
लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन हुने घोषणा गर्नुभएको छ । ‘बिहान मैले संसद् विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आमनिर्वाचन हुनेछ’, बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भन्नुभयो ।
नयाँ तथ्यांकले देशमा मुद्रास्फीति तीव्र रूपमा (दुई दशमलव तीन प्रतिशतमा) झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्रीको यो घोषणा आएको हो । करिब तीन वर्षमा यो तथ्यांक सबैभन्दा कम हो । सत्तारुढ कन्जर्भेटिभ पार्टीले यसलाई एउटा उत्साहजनक उपलब्धि मानेका छन् ।
सन् २०२३ जनवरीमा प्रधानमन्त्रीको पाँचवटा प्रतिज्ञामध्ये मुद्रास्फीति न्यूनीकरण पनि समावेश रहेको थियो । सन् २०२२ जुनको अन्त्यमा मुद्रास्फीति २२ प्रतिशतभन्दा माथि पुगेको थियो । सुनकले हालको यो तथ्यांक देशको अर्थतन्त्रका लागि प्रमुख उपलब्धि र उज्ज्वल भविष्यको प्रतिबिम्ब रहेको बताउनुभयो ।
बेलायतमा कन्जर्भेटिभ पार्टीले १४ वर्षदेखि सत्ता सम्हाल्दै आएको छ । यसले हालैका वर्षमा सुस्त आर्थिक वृद्धिदेखि राजनीतिक अस्थिरतासम्मका चुनौतीहरूको सामना गर्नुपरेको छ । पार्टी नेतृत्वको बारम्बार परिवर्तनले कन्जर्भेटिभ पार्टीभित्रको अस्थिरतालाई देखाउँछ । पछिल्लो युगोभ सर्वेक्षणका अनुसार टोरीहरू (कन्जर्भेटिभ पार्टी) हाल आफ्नो मुख्य प्रतिद्वन्द्वी लेबर पार्टीभन्दा पछाडि रहेका छन् ।
ग्रीष्मकालमा हुने चुनावका लागि सुनकको आहृवानप्रति प्रतिक्रिया दिँदै श्रम नेता किर स्टारमरले भन्नुभयो, ‘यो देशले चाहेको र पर्खिरहेको क्षण हो । देशको भविष्य तपाईँको हातमा छ ।’ ‘हामी अराजकता रोक्न सक्छौँ, पृष्ठ घुमाउन सक्छौं र बेलायतको पुनर्निर्माण गर्न र हाम्रो देश परिवर्तन गर्न सुरु गर्न सक्छौं’, उहाँले थप्नुभयो ।
लिबरल डेमोक्र्याटका नेता एड डेभीले भन्नुभयो, ‘यो सरकार जनताको सम्पर्क बाहिर छ । यो कन्जर्भेटिभ सरकारलाई फ्याक्ने समय हो ।’ मे ३० मा बेलायती संसद् औपचारिक रूपमा विघटन हुनेछ र त्यसपछि चुनावी अभियान जुलाई ४ को मतदानको दिनसम्म चल्नेछ ।
सुनकको घोषणापछि बकिङ्हम प्यालेसबाट आएको एक विज्ञप्तिमा भनिएको छ, ‘शाही परिवारले सामान्य प्रक्रिया अनुसार चुनावी अभियानबाट ध्यान विचलित गर्ने र हुने कार्यक्रमहरू स्थगित गर्नेछ ।’ ‘हालैका आर्थिक तथ्यांकहरूलाई ध्यानमा राख्दै आमचुनावको घोषणा कुनै वास्तविक आश्चर्यको कुरा थिएन । देशको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको छ र यो रणनीति परिवर्तन गर्ने समय होइन भनी वर्तमान सरकारले तर्क गर्नसक्छ’, बर्मिघंम विश्वविद्यालयका प्राध्यापक जोन ब्रायसनले भन्नुभयो ।
लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई) का प्राध्यापक इयान बेगले कन्जरभेटिभ पार्टी ‘जनमत सर्वेक्षणमा धेरै पछाडि रहेको’ र लेबर पार्टीको ‘परिवर्तनको समय’ को कथा मतदाताहरूसँग प्रतिध्वनित भएको बताउनुभयो । लिभरपुल विश्वविद्यालयका प्राध्यापक जोन टोङले यो एउटा असाधारण निर्णय भएको बताउनुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच