
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने निर्णय गरेको हो । भ्रमणका लागि टोलीको भने अहिल्यै छनोट नभएको सरकारकी प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चारकर्मीसँग प्रवक्ता शर्माले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू भारत भ्रमण जाने निर्णय भएको छ, टोलीको निर्माण भने भइसकेको छैन ।’
मोदीको शपथ आइतबार दिल्लीमा हुँदै छ । बुधबार साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल र भारत बीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभएको थियो ।
नयाँ दिल्लीमा बुधबार साँझ भएको एनडिएको बैठकमा जनता दलका प्रमुख एवं बिहारका मुख्यमन्त्री नितिशकुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडूले मोदीलाई प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति जनाएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयसमेत गरेको छ । प्रवक्ता शर्माका अनुसार भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।
भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत हुनुहुन्छ । उहाँहरूलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिश गर्ने निर्णय गरेको थियो ।
यस्तै, साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्राडा. रामसुरज यादव र इजरायलमा शान्ति रिजाल राजदूत हुनुहुन्छ । २४ चैत २०७८ मा देउवा नेतृत्वको सरकारले उहाँहरूसहित ११ राजदूत सिफारिश गरेको थियो ।
त्यसबेला सिफारिश भएर नियुक्ति पाउनुभएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन । कतारका लागि नेपाली राजदूतमा डा. नरेशविक्रम ढकाल हुनुहुन्छ । २६ जेठ २०७९ मा नियुक्त हुनुभएका उहाँलाई पनि फिर्ता बोलाइएको छ । सरकारले पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई पनि फिर्ता बोलाएको छ ।
कांग्रेसको जोडबलमा प्रचण्ड सरकारले २३ कात्तिक २०८० मा पोर्चुगलमा राजदूताबास राख्ने निर्णय गरेर राजदूतमा नेपालको नाम सिफारिश गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेर उहाँले २४ माघ २०८० मा मात्र नियुक्ति पाउनुभएको थियो । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने प्रस्ताव संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ । यसैगरी, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच