काठमाडौं । लेबोरेटरी माध्यमिक विद्यालयले बन्द नगर्न माग भएको छ । लेबोरेटरी माध्यमिक विद्यालयलका पूर्वअध्ययनरत विद्यार्थीहरूले एक भेलाको आयोजना गरी उक्त विद्यालयलाई बन्द नगर्न माग गर्नु भएको हो । हाल सो विद्यालयको विषयलाई लिएर नकारात्मक क्रिया-प्रतिक्रियाहरूका सन्दर्भमा सोही विद्यालयबाट विसं २०४१ मा प्रवेशिका परीक्षा दिनुभएका विद्यार्थीहरूले गत जेठ ३२ गते शुक्रबार काठमाडौंमा भेलाको आयोजना गरी बन्द नगर्न आग्रह गर्नु भएको हो ।
शिक्षामा सर्वाधिक योगदान पुर्याएको विद्यालयको अस्तित्वलाई नै समाप्त पार्नेगरी विभिन्न सञ्चारमाध्याममा आएका समाचारहरूका बारेमा विभिन्न कोणबाट छलफल भएको भन्दै स्कुलको सुरुवाती चरणदेखिका काजपत्र हेर्न आग्रह गर्नु भएको छ । विसं २०१३ मा स्थापित लेबोरेटरी स्कुल विगतमा अति उच्च मर्यादा कायम गर्दै हरेक प्रवेशिका परीक्षाहरूका उच्चतम १० स्थानमध्येमा धेरै स्थान हासिल गर्दै आएको छ । सो विद्यालयले विद्यार्थीहरूलाई कसरी पढाउनुपर्दछ भनी विभिन्न उदाहरण प्रस्तुत गरी अन्य विद्यालयहरूलाई समेत सहयोगी हातको बाटो देखाउने उद्देश्यले स्थापित यो विद्यालयले इतिहासमा अतुलनीय योगदान पुर्याएको सो भेलाले निष्कर्ष निकालेको छ ।
भेलाले सो निर्णयसँगै विगत सरकारले गरेका वचनबद्धताको पनि स्मरण गर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशन गरेको छ । तत्कालीन श्री ५ को सरकार (नेपाल सरकार) ले विद्यालयका शिक्षकहरूलाई आधुनिक शिक्षण पद्धति सिकाउने उद्देश्यले २०१३ सालमा डेमोन्स्ट्रेसन स्कुल स्थापना गरेको थियो । त्यो स्कुल त्रिभुवन विश्वविद्यालयको शिक्षण अभ्यास गर्नसमेत प्रयोग गरिन्थ्यो । पछि त्यही स्कुललाई लेबोरेटरी माध्यमिक विद्यालय बनाइयो । शिक्षा मन्त्रालयले २०२० सालमा हाल विद्यालय परिसर रहेको जग्गाहरू आफ्नै मातहतमा लिई अमेरिकी सरकारको सहयोगमा विद्यालय भवनलगायत संरचनाहरू निर्माण गरेको थियो । पछि २०२३ सालमा लेबोरेटरी माविलाई सोही ठाउँमा स्थानान्तरण गरी शिक्षा मन्त्रालयअन्तर्गतको कलेज अफ एजुकेशनको अंगका रूपमा विद्यालय सञ्चालन र व्यवस्थापन गर्दै आएको थियो ।
२०२८ सालमा नयाँ शिक्षा पद्धति लागू भएपछि कलेज अफ एजुकेशन त्रिविमा गाभिएको थियो । लेबोरेटरी माविमा स्कुल स्तरको मात्र पढाइ हुने भएकाले शिक्षा मन्त्रालयअन्तर्गत रही सञ्चालन हुँदै आएको थियो । शिक्षा (सातौं संशोधन) नियमावली, २०३७ लागू भएपछि निजी तथा आवासीय विद्यालयहरूलाई सरकारी अनुदान तथा आर्थिक सहयोग रोकिन गयो । त्यसपछि विद्यालयले आफ्नै स्रोतबाट विद्यालय सञ्चालन एवं व्यवस्थापन गर्दै आएको थियो । पछि विद्यालयको भरपर्दो आर्थिक स्रोत नभएको र भवनलगायत भौतिक संरचनाहरू जीर्ण भई विद्यालयको पठनपाठन र व्यवस्थापनमा समस्या आएपछि तत्कालीन मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार शिक्षा तथा खेलकुद मन्त्रालयले २०५७ साउन १३ मा नेपाल शिक्षा समाजसँग सम्झौता गरेर १५ वर्षका लागि जिम्मा दिएको थियो । शिक्षा मन्त्रालयले समाजसँग १३ बुँदे सम्झौता गरेको थियो ।
नेपाल शिक्षा समाजसँगको सम्झौताको अवधि समाप्त भएपछि विद्यालय ब्यवस्थापनको जिम्मा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको निर्णय अनुसार शैक्षिक गुठीमा हस्तान्तरण भएको थियो । २०६२ पुस १७ मा लेबोरेटरी स्कुल सार्वजनिक शैक्षिक गुठीलाई हस्तान्तरण भई हाल सोही सार्वजनिक शैक्षिक गुठीमार्फत् विद्यालयको सञ्चालन र व्यवस्थापन हुँदै आएको छ । विद्यालयले भोगचलन गर्दै आएको उक्त जग्गाको भोगाधिकार दर्ता प्रक्रियाको लागि जिल्ला शिक्षा कार्यालय काठमाडौंले नेपाल शिक्षा मन्त्रालय विद्यालय सम्पत्ति ब्यवस्थापन शाखालाई २०७१ असार १५ मा पत्राचार गरेको थियो ।
हाल अरू अवैध कब्जावालाले जग्गा कब्जा गरेकै जस्तो सूचीमा लेबोरेटरी स्कुललाई राखी हल्ला फैलाइनु र त्रिविमा नियुक्त समय–समयका पदाधिकारीहरूबाट स्कुल हटाउने धारणा आउनु चिन्ताको विषय बनेको पूर्वविद्यार्थीहरूको भनाइ रहेको छ । त्रिविको जग्गा कब्जा गरी बसेका गाडी पार्किङ, होटल, रेस्टुरेण्टहरू जस्तैकै हाराहारीमा राखेर लेबोरेटरी स्कुललाई विवादित बनाइनु कदापि स्वीकार्य नहुने पूर्वअध्ययनरत विद्यार्थीहरूले बताउनु भएको छ । प्रा.डा.शान्तिकृष्ण अधिकारी, विमलकुमार प्रधान, प्रदीप प्रधान, सन्तोष तिमल्सिना, सुधीर पाण्डे, निरजबहादुर शाहीलगायतले मुलुकका उच्च ओहोदामा पुग्न सफल र देशका निम्ति योगदान पु¥याउन योग्य हजारौं व्यक्तिहरू उत्पादन गरेको विद्यालयको अस्तित्व नै नामेट गराउने उद्देश्यले सक्रिय भएकाहरूको गतिविधिले दुःखी बनाएको बताउनु भएको छ ।
रेणु गुरुङ, सुमन श्रेष्ठ, सञ्जय खेतान, अजयवादे श्रेष्ठ, सुनिता श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, धनलक्ष्मी महर्जन, उषा महर्जन, राजमोती महर्जनलगायते विद्यालय शिक्षामा योगदान रहेको कुरा समाज र सरकार कसैले भुल्न नहुने भन्दै त्रिवि जोगाउन समाज जसरी अग्रसर हुन्छ, यो विद्यालयको संरक्षणमा त्रिवि नै सक्रिय हुनुपर्ने उहाँहरूको धारण छ । सुनिता श्रेष्ठ, सिरु गोर्खाली, अञ्जलि श्रेष्ठ, कञ्चन वैद्य, सुनिता भट्टचन, पुष्प महर्जन, भूषण मल्ललगायतले केही राजनीतिक स्वार्थी समूह र केही व्यापारिक उद्देश्य बोकेकाहरूको कब्जामा निश्चय नै यो विद्यालय रहनु हुँदैन उहाँहरू भन्नु हुन्छ । ऐतिहासिक विद्यालयलाई समाप्त पार्ने काम कसैले गर्दछ भने सो विद्यालयको रक्षाका लागि हरबखत सक्रिय रहने सो भेलाले निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त भेलाले लेबोरेटरी विद्यालयलाई बन्द नगर्न, त्रिवि आफैंले सञ्चालन गरी त्रिविका शिक्षाशास्त्रका उत्पादनहरूलाई प्रयोगात्मक कक्षा लिने गरी प्रबद्र्धन गर्न वा नेपाल सरकारले नमुना सामुदायिक विद्यालयका रूपमा निरन्तरता दिन माग गर्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच