
काठमाडौं । काठमाडौंमा चिनियाँ शैक्षिक प्रदर्शनी गरिएको छ । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आयोजना गरेको प्रदर्शनको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा मंगलबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि परराष्ट्रमन्त्री श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य रहेको र त्यसले दुई देशको सम्बन्धलाई बलियो बनाएको बताउनुभयो । उहाँले चीनमा अध्ययन गरेका थुप्रै नेपालीले नेपालमा कुनै न कुनै पेशा गरेर विभिन्न क्षेत्रमा राम्रो योगदान दिइरहेको जिकिर गर्नुभयो ।
चीन सरकारले दिइरहेको छात्रवृत्तिका कारण यो संख्या अझै बढ्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विश्वविद्यालयबाट शिक्षा प्राप्त गर्नेहरूले नेपालको विकासमा ठूलो योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र चीनका विभिन्न विश्वविद्यालयबीच सहकार्य भएको थाहा पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले नेपालका विद्यार्थीहरू ठूलो संख्यामा चीनको भ्रमण गर्ने गरेको र त्यसले आफ्नो शैक्षिक आवश्यकता पूरा गर्ने गरेको बताउनुभयो ।
चिनियाँ प्राध्यापकहरूले पनि नेपाल भ्रमण गर्ने गरेको भन्दै उहाँले त्यस्तो भ्रमणले जनता–जनताबीचको सम्बन्धलाई फराकिलो र गहिरो बनाएको चर्चा गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूत सोङले प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले प्रदर्शनीले नेपाल–चीनबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रदर्शनी नेपाल र चीनबीचको सबैभन्दा ठूलो उच्च शिक्षा सहयोग परियोजना रहेको बताउँदै उहाँले यसमा ३१ वटा विभिन्न चिनियाँ विश्वविद्यालय सहभागी रहेको बताउनुभयो । प्रदर्शनीमा चिनियाँ शिक्षाको विविध र उच्च गुणस्तरको झलक प्रदान गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । यसको फाइदा लिन उहाँले सबैमा आग्रह पनि गर्नुभयो ।
नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न जानकारी प्रदर्शनीमा रहेको परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र साहले जानकारी गराउनुभयो ।
परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ । पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो । पछिल्लो जानकारी अनुसार चीनमा १६० वटा देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको परिषद्का अध्यक्ष साहले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच