नेपालसँगको सम्बन्ध बिस्तारका लागि कुनैपनि तरिका अपनाउन तयार छौँ : लोकसभा सदस्य सुब्बा

काठमाडाैं । भारतको सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम (सिक्किम) का लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले सिक्किम सरकार नेपालसँगको सम्बन्ध बिस्तारका लागि कुनैपनि तरिका अपनाउन तयार रहेको बताउनुभएको छ ।

लोकसभामा नेपाली भाषामा शपथग्रहण गरेसँगै चर्चामा आउनुभएका सुब्बाले सिक्किम सरकार नेपालसँग हवाई, सडक सञ्जाल, आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध बिस्तारका लागि हरप्रयत्न गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पाक्युङ-काठमाडौंको बीचमा हवाई उडान शुरु गर्नका लागि आवश्यक अध्ययन भइरहेको र चाँडै नै हवाइ उडान शुरु हुने बताउनु भयो । उहाँले पाक्युङ-काठमाडौंको बीच उडान शुरु भएसँगै पर्यटन र अन्य क्षेत्रहरुमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल-भारतबीचको सम्बन्ध बिस्तारका लागि आफूहरु प्रयत्नरत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिक्किम सरकारले चाहेको के हो भने नेपालसँग कुनैपनि तरिकाले हाम्रो बीचमा सम्बन्ध बिस्तार गर्न सकिन्छ, त्यो कोशिसमा हामी छाैँ । हवाईबाट होस् वा सडकबाट होस् । चाहे अरु कुनैपनि तरिकाले नेपाल र भारतको बीचको जुन सम्बन्ध छ, त्यसलाई बलियो बनाउनमा सिक्किमले गर्नपर्ने जति गर्न हामी तयार छौँ । पाख्युङ-काठमाडौंको बीचमा फ्लाइट शुरु भयो भने धेरै कुराको सुविधा हुन्छ । नेपालमा जस्तै सिक्किममा पनि धेरै पर्यटकहरु आउँछन् । नेपालमा पनि पर्यटक बढ्नेछन् । यसलाई अघि बढाउन हाम्रो सरकार सकारात्मक छ । हाम्रो प्रयास पनि चाँडो शुरु गर्ने कोशिस छ ।’

उहाँले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि नेपाल र सिक्किम सीमानाको चिवाभञ्ज्याङ नाका खोल्न पहल गरिरहेको बताउनु भयो । उहाँले मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै पहल गर्नुभएको जिकिर गर्दै सीमानाका सञ्चालनमा आएसँगै नेपालसँगको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नाका सञ्चालनले नेपाल र सिक्किमबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध बिस्तार हुने बताउनु भयो ।

उहाँले नाका सञ्चालनका लागि सिक्किम सरकार र केन्द्र सरकार एवं नेपाल सरकार सकारात्मक रहेको पनि बताउनु भयो । उहाँले चिवाभञ्ज्याङसम्को सडकलाई हाइवेका रुपमा विकास गरी नाकालाई मल्टिमोडल करिडोर बनाउने कामको प्रश्ताव अघि बढिसकेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले चाँडै करिडोर बन्ने र यसले नेपाल र भारतको सम्बन्धलाई अझै बलियो बनाउने बताउनु भयो । हाइवे पुगिसकेपछि मल्टीमोडल करिडोर खोल्न कुनै बाधा नआउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि चिवाभञ्ज्याङ पहिलो पटक पुग्ने मुख्यमन्त्री सायद प्रेमसिंह तामाङ हुनुहुन्छ । सिक्किम एउटा राज्यलाई नेतृत्व दिनुहुने उहाँ स्वयं एक पटक च्विाभञ्ज्याङ पुगेर त्यहाँको पोसिबिलिटी नेपालसँगको एउटा इकोनोमिक करिडोर बनाउने, मल्टीमोडल करिडोर बनाउने पोसिबिलिटीलाई ग्राउण्ड जिरोमै गएर मुख्यमन्त्री उहाँ हुनुहुन्छ । उहाँको प्रतिवद्धताको कारणले गर्दा आज भारत हाम्रो सेन्ट्रल लिडरसिप जो हुनुहुन्छ, उहाँहरु पनि यो विषयमा एकदमै पोजिटिभ हुनुहुन्छ । जुन चिवाभञ्ज्याङसम्म जाने रोड छ, त्यसलाई हाइवे बनाएर त्यो नाकालाई मल्टिमोडल करिडोर बनाउने कामको प्रपोजल अहिले अघि बढिरहेको छ । केन्द्र सरकारले पनि हाइवेका निम्ति सर्वे गर्ने बताइसक्नुभएको छ । चाँडै भन्दा चाँडै यो करिडोर बन्छ । हामी चाहन्छाँै पूर्वी नेपाल र सिक्किमको बीचमा सामाजिक कुरा त पहिलाबाट नै छ, डिप्लोमेटिक र इकोनोमिक करिडोरको रुपमा एक अर्कामा राम्रो भएर जाओस् । जसले हाम्रो सम्बन्ध बिस्तार भएर जान्छ ।, यो करिडोर छिट्टै खुल्छ । नेपाल र भारतको सम्बन्धलाई अझै बलियो बनाउँछ । चिवाभञ्ज्याङलाई खोल्ने काम भइरहेको छ । पहाडी इलाकामा हाइवे ल्याउन केही समय लाग्छ, हाइवे पुगिसकेपछि मल्टीमोडल करिडोर खोलिनुमा अरु कुनै बाधा आउँछ जस्तो लाग्दैन ।’

उहाँले भारतमा नेपाली भाषीहरु धेरै रहेको र यसमा आफूहरुलाई गर्वको महशुस हुने बताउनु भयो । उहाँले आफूले बोल्ने भाषमा नै शपथग्रहण गर्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको बताउनु भयो । नेपाली भाषालाई अझै प्रचलित बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भारत देशमा हामी नेपाली भाषीहरु धेरै बस्छौँ । यो हाम्रो भाषा हो । हामीलाई यसमा गर्व छ । हामीले बोल्ने भाषामा मैले शपथग्रहण गर्न पाउनु भनेको मेरो ठूलो सौभाग्य हो । यसमा जो जतिले पनि मलाई माया नेपाली भाषालाई माया गर्नुहुन्छ, नेपाली भाषामा शपथग्रहण गर्दा खुशी जाहेर गर्नुभयो, मलाई माया पठाउनु भयो । सम्पूर्णप्रति म आभार व्यक्त गर्न चाहन्छु । हाम्रो भाषालाई अझै अघि बढाउने, नेपाली भाषालाई अझै प्रचलित बनाउने पनि म कटिवद्धता जनाउँछु । हामीले हाम्रो भषालाई नै अझै प्रचलित बनाउनु पर्छ । यो भाषा मीठो र राम्रो भाषा छ । सिक्किम नेपालको त सीमा पनि जोडिएको छ । साथै सामाजिक कार्यहरु पनि धेरै नै मिल्छ । यो भाषाले हामीलाई बलियो बनाएर राखेको छ । हाम्रो पहिचान पनि दिएको छ । नेपाली भाषी भारतीयहरुको पहिचानलाई अझै सशक्त बनाउने हाम्रो कोशिस रहेको छ । भारत देशले पनि हामी नेपाली भाषीहरुलाई धेरै माया गरेको छ । हामी नेपाली भाषा बोल्न गर्व मान्छौँ ।’

उहाँले नेपाली भाषाले आफूहरुको पहिचान दिएको भन्दै यसलाई बचाइराख्नु आफ्ना लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भारतले पनि नेपाली भाषीहरुलाई धेरै माया गरेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?