
काठमाडौं । राजदूतले सिंगो राष्ट्रको प्रतिनिधित्व गर्छन् । राजदूत भनेको सम्बिन्धत देशमा देखाउने देशको मुहार हो । विदेशमा राज्यको प्रतिनिधित्व गरेर देशहितमा कार्य गर्न खटाइने व्यक्ति नै राजदूत हो । राजदूत नियुक्ति गर्दा कूटनीतिक अनुभव तथा ज्ञान र क्षमता हेरेर हुनुपर्ने हो । तर, विडम्बना राजदूत नियुक्तिमा पार्टीका नेता तथा कार्यकर्ताले प्राथमिकता पाउन थालेका छन् । अमूक पार्टीका नेता-कार्यकर्ता, पार्टी नेतृत्वका आफन्त तथा नजिकमा रहेकाहरूलाई ‘चकलेट’ बाँडेसरी राजदूत पद बाँड्ने गरिएको छ । राजदूत विदेशमा नेपाली नियोगमा काम गर्न जाने होइन रिटायर भएपछि आराम गर्न आफ्ना मानिएकाहरूलाई नियुक्त गरी पठाइने पद बनेको छ । राजनीतिक पार्टीको कार्यकर्ता हुनु र नेतृत्वको नजिक हुनु नै विशेष योग्यता ठहरिएको छ । वास्तविक दक्षता र योग्यता भएकाहरूको कुनै भाउ छैन ।
नेपालमा छिटोछिटो सरकार फेरिइरहन्छ । सरकार फेरिनासाथ पहिलेका राजदूतलाई फिर्ता बोलाउने चलन छ । अनि आफ्ना नजिकका व्यक्तिलाई नियुक्त गरेर पठाउँदा देशको कूटनीतिक क्षेत्रमा गम्भीर प्रभाव पारेको छ । केही समययता राजदूत नियुक्ति प्रक्रिया र नियुक्त हुने व्यक्तिका कारण पदको गरिमा खस्केको हो । राजदूत नियुक्त गर्ने नेपाली परम्पराले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख खस्किँदै आएको छ । सरकारले राजदूतजस्तो महत्वपूर्ण पदलाई अवकाशप्राप्त सरकारी कर्मचारीलाई आराम गर्न पठाउने थलो बनाउँदै लगेको छ । धेरैजसो अनुहार आराम गर्न पठाएजस्तो देखिएको छ । सरकारले यसअघि जस्तै फेरि पनि दुई महत्वपूर्ण देशको राजदूतको लागि दुईजना अवकाश प्राप्त सरकारी कर्मचारीको नाम सिफारिश गरेको छ । यसमध्ये पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र पूर्वसचिव चन्द्र घिमिरे हुनुहुन्छ । भारतको लागि राजदूतमा सिफारिश रेग्मी यसअघि पनि राजदूत हुनुहुन्थ्यो । सरकारले तत्कालीन परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्यसचिव बनाउन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिश गरेको थियो ।
दलीय भागबण्डामा नियुक्ति
सरकारले विभिन्न देशका लागि रिक्त रहेका ११ मध्ये आठ मुलुकका लागि राजदूत सिफारिश गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, डेनमार्क, मलेसिया, स्पेन र साउदी अरबका लागि राजदूत नियुक्तिको सिफारिश गरेको हो । सरकारले इजरायल, पोर्चुगल र कतारका लागि राजदूत सिफारिश गर्न बाँकी छ । भारतका लागि राजदूतमा पूर्व–मुख्यसचिव तथा बेलायतका लागि पूर्वराजदूत लोकदर्शन रेग्मी सिफारिश हुनुभएको छ ।
सरकारले अमेरिकाक लागि चन्द्रकुमार घिमिरेलाई राजदूतमा सिफारिश गरेको छ । बेलायतका लागि सरकारले डा. विजन पन्तको नाम सिफारिश गरेको छ । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना सिफारिश हुनुभएको छ । स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानको नाम सिफारिश गरेको छ ।
सिफारिश भएका राजदूतहरूको नाम संसदीय सुनुवाइ समितिले पारित गरेपछि सरकारले स्वीकृतिका लागि सम्बन्धित देशमा पठाउनेछ । सहमति आइसकेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रमुख सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र र रास्वपाबीच रिक्त ११ मुुलुकका राजदूत नियुक्तिमा भागबण्डा भएको थियो । रिक्त ११ मध्ये आठ देशका राजदूत एमालेको भागबण्डामा, दुई देश रास्वपाको भागबण्डामा र एक देशको राजदूत माओवादी केन्द्रको भागमा पर्ने सहमति थियो । सरकारले दुई साताअघि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
रास्वपाले कार्यदल बनाएर थाल्यो राजदूत छनोट प्रक्रिया
रास्वपाले आफ्नो कोटामा परेका दुई राजदूतको नाम चयन गर्न कार्यदल बनाएको छ । कार्यविधि नै बनाएर विवादरहित व्यक्तिलाई राजदूत सिफारिश गर्ने पार्टीको तयारी छ । जसका लागि तीन सदस्यीय समितिसमेत बनाइएको रास्वपाका एक सांसदले बताउनुभयो । रास्वपा सांसद डा. स्वर्णिम वाग्ले, सोविता गौतम र शिशिर खनाल सदस्य रहेको समिति बनाइएको छ । समितिले पार्टी शीर्ष नेतृत्वलाई नाम सिफारिश गर्ने र त्यसपछि सरकारसमक्ष नाम पठाउने तयारी रास्वपाको छ । त्यसका लागि राजदूत सिफारिश समितिले टिओआर (कार्यादेश) नै तयार पारेर काम गरिरहेको छ । राजनीतिक भागबण्डाअनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ ।
राम्राभन्दा आफ्ना छान्ने प्रवृत्तिले कूटनीतिक मर्यादालाई उच्च बनाउन सक्दैन : डा. उपाध्याय
लेखक तथा विश्लेषक डा. डीआर उपाध्याय नेपालमा दलगत भागबण्डाका आधारमा नेताका कृपापात्रलाई राजदूत पद ‘बक्सिस’ दिने गरिएको टिप्पणी गर्नुहुन्छ । नेपालमा ‘राइट म्यान इन राइट प्यालेस’ नहुँदा भागबण्डा र दल तथा व्यक्तिगत स्वार्थका कारण राजदूत नियुक्तिले चर्चा पाउने गरेको उहाँको भनाइ छ । राजदूत नियुक्ति सत्तासीनका लागि आकर्षण र रुचिको विषय बन्ने गरेको उहाँले बताउनुभयो । ‘भागबण्डा र अरू विभिन्न दल तथा व्यक्तिगत स्वार्थका कारण हामीकहाँ राजदूत नियुक्तिले चर्चा पाउने गर्दछ । मुख्य समस्या भनेको ‘राइट म्यान राइट प्यालेस’ नहुनु हो,’ उहाँले भन्नुभयो, ‘राजदूत नियुक्ति सत्तासीनका लागि आकर्षण र रुचिको विषय बन्ने गरेको पाइन्छ । प्रत्येकपटक मापदण्ड र आधारका चर्का कुरा गरेर दलगत भागबण्डाका आधारमा नेताका कृपापात्रलाई राजदूत पद ‘बक्सिस’ दिने गरिएको देखिन्छ ।’
राजदूत नियुक्तिका लागि निश्चित मापदण्ड नबनाएसम्म यो समस्या रहिरहने उहाँ बताउनुहुन्छ । दलगत भागबण्डाका आधारमा नियुक्त अधिकांश राजदूतले विगतमा पदको गरिमा धान्न नसकेको पनि उहाँले स्मरण गर्नुभयो । ‘राजदूत नियुक्ति गर्दा कुनै आधार नअपनाई तजबिजमा व्यक्ति विशेषलाई छान्ने प्रचलन रही आएको छ । राजदूत नियुक्तिका लागि निश्चित मापदण्ड नबनाएसम्म यो समस्या रही रहन्छ,’ उहाँले अगाडि भन्नुभयो, ‘राम्राभन्दा पनि आफ्ना मान्छेलाई छान्ने प्रवित्तृले देशको कूटनितिक मर्यादालाई उच्च बनाउन नसक्ने विगतका केही उदाहरणले प्रष्ट पारेका छन् । दलगत भागबण्डाका आधारमा नियुक्त अधिकांश व्यक्तिले विगतमा पदको गरिमा धान्न सकेका छैनन् । प्राज्ञिक व्यक्तित्वबाट प्रतिनिधित्व हुनुपर्नेमा त्यस्तो भएको पाइँदैन । कारिन्दा संस्कार हाबी हुँदै गएको छ । जसले मुलुकको प्रतिष्ठामा नै आँच पुर्याउने गर्दछ ।’
प्रत्येक ठाउँमा दलीय भागबण्डा गरी राज्यस्रोत दोहन गर्ने प्रवृत्ति मौलायो : भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यका प्रत्येक निकायमा दलीय भागबण्डा गर्ने प्रवृत्ति मौलाएर गएको बताउनुभएको छ । पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार गृह जिल्ला गोरखा पुग्नुभएका भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै केन्द्र र प्रदेश सरकार पटक-पटक फेरबदल हुने, राजदूतजस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिहरू सरकार फेरिनेबित्तिकै परिवर्तन गरेर दलीय भागबण्डामा मान्छे पठाउने कुरा खेदजनक रहेको बताउनुभयो । ‘नेपाली राजनीतिमा मजाक भइरहेको छ, प्रत्येक कुरामा दलीय भागबण्डा गर्ने, काँक्रो चिरेझैँ चिरेर खाने र राज्यस्रोतको दोहन गर्नुलाई नै राजनीतिक अभिष्ट ठान्ने प्रवृत्ति मौलाएर गयो,’ भट्टराईले भन्नुभयो, ‘केन्द्र सरकारको पटक-पटक फेरबदल, प्रदेश सरकारको फेरबदल, हुँदाहुँदै राजदूतजस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई सरकार फेरिनेबित्तिकै फेर्ने र दलीय भागबण्डामा मान्छे पठाउने कुरा खेदजनक छ, यो लोकतन्त्र होइन ।’ लोकतन्त्रका लागि लडेका नेताहरूले नै लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि गर्नु निन्दनीय भएको उहाँले बताउनुभयो ।
थोरै इज्जत भएकासमेत झोले राजदूत हुन भ्रष्टहरूको पछि लागे : रविन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले इज्जत भएकाहरूले पनि झोले राजदूत हुन अघिसरेको टिप्पणी गर्नुभएको छ । दलीय भागबण्डामा विभिन्न देशका राजदूत नियुक्ति भएका बारे टिप्पणी गर्दै उहाँले पद/परिचय भएका तर, इज्जत नभएकाले ‘झोले राजदूत’ हुन मरिहत्ते गरे पनि थोरै इज्जत भएकाहरू किन अघि सरे ? भन्ने आफूले बुझ्न नसकेको टिप्पणी गर्नुभएको छ । ‘पद÷परिचय भएका तर, इज्जत नभएकाले झोले राजदूत हुन मरिहत्ते गरे, त्यो बुझ्न सकिन्छ । तर, थोरै इज्जत भएकाले समेत झोले राजदूत हुन किन फटाहा/भ्रष्टहरूको पछि लागे होलान्, त्यो चाहिँ बुझ्न सकिनँ,’ उहाँले भन्नुभएको छ, ‘त्यसमा पनि भोलि कुनै पनि दिन अपमानजनक रूपमा फिर्ता बोलाइने सम्भावना त छँदै छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच