गत हप्ता पनि यस्तै सिद्धहस्त कवि गोविन्दराज विनोदीका विषयमा लेखेको थिएँ । आज त्यस्तै सुयोग जुरेको छ । ईशोपषिद्मा कविर्मनीषी परिभूः स्वयम्भू अर्थात् कविहरू मनीषी हुन्, सर्वव्यापक हुन्, सर्वद्रष्टा हुन्, सर्वज्ञ हुन्, सर्वनियन्ता हुन् र स्वयम्भू हुन् भनिएको छ । युगबोधमात्र नभएर युगान्तरबोध क्षमता भएकैले कविहरू मनीषी हुन् । कवि स्वयम् सत्ता हुन् त्यसैले स्वयम्भू हुन् । कविका विषयमा यति धेरै विशेषण किन दिइएको होला ? कविलाई अलि बढी नै प्रशंसा गरियो कि ? भन्ने पनि लाग्न सक्छ । निश्चय पनि माथि भनिएजस्ता सर्वगुणसम्पन्न कविहरू हरेक युगमा प्राप्त गर्न नसकिएला तर कविको विशिष्ट दृष्टिले सजाएको संसार हामीले देख्ने गरेको यो विकराल संसारभन्दा फरक हुन्छ । कविहरू आफू जलेर पनि संसारलाई उज्यालो छर्किन प्रयत्नरत रहन्छन् ।
त्यसैले त सबैले नदेख्ने गरेका कुरा उनीहरूले देख्छन् । सबैले लेख्न नसकेका कुरा उनीहरूले लेख्छन् । असाधारण नभइकन कवि बन्न पनि सकिँदैन । सबैका जस्ता आँखा नहुनु, सबैका जस्ता कान नहुनु, सबैको जस्तो मन नहुनु, सबैको जस्तो कलम नहुनु नै असाधारण हुनु हो । कवि हुनु सबै प्रकारले सन्तुलित हुनु नै असाधारण हुनु हो । हामीले कवि, कविता र काव्य बुझ्दा छन्दसँगै बुझेका हौं त्यसैले कताकता कवि हुनु भनेको छन्दकै कवि हुनु हो भन्ने हाम्रो औसत बुझाइ छ । यति कुरा गरिसकेपछि छन्दका सारथि कवि प्रहृलाद पोख्रेल (२०१४) को नाम नलिई हुँदैन । आफूलाई बाल्यकालदेखि नै छन्दमा रूपान्तरण गर्दै आएका प्रहृलाद पोख्रेलको सोह्रौं कृति वाणीका बान्की (२०८०) यस्तै नौलो कृति हो ।
अरू धेरैतिर आफ्नो काव्यकलाले परिचित कविको यो कृति उनको कविताप्रतिको आस्था, काव्यसाधनाले जन्माएको आत्मविश्वास र काव्यकलाको जबर्जस्त जिद्दी पनि हो भन्ने लाग्छ । संसारलाई नै कवितामा किन नउतारौँ एकपटक ! यो चुनौती पनि लिएरै हेरौं न भनेर नै यस्तो कर्म गरिए होला भन्ने मेरो बुझाइ छ । कवितामा संसार हेर्ने लहड पनि कवि भएकैले उठेको हुनुपर्छ । वाणीका बान्कीमा वाणीका विविध बान्कीहरू छन् । दर्शन, साहित्य, समाजनीति, राजनीति, कूटनीति, अर्थनीति, कला, संस्कृति आदि अनगिन्ती क्षेत्रका विचारहरू समेटिएका सुक्तिहरू जसले मानिसलाई जोडेर राखेको छ ।
कवि पोख्रेलको चालीस वर्ष लामो औपचारिक काव्यसाधनामा वाणीका धेरै बान्कीहरू प्रकट भएका छन् । कवितामा यति लामो साधना गरिसकेका कविबाट कवितासङ्ग्रह र खण्डकाव्यहरू लेखिएका छन् । अब पाठकले महाकाव्यकार पोख्रेलको खोजी गरिरहेका छन् ।
वास्तविक जीवनका ती महानायक र नायिकाहरू जो भिन्न भूगोलमा जन्मिए, भिन्न भिन्न आँखाले सांसारलाई हेरे जसले यो संसारलाई आफ्नो ज्ञान र अनुभवले बुझेका थिए ती ज्ञानका आँखाहरूलाई हामी धेरैका साझा आँखा बनाउन किन प्रयास नगर्ने ? भन्ने सुझबुझ अनि त्यसलाई कार्यान्वयन गर्दा आइपर्ने भाव र शिल्पगत चुनौतीहरू समेतलाई स्वीकारेका हुनाले यहाँ अनुवादक कविको जिद्दी र लहडसमेत मिसिएको छ । ती धेरै विचारकहरू र अनुवादक समेतको पुनः सिर्जनको सामथ्र्य मिलेर एकमुष्ट ग्रन्थको आकार लिएको यो कृति त्यसैले विविध बान्कीयुक्त बनेको छ ।
छन्दसारथि प्रहृलाद पोख्रेल नेपाली साहित्यमा सुपरिचित नाम हो । नेपाली साहित्यमा छन्द साहित्यका माध्यमले गुणात्मक अनि परिमाणात्मक योगदान गर्ने पोख्रेलको पछिल्लो सिर्जना वाणीका बान्की (अङ्ग्रेजीका सुक्तिको नेपाली पद्यानुवाद) (२०८०), अहिले मेरो हातमा छ । यसपूर्व पोख्रेलका आजको आकाश (२०४२) सहलेखन, गीती यात्रा (२०५१), जीवन्त यात्रा (२०५२), गोसाइँकुण्ड (२०५६), सारथि (२०५८), खोटाङ डायरी (२०६१), कुहिराको कम्बल (२०६२), काव्ययात्राः गोसाइँकुण्ड (२०६५), नव-शेष श्रद्धा (२०६८), आस्थाको गन्तव्य (२०७१), जनकपुरधाम (२०७२), अक्षर आराधना (२०७५) आदि काव्यकृतिहरू प्रकाशित छन् ।
कवि पोख्रेलको चालीस वर्ष लामो औपचारिक काव्यसाधनामा वाणीका धेरै बान्कीहरू प्रकट भएका छन् । कवितामा यति लामो साधना गरिसकेका कविबाट कवितासङ्ग्रह र खण्डकाव्यहरू लेखिएका छन् । अब पाठकले महाकाव्यकार पोख्रेलको खोजी गरिरहेका छन् । कवि पोख्रेलका एकपछि अर्का बान्की र विशेषतासँग हामी परिचित हुन पाइरहेका छौं । जहाँ सूर्यको प्रकाश पुग्दैन त्यहाँ कविको कल्पना पुग्दछ भनेर त्यसै भनिएको होइन । धेरैका दृष्टि नपरेका ठाउँमा कवि पोख्रेलका दृष्टि परेका छन् ।
संस्कृत साहित्यमा धेरै प्रकारका सुक्तिहरू पढ्न पाइन्छ । सुक्तिको विशेषता भनेकै थोरैमा धेरै कुरा भन्न सक्नु हो । सु+उक्ति मिलेर सुक्ति शब्द बनेको हो । सुवचन नै सुक्ति हुन् । ज्ञान, अनुभव र शास्त्रप्रमाणले सुक्तिहरू ग्रहणीय बनेका हुन्छन् । मानिसले पहिले सोच्छ त्यसपछि अभिव्यक्ति गर्छ । सोचाइ वा विचारको भाषा सबैको एउटै हुन्छ तर त्यही विचारलाई बाहिर ल्याउनका निम्ति विभिन्न भाषा चाहिन्छ । विचारको भाषा एउटै भए पनि अभिव्यक्तिको भाषा र शैली फरक-फरक हुने भएकाले हामी मानिस मानिसमा पनि भाषा कहिले साधक अनि कहिले बाधक भएर रहेको हुन्छ ।
पूर्वीय एवं पाश्चात्य सभ्यता, संस्कृति, भाषा, साहित्य र कला अब हाम्रो समाजमा अन्तर्घुलन भएको छ । अब हाम्रा घरहरू विविध भाषा र संस्कृतिका साझा घर बन्दै गएका छन् । छोरो अमेरिका छ, छोरी अष्ट्रेलिया छ, अर्को छोरा बेलायत छ । हामी कहिले अमेरिका, कहिले अष्ट्रेलिया विचरण गर्दै छौं । हिजोका कतिपय साँधसिमानाहरू मेटिएका छन् कति फेरिएका छन् । विश्वलाई हत्केलामा सजाएर हिँड्ने बेलामा हामी भाषाको सीमाले गर्दा पूर्वेलीहरू पश्चिमा चेतनाबाट पश्चिमाहरू पूर्वेली चेतनाबाट पनि ब्युँझिन आवश्यक छ । त्यसको निम्ति अनुवाद हामीलाई जोड्ने पुल बन्न सक्नुपर्छ । अहिले अनुवादका क्षेत्रमा धेरै कामहरू भइरहेका छन् । कवि पोख्रेलको यो कृति यसै क्षेत्रको एउटा सत्प्रयास हो ।
हाम्रो भावनात्मक सम्बन्धमा भाषाले व्यवधान गरेका कारण कतिपय रहरहरू पूरा गर्न नसकिरहेका बेला कवि प्रहृलादको पछिल्लो कृति साधक बनेर आएको छ । परिवर्तनका सम्वाहक सुक्तिलाई अभिव्यक्त गर्ने माध्यम भाषाहरू फरक-फरक हुने भएकाले ती फरक भाषामा रचिएका विचारको सार लिन पनि मानिसलाई दोभाषेको आवश्यकता परेको हुन्छ । कवि मनका प्रहृलाद पोख्रेलबाट त्यही महान् काम भएको छ । यसमा अङ्ग्रेजी भाषाका सुक्तिहरूलाई नेपाली भाषामा रूपान्तरण गरिएको छ । अङ्ग्रेजी भाषामा अभिव्यक्त सुक्तिलाई नेपालीमा पद्यानुवाद गरेर कविले जुन प्रतिभा देखाएका छन् त्यो साँच्चै प्रशंसनीय रहेको छ ।
सुक्तिवचनहरू लोक र जीवनलाई प्रेरणा र प्रोत्साहनका निम्ति भनिएका हुन्छन् । त्यस्ता महावाक्यहरू, वाणीहरू कुनै प्रसिद्ध व्यक्तिका ज्ञान र अनुभव हुन्छन् अथवा कुनै आधिकारिक ग्रन्थको आडमा रचिएका हुन्छन् । त्यसैले भरपर्दा पनि हुन्छन् । जसरी संस्कृत वाङ्मय सुक्तिको भण्डार हो त्यसरी नै अङ्ग्रेजी साहित्यमा पनि त्यस्ता महान् विचारहरू प्रसिद्ध छन् । तिनलाई कि त कुनै महारथिले व्यक्त गरेका छन् कि त कुनै मिथकसँग जोडिएका छन् । सुक्तिहरूले विचारको मार्गदर्शन गर्छन् । मानिसलाई सही मार्ग प्रदान गर्न आफ्नो ज्ञान र अनुभवले जन्माएका त्यस्ता महावाक्यहरू छोडेर गएका ती महान् विचारकहरू हाम्रा मार्गद्रष्टा हुन् । भाषाले भिन्न भए पनि एउटा कालखण्डमा ब्रहृमाण्डमा एकै प्रकारको विचार प्रवाह हुन्छ ।
कवि मनका प्रहृलाद पोख्रेलबाट त्यही महान् काम भएको छ । यसमा अङ्ग्रेजी भाषाका सुक्तिहरूलाई नेपाली भाषामा रूपान्तरण गरिएको छ । अङ्ग्रेजी भाषामा अभिव्यक्त सुक्तिलाई नेपालीमा पद्यानुवाद गरेर कविले जुन प्रतिभा देखाएका छन् त्यो साँच्चै प्रशंसनीय रहेको छ ।
चाहे हामी पूर्वमा उभिएर सोचौं वा पश्चिममा उभिएर सोचौं । परिवेशले ल्याउने भिन्नताबाहेक हाम्रो चिन्तनको सार एकै प्रकारको हुन्छ । धेरै कुराहरू माटो र मुटुलाई साक्षी राखेर गरिएका हुन्छन् । महान् हुन महान् सोच्न सक्नुपर्छ । वाणीका बान्कीमाथि भनिएका धेरै विशेषताले विभूषित रहेको छ । यसमा एक्काइस वटा वार्णिक छन्दको प्रयोग गरिएको छ । स्रग्विणी, मेघविस्फूर्जिता, लोकलय, वंशस्थ, तोटक, शालिनी, उपेन्द्रवज्रा, पञ्चचामर, द्रुतविलम्वित, पृथ्वी, इन्द्रवंशा, इन्द्रवज्रा, मालिनी, वसन्ततिलका, भुजङ्गप्रयात, शिखरिणी, उपजाति, मन्दाक्रान्ता, स्रग्धरा, अनुष्टुप र शार्दूलविक्रीडित छन्दहरूको साधिकार प्रयोग यस कृतिमा भएको छ । यो कृति जम्मा चार खण्डमा संरचित छ । कृतिको पहिलो खण्ड स्रग्धरा खण्ड हो ।
यसमा कविले विश्वप्रचलित अङ्ग्रेजी सुक्तिहरूलाई स्रग्धरा छन्दका अठहत्तर श्लोकमा रूपान्तरण गरेका छन् । दोस्रो खण्ड शार्दूलविकीडित खण्ड हो । यसमा तीन सय पच्चीसवटा श्लोकमा अंग्रेजी सुक्तिहरूको रूपान्तरण गरिएको छ । कृतिको तेस्रो खण्ड अनुष्टुप खण्ड हो । यस खण्डमा तीन सय नौवटा श्लोकमा अङ्ग्रेजी भाषाका सुक्तिहरूको रूपान्तरण गरिएको छ । कृतिको चौथो खण्डमा कविले अन्य अठारवटा छन्दका दुईसय सतासी श्लोकमा अङ्ग्रेजी सुक्तिहरूलाई रूपान्तरण गरेका छन् । एक प्रकारले यो नवीन कृति पनि काव्यजस्तै बन्न पुगेको छ । सबैभन्दा धेरै शार्दूलविक्रीडित छन्दका तीनसय त्रिसठ्ठी श्लोक अनि सबैभन्दा कम स्रग्विणी र मेघविस्फूर्जिता छन्दका एक–एक श्लोक गरी जम्मा नौसय उनान्सय श्लोकमा अङ्ग्रेजीका सुक्ति (उत्कथन) जम्मा आठ सय तीसवटाको पद्यानुवाद गरिएको यो कृति जम्मा तीनसय चौहत्तर पृष्ठको रहेको छ ।
यसभित्र विभिन्न क्षेत्रमा विश्वमा प्रसिद्धि कमाएका व्यक्तिका विचारहरू रहेका छन् । प्लेटो, एरिस्टोटल, कन्फ्युसियस, चाणक्य, अलवर्ट आइन्स्टाइन, विस्टन चर्चिल, लियोटाल्सटाय, लियोनार्दोदा भिन्ची, कार्ल जुङ, मदर टेरेसा, हेलेन केलर, वास्कर वाइल्ड, बेन्जामिन फ्रेङ्कलिन, एडमन्ड ब्रुक, एच ज्याक्सन, शिव खेर, स्वामी विवेकानन्द, महात्मा गान्धी, जोन लियोनार्द, हेनरी डेभिड, जोनाथोन स्विफ्ट, भर्जिनिया उल्फ, जेम्स ज्वाइस, विलगेट्स, भ्लादिमिर लेनिन, मार्टिन लुथर, क्रिस्टोफर, वारेन बफेट, मार्क टोइन, ए.पि.जे अबदुल कलाम, बेन्जामिन, थोमस, रोवर्ट लुइस, भिक्टर हृयुगो, राल्फ नाडेर, ओसकार वाइल्ड, सेनरी डेभिड थोरो, लर्ड वायरन, खलिल जिब्रान, इमानुएल कान्ट, एच.जी वेल्स, विलियम शेक्सपियर, आडम स्मिथ, रस्किन, अल्वेर काम्यु आदि सयौँ विचारक, अभियन्ता, दार्शनिक, साहित्यकार राजनीतिकर्मीहरूका महान् विचार दर्शन र दृष्टि समेटिएका सुक्तिहरू रहेका छन् । अङ्ग्रेजीमा पनि उत्तिकै दखल भएका कारण यी धेरै विचारलाई अनुवाद गर्न सकिएको कुरा यस कृतिको अर्को विशिष्टता हो ।
एक्काईसवटा शास्त्रीय छन्दको साधिकार प्रयोग हुनु, अङ्ग्रेजी भाषाका सुक्तिहरूको छन्दमै रूपान्तरण हुनु, विश्वप्रसिद्ध विचारहरूलाई एकै ठाउँ समेटेर प्रस्तुत गरिनुजस्ता विशेषताले गर्दा वाणीका बान्की छुट्टै पहिचानसहित आएको कृति बन्न पुगेको छ ।
सिङ्गो व्यायामशाला कसरत गरिने सम्झ संसारलाई
हामी व्यायाम गछौं अनवरत जहाँ स्वास्थ्य राम्रो बनाई,
थालौँ यो रङ्गशालासरह भुवनमा साहसी काम गर्न
जागौँ आलस्य छाडी सबलतम बनी विश्वमा चेत भर्न ।
(The world is the great gymnasium where we come to make ourselves strong. - swami Vivekananda (पृ.२५)
सोध्यो जीवनसामु मृत्यु उभई-‘माया तिमीमा किन ?
मेरा निम्ति परन्तु दुर्दुर घृणा के हो कुरा ? जानिन’
हाँसी जीवन दिन्छ उत्तर जहाँ ‘मै हूँ झुटो सुन्दर,
पीडापूर्ण तिमी त सत्यसितको अस्तित्व खाँटी तर’ !
(Death asked life: Why does everyone love you & hate me ?
Life replied:Because I am a beautiful lie & you are a painful Truth ।) (पृ. ३७४) ।
कवि प्रहृलाद पोख्रेललाई मैले पहिलो पटक निजामती प्रशासकका रूपमा चिनेको हुँ । कठोर पनि हुनुपर्ने प्रशासक (सिडियो) अनि कोमल मात्रै हुनसक्ने कवि सँगसँगै हिँडेको एउटा विरोधाभास भेट्दा जति अचम्म लागेको थियो त्यति नै अचम्म उनी दुवै क्षेत्रमा सफल भएको इतिहासले पनि बनाएको छ । त्यसपछि उनी महाप्रबन्धक बने अरू पनि के के बने तर उनी कवि हुँदा जति सुन्दर छन् त्यही सुन्दरता हामीलाई प्रिय छ । अब त उनी कवि मात्रै बनेका छन् त्यसैले झन् बढी प्रिय छन् । कोकगोष्ठी परिवारका सदस्य, छन्द अभियन्ता नवीन दर्शन र दृष्टिका प्रयोक्ता अनि वाणीका नयाँनयाँ बान्की प्रस्तुत गरिरहने कवि पोख्रेलको स्वस्थ जीवन अनि निरन्तर काव्यसाधनाको कामना गर्दछु ।
धेरै बधाई छ कवि प्रह्लाद पोख्रेललाई र समीक्षकज्यूलाई पनि धन्यवाद छ- काव्यिक हिराको चर्चा गर्नु भएकोमा। कवि प्रह्लाद पोख्रेलबाट नेपाली साहित्यले यस्तै अनुपम सिर्जनाहरु पाइरहोस्। शुभकामना छ।