनका निम्ति पनि नदीलाई आधार बनाइएको पाइन्छ । अधिकांश स्थानको भौगोलिक सीमाना नदीले तय गरेका छन् । नेपालकै पनि पूर्वमा मेची र पश्चिममा महाकाली नदी सीमा स्तम्भका रूपमा रहेका छन् । विश्वको नक्साङ्कनका साथै पहुँच विस्तारका निम्ति पनि नदी सहायक हुने भएकाले नदी राजनीतिको पनि मुख्य केन्द्र रहेको हुनसक्छ ।
आजका अधिकांश बाटाहरू नदीकै किनारबाट बनाइएका छन् । बीपी राजमार्ग, त्रिशूलीकरिडोर मार्ग, गण्डकी करिडोर मार्ग आदि यसका प्रत्यक्ष उदाहरण हुन् । यसैगरी नदी वारिपारिको संस्कृतिमा पनि केही भिन्नता पाइन्छन् । वारिको मूल्य, मान्यता र भाषाभन्दा पारिको मूल्य, मान्यता र भाषामा सूक्ष्म रूपमा भिन्नता रहेको पाइन्छ । जनसम्पर्कको अभावले पनि यस्तो भएको हुन सक्छ । स्थानीय स्तरका भौगोलिक सीमा निर्धारक पनि साना ठूला नदी नै बनेका छन् । भौगोकि वर्गीकरणमा नदीले प्रमुख भूमिका खेलेको देखिन्छ । जसले हाम्रा सभ्यतामा पनि केही भिन्नपन प्रतीत भएको हुनसक्छ । नदीले जनसम्पर्क दूरी बढाएका कारण पनि संस्कृति र सभ्यतामा भिन्न रहेको हुनसक्छ ।
पौरस्त्य वाङ्मयमा नदीको विशेष महिमा गान गरिएको छ । भागिरथी गङ्गाले सर्वत्र पावन बनाएका ऐतिहासिक कथा प्रसङ्ग पाइन्छन् । नदीले इहलोकका साथै पारलौकिक मुक्ति प्रदान गर्ने कुरा पनि शास्त्रमा वर्णन पाइन्छ । गङ्गाको नाम नै पवित्रको पर्याय बनेको पाइन्छ । गङ्गा नदीको किनारमा नै देवप्रयाग, ऋषिकेश, हरिद्वार, प्रयाग, काशी विश्वनाथजस्था पवित्र देवस्थली रहेका छन् । श्रीमद्भागवतको कथा पनि राजा परीक्षितले गङ्गा नदीको किनारमा नै श्रवण गरेका हुन् । यसै गरी भगवान् श्रीकृष्णले यमुना नदीमा गरेका बालक्रीडाको वर्णन श्रीमद्भागवतको दशमस्कन्धमा उल्लेख छ । कौशिक ऋषिले तपस्या गरेको कोशी नदीको पनि विशेष महिमा पुराणमा वर्णन पाइन्छ ।
नदीको सान्निध्य देवताले मात्र नभई मानवले पनि प्रिय मानेका स्थान हुन् । नदी किनारबाट नै मानव सभ्यताको विकास भएको पाइन्छ । आध्यात्मिक दृष्टिका साथै भौतिक सुविधाका निम्ति पनि नदी कल्यणकारी भएकाले मानव सभ्यताका निम्ति प्रिय रहेको हुनसक्छ ।
वराहक्षेत्र धाम कोशीकै किनारमा अवस्थित छ । कृष्णगण्डकी स्वयं विष्णुप्रभा हुन् । मुक्तिनाथ मन्दिर पनि कालीगण्डकीको किनारमा अवस्थित रहेकाले पनि नदी र तीर्थस्थलको सान्निध्य प्रष्ट हुन्छ । गण्डकीको महिमा स्कन्दपुरणमा वर्णन पाइन्छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमतीको पनि विशेष महिमा रहेको छ । भगवान् पशुपतिनाथको मन्दिर यही बागमतीको किनारमा अवस्थित रहेको कुरा नेपाल माहात्म्यमा वर्णन पाइन्छ । सरयूनदीको किनारमा भगवान् श्रीरामको जन्मस्थल अयोध्यापुरी रहेको कुरा रामायणमा वर्णन गरिएको छ । व्यासको जन्म पनि नदीमै भएको उल्लेख पाइन्छ ।
पराशर ऋषि र मत्स्यगन्धा (सत्यवती) बाट नदी पार गर्ने समयमा त्यही गर्भाधान भई नदीमै जन्म लिएका व्यासको महिमा पुणामा वर्णन गरिएको छ ।
‘गङ्गे च यमुने चैव गोदावरी सरस्वती ।
नर्मदे सिन्धुकावेरी जलेस्मिन् सन्निधिं कुरु ।।’
भनी स्नान गर्ने समयमा गङ्गा, यमुना, गोदावरी, सरस्वती आदिको स्मरण गर्ने विधान पाइन्छ । जसले पवित्रता प्राप्त हुने कुरा पौरस्त्य कर्मकाण्ड पद्धतिमा उल्लेख छ । यसरी हेर्दा नदीको वर्णन पौरस्त्य वाङ्मयमा विशद् गरिएको पाइन्छ ।
पौरस्त्य वाङ्मयमा नदीलाई पवित्र गङ्गाका रूपमा पुकारिन्छ । नदीलाई देवीका रूपमा पूजा गर्ने पूर्वीय परम्पराका साथै पाश्चात्य परम्परा पनि रहेको पाइन्छ । संसारमा कुनै न कुनै रूपले नदीको व्याख्या गरिएको नै छ । महिमागान गरिएको नै पाइन्छ । चाहे सभ्यताको हिसाबले होस् चाहे उपयोगका हिसाबले होस् । पवित्र वस्तुका रूपमै सम्मान गरिएको छ । साहित्यशास्त्रमा पनि नदीको व्याख्या विशद् गरिएको छ । नदी सम्बद्ध कथा कविता एवं काव्य थुप्रै पाइन्छन् । जल जीवन पनि भएर हुनसक्छ, समाज विकासको मुख्य आधार नदी नै बनेका पाइन्छन् ।
मुख्य तीर्थस्थल पनि यिनै नदीको आसपासमै विद्यमान् छन् । फाल्गुनन्द नदीको किनारमा गया, गङ्गा, यमुना र सरस्वतीको सङ्गम प्रयाग, गङ्गा नदीकै किनारमा अवस्थित काशी विश्वनाथ, यमुना नदीको किनारमा मथुरा, सरयू नदीको किनारमा अयोध्यापुरीलगायत नेपालका बराहक्षेत्र, देवघाटलगायत कोशी गण्डकी कर्णाली नदीकै असपासमा विभिन्न देवी देवताका मन्दिर विद्यमान छन् । यसबाट नदी र देवक्रीडाभूमिको अन्तरसम्बन्ध पनि घनिष्ठ रहेको पाइन्छ ।
सडक एवं बाटाघाटा पनि यिनै नदीलाई नै आधार मानी तय गरिएका छन् । नदी किनारमा मानव बस्ती बस्न सहज र आनन्ददायक हुने भएकाले पनि हुनसक्छ हरेक नदीका किनार विशेष रहेको पाइन्छ । देवताको पनि क्रीडास्थल नदी भएकाले मानव सभ्यताका सहायकका रूपमा नदीले मुख्य भूमिका खेलेको पाइन्छ । भगीरथले आफ्ना पूर्खा तार्नका निम्ति पनि नदीकै आहृवान गर्नुपरेको थियो । सोही तपस्याको बलले गङ्गाको उत्पत्ति भएको पाइन्छ । नदीका संगमस्थल पनि विशेष महत्त्वका छन् । संगमा तीर्थस्थल रहनु मानिनुले पनि नदीको विशेष महिमा रहेको पाइन्छ । देवघाट, त्रिवेणी धाम, देवप्रयाग, प्रयाग आदिस्थानको विशेष महिमा पाइन्छ ।
शालीनदीको महिमा श्रीस्वस्थानीव्रतकाथामा उल्लेख छ । यही नदीकै किनारामा तपस्या गरेर जीवन सथार्थक भएका प्रसङ्ग पुराणमा पनि वर्णन पाइन्छन् । नदीको सान्निध्य देवताले मात्र नभई मानवले पनि प्रिय मानेका स्थान हुन् । नदी किनारबाटै मानव सभ्यताको विकास भएको पाइन्छ । आध्यात्मिक दृष्टिका साथै भौतिक सुविधाका निम्ति पनि नदी कल्यणकारी भएकाले मानव सभ्यताका निम्ति प्रिय रहेको हुनसक्छ । नदीको सबै फाइदा नै भने छैनन् । नदी किनार वर्षा याममा जोखिमपूर्ण पनि रहनसक्छन् । गुण दोष सबैका हुन्छन् ।
नदीका पनि गुणपक्षको उपयोग सर्वकल्याणकारी रहने कुरा विगत र वर्तमानबाट जान्न सकिन्छ । समग्र रूपमा हेर्दा नदीलाई जीवन दायिनीका वस्तुका रूपमै आममानवले स्वीकारेको पाइन्छ । अविनाशी शुद्ध तत्वको स्रोत हुने भएकाले पनि नदीको विशेष महिमा रहेको छ । यसैले हरेक सभ्यताको आधार आरम्भबिन्दु नदी नै भएको पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच