सरकारलाई काँग्रेस सांसद गौतमको प्रश्न : साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

फाइल तस्बिर

काठमाडाैं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले समाजवाद उन्मुख भन्नेहरुले पनि पुँजीवाद उन्मुख भएर कृषि सम्बन्धि कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताउनु भयो । सांसद गौतमले नेपाललाई किसानहरुको देशको रुपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरुको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताउनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘भन्नलाई साम्यवादी भन्नुहुन्छ । समाजवाद उन्मुख भन्नु हुन्छ । यो कृषिको कार्यक्रम त पूँजीवाद उन्मुख छ । कहाँबाट यो समाजवादतिर उन्मुख छ ? यसले त ठूलो किसानहरुलाई मात्रै ध्यान दिन्छ । व्यापारीहरुलाई मात्रै ध्यान दिन्छ । यसले फेरी समृद्धिको यात्रा तय गर्दैन । त्यसकारण यसमा मेरो घोर असहमती छ । मेरो विज्ञहरुसँग आग्रह छ । नेपाललाई किसानको देश बनाऔं । यसलाई गाउँको देश बनाऔ । सहरै सहरको परिकल्पना नगरौँ । ’

सांसद गौतमले भन्ने बेलामा समाजबाद भन्ने अनि बजेट पूँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमती रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?