सरकार बनाउने मात्र एमालेको गन्तव्य होइन : उपमहासचिव ज्ञवाली

फाइल तस्बिर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार बनाउने मात्र एमालेको गन्तव्य नभएको बताउनुभएको छ । एमाले गुल्मीको तम्घासमा भएको १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

देशका २० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको भन्दै मुलुकको सर्वोपरि विकास खातिर एमाले लागेको भन्दै उहाँले गरिबी, पछौटेपन, भ्रष्टाचारका विरुद्धको लडाइ नेकपा एमालेको मुख्य गन्तव्य रहेको बताउनुभयो । फरक प्रसँगमा उहाँले विकासका पूर्वाधार गाउँ-गाउँ पुगेपछि मान्छे शहरतिर झरेको भन्दै विकास गाउँ पुग्ने र मान्छे शहर झर्नेक्रम रहेको अवस्थालाई हस्तक्षेप गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

गएको तीन वर्ष नेकपा एमालेका लागि प्रतिकूल वर्ष भएको भन्दै राष्ट्रिय राजनीतिमा समीकरण परिवर्तन भएसँगै एमाले विरुद्धको घेराबन्दी तोडिएको दाबी गर्नुभयो । गएको तीन वर्षमा भएका सपनाका हत्यालाई नेकपा एमालेले चिर्न चाहेको भन्दै सरकार परिवर्तनसँगै अहिले स्वदेशमै केही गरी बस्न सकिन्छ भन्ने युवाहरुका लागि आशाको सञ्चार नेकपा एमालेले सिर्जना गरेको बताउनुभयो । तत्कालै बामपंथी ध्रुवीकरण र पार्टी एकताको सम्भावना नरहेको उहाँको भनाइ छ ।

नेकपा (एमाले) का केन्द्रीय सचिव गोकर्ण विष्टले आर्थिक, सामाजिक, सांस्कृतिक शोषणका विरुद्ध एमालेले लामो समयदेखि लडिरहेको बताउनुभयो । अन्तर विरोधदेखि माथि उठेर पार्टीलाई आगामी चुनावमा पहिलो पार्टी बनाउने भूमिका खेल्ने नेतृत्व अहिलेको आवश्यकता रहेको बताउनुभयो । लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले अधिवेशनका माध्यमबाट एकताको सन्देश दिन सक्नुपर्ने बताउनुभयो । अधिवेशनको स्वस्थ प्रतिस्पर्धालाई एकताका लागि केन्द्रमा राख्नुपर्ने भन्दै स्वार्थका लागि नेतालाई सिरानी हाल्ने कार्य गलत भएको बताउनुभयो ।

नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले पार्टीको एकता, सहमति र पार्टीको सर्वोपरिमा नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले नयाँ ढंगले पार्टीलाई एकताबद्ध गर्ने गरी नेतृत्व चयन हुने भदै पहिलो पार्टी बनाउने अठोटका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?