काठमाडौं । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा मुलुकका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आरोप-प्रत्यारोप चलेको छ । गिरीबन्धु टी-स्टेटको जग्गाबारे सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोपको शृंखला चलिरहेको छ । झापाको गिरीबन्धु टी-स्टेट कम्पनीको चियाबगान स्थानान्तरणका लागि तीन वर्षअघि कानुन संशोधन गरेर अनुमति दिएको विषय फेरि चर्किएको छ । सो निर्णयविरुद्ध परेको रिटमा हालै सर्वाेच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै कांग्रेसले यसको पनि छानविन हुनुपर्ने माग अघि सारेको छ । एमालेले भने प्रतिवादमा उत्रिएको छ ।
सोही प्रकरणलाई लिएर कांग्रेस र एमालेका नेताहरूबीच सार्वजनिक रूपमै आरोप-प्रत्यारोप चलेको छ । सत्तारूढ दल नेकपा एमालेले गिरीबन्धु टी-स्टेटमा कांग्रेस नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेको भन्दै आपत्ति जनाएको छ । यसैबीच सोमबार बिहान नेकपा एमालेले कांग्रेसलाई दिएको चेतावनीपछि यसबारेको बहस झनै पेचिलो बन्दै गएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे आरोपहरू सुनेर नबस्ने चेतावनी दिनुभएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानविन समिति बनाउने विषयमा बसेको सत्ता र विपक्षी दलका नेताहरूको बैठकपछि उपाध्यक्ष पौडेलले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा कांग्रेसले टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको टिप्पणी गर्दै भन्नुभयो, ड‘एउटा असान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको छ पछिल्ला दिनमा नेकपा एमालेका विरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरूको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु । नेपाली कांग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरूबाट पछि हट्दैन भने नेकपा एमाले राजनीतिक रूपमा प्रतिवादमा उत्रिन्छ ।’ पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको आरोप लगाउँदै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपका प्रति लिखित रूपमा क्षमायाचना गर्नुपर्दछ । सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा कांग्रेससँगको हाम्रो सम्बन्ध ठीक ढंगले अघि बढ्न सक्दैन । कांग्रेसले बुझोस्, नेकपा एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरू सुनेर बसिरहने पक्षमा छैन ।’
महामन्त्री शर्माको जवाफ, ‘अरूलाई लगाएको आरोपमा चाहिँ छुट, प्रतिवाद गर्न चाहिँ सोध्नुपर्ने ?’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा कांग्रेसमाथि लगाएको आरोपको प्रतिवाद गर्ने छुट आफूहरूसँग रहेको बताउनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा सोमबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘संविधान बनाउँदा हामी सँगै थियौँ । गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेससँग छ । किनभने यो उत्तर कोरिया होइन नेपाल हो ।’ सर्वोच्चले पूर्णपाठ सार्वजनिक गरेपछि ओलीले कांग्रेसमाथि हुँदै नभएको आरोप लगाएपछि कांग्रेसले तथ्यसहित प्रतिवाद गरेको प्रष्ट पार्दै महामन्त्री शर्माले भन्नुभयो, ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेको छ । कांग्रेसको कसैले केही पनि प्रतिक्रिया दिएको थिएन । पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ? कांग्रेसको तर्फबाट मैले महामन्त्रीको हैसियतले सहकारी बन्धु भनेर बोलेको हुँ । उहाँले आरोप लगाएपछि हामीले तथ्य राखेका हौँ । कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौनधारण गरेर त हुँदैन नि ।’
एमाले उपाध्यक्ष पौडेलको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले यसको फायर को बाट खुलेको हो ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘नेकपा एमालेको वरिष्ठ नेताबाट यस्तो खालको अभिव्यक्ति सुनेँ । पहिलो कुरा, यसको फायर कसले खोलेको हो ? योभन्दा पहिला नेकपा एमालेको अध्यक्षले नै सार्वजनिक रूपमा नै नेपाली कांग्रेसले गिरीबन्धुको जग्गा बेच्यो भनेर आरोप लगाउनुभएको थियो, त्यो कुरा पनि एकपटक सुनिदिनुप¥यो ।’ आफ्नो पार्टीका नेताबाट आएकै अभिव्यक्तिलाई लिएर उपाध्यक्ष पौडेलले प्रतिक्रिया दिनु एमालेले आफैँ कमजोरी प्रस्तुत गरेको टिप्पणी गर्दै परियारले भन्नुभयो, ‘५१ बिघा जमिन कांग्रेसले बेच्यो भन्नुभयो, त्यसको बारेमा पनि छानविन गरौँ न त । सर्वोच्च अदालतबाट जे फैसला आएको छ त्यसबारे सार्वजनिक रूपमा मिडिया सञ्चारले टीका टिप्पणी गरेका छन् । हाम्रो पार्टीको नेताले जुन अभिव्यक्ति दिनुभएको छ, त्यही अभिव्यक्तिमै प्रतिक्रिया दिनुभएको छ, उहाँहरूले राजनीतिक दललाई जुन खालको आरोप लगाउनुभएको छ, आफैँ कमजोरी प्रस्तुत गर्नुभएको छ कि जस्तो लाग्छ ।’
गिरीबन्धुको जग्गा घोटाला छानविन गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरीबन्धु टी-स्टेट घोटालाको छानविन गर्न सरकारसँग माग गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ, ‘गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा ठूलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन् । यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानविनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ ।’
तत्कालीन केपी ओली नेतृत्वको सरकारले १३ असार ०७८ मा बसेको मन्त्रिपरिषद् बैठकबाट ३४३ बिघाको चियाबगान स्थानान्तरण गरी बिर्तामोडमा रहेको चिया बगानको जग्गा बिक्री गर्न सहमति दिएको थियो । सर्वाेच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाइदिएकोमा गत २४ माघमा फैसला सुनाउँदै सो निर्णय भूमिसम्बन्धी ऐनको हदबन्दीसम्बन्धी मर्मविपरीत रहेको भन्दै खारेज गरिदिएको थियो ।
सोही फैसलाको पूर्णपाठ वैशाख २९ गते शुक्रबार सार्वजनिक भएको थियो । गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्च अदालतले निश्चित उद्देश्यका लागि पाएको हदबन्दीभन्दा बढीको जग्गा अन्य प्रयोजनमा उपभोग वा साटफेर गर्न, मास्न वा बेचबिखन गर्न स्थायी रूपमै लगाम लगाइदिएको छ ।
फैसलाको पूर्णपाठमा सरकारबाट हदबन्दी छुट पाएको जग्गा दुरुपयोग गर्न मात्र होइन, बाँझो राखेको भेटिए पनि त्यसलाई सरकारकै स्वामित्वमा ल्याउने गरी सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको छ । एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारको निर्णयलाई नीतिगत भ्रष्टाचार भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले हदबन्दी छुटसम्बन्धी अन्य जग्गाको हकमा समेत कडा सर्त सहितको ऐतिहासिक व्याख्या गरिदिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच