काठमाडौं । नयाँ सरकार गठन र पार्टीको सत्तारोहण सुनिश्चित भएपछि नेपाली कांग्रेसका अधिकांश सांसदहरूले मन्त्री बन्ने दौडधुप थालेका छन् । विगतमा पटक-पटक मन्त्री भएकादेखि एकपटक पनि अवसर नपाएका सम्मले अब बन्ने सरकारमा मन्त्री बन्ने आकांक्षा राखेर सभापति शेरबहादुर देउवासहित शीर्ष नेतृत्वसँग संवाद गरिरहेका छन् । देउवानिवास बूढानीलकण्ठदेखि नेता डा.शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटार हुँदै महामन्त्री गगन थापाको रातोपुलस्थित निवाससम्म बिहानको समयमा मन्त्रीका लागि प्रयासरत सांसदहरूको भिड लाग्ने गरेको छ । ‘पहिले पहिले अरू कार्यकर्ता धेरै आउनुहुन्थ्यो अहिले माननीयहरूको उपस्थिति बढेको छ’, एक नेताका स्वकीय सचिवले बताउनुभयो ।
कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । ओली सरकारमा कांग्रेसबाट कम्तीमा ११ जना मन्त्री बन्ने सम्भावना छ । कांग्रेसका अधिकांश सांसदहरू अहिले तिनै ११ मध्येको मन्त्री बन्ने कसरतमा छन् । अहिलेसम्म कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगिसकेको छैन । यद्यपि, जुनसुकै भए पनि मन्त्री बन्न प्रयास गर्ने कांग्रेस सांसदहरूको सूची लामो छ ।
पाँच दर्जन बढी आकांक्षी
राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । प्रतिनिधि सभामा ८८ सहित कांग्रेसका कुल १०४ सांसद रहेका छन् । तिनीहरूमध्ये पाँच दर्जन बढी नेता अहिले मन्त्री बन्ने प्रयत्नमा छन् । सभापति शेरबहादुर देउवाले चार महिना अघिसम्म मन्त्री रहेकाहरूलाई अबको सरकारमा अवसर नदिने स्पष्ट छ । यसर्थ कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्रीको रेसमा हुनुहुन्न । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दुवैले अवसर पाउँदा सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सम्भावना छ । सहमहामन्त्रीहरू किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि मन्त्रीका आकांक्षी छन् । उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्नसक्ने सम्भावित नेताहरूमा राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौला, पूर्व–उपसभापतिद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा.शशांक कोइरालालगायत हुनुहुन्छ ।
मन्त्रीका लागि सभापति देउवानिकट सांसदहरू डा. आरजू राणा, विनोद चौधरी, ईश्वरी न्यौपाने, अजय चौरसिया, उदयशमशेर राणा, शंकर भण्डारी, रामहरि खतिवडा, श्याम घिमिरे, दिनेश यादवलगायत मन्त्रीका आकांक्षी हुनुहुन्छ । नेता डा.शेखर कोइराला समूहबाट सांसदहरू चन्द्र भण्डारी, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, हृदयराम थानी, रामकृष्ण यादव, तेजुलाल चौधरी, सरिता प्रसाईं, मुक्ता यादव लगायतको नाम चर्चामा छ । महामन्त्री गगन थापानिकट सांसदहरू प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी लगायतले पनि मन्त्री बन्ने कसरत कायमै राख्नुभएको छ । पूर्व-महामन्त्री शशांकको समूहबाट दीपक गिरी र दीपक खड्कामध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।
यसअघि नै पटक-पटक मन्त्री भइसक्नु भएका प्रमुख सचेतक रमेश लेखक सम्भावित गृहमन्त्रीका रूपमा चर्चामा हुनुहुन्छ । पूर्व-अर्थमन्त्रीद्वय डा.प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की पनि सभापति देउवाको ग्रिन सिग्नल लिएर मन्त्री बन्ने प्रयत्नमा हुनुहुन्छ ।
सांसदहरू भन्छन्-नयाँलाई अवसर दिनुपर्छ
कांग्रेसका अधिकांश सांसदहरू आगामी सरकारमा विगतमा अवसर नपाएका र क्षमता प्रदर्शन गर्न सक्नेलाई अवसर दिनुपर्नेमा जोड दिनुहुन्छ । सांसद प्रदीप पौडेल विगतमा पार्टीको भूमिकामा प्रभावकारी काम गरेका, सरकारमा गएर राम्रो काम गर्ने इच्छाशक्ति भएका, विषय विज्ञता हासिल गरेका र विगतमा परीक्षण नभएकालाई अवसर दिनुपर्ने बताउनुहुन्छ । ‘पार्टी सरकारमा जाने भनेको जनताको काम गर्न हो । डेलिभरी दिनसक्ने र जनतामा सकरात्मक प्रभाव छाड्न सक्नेलाई यसपटक अवसर दिनु राम्रो हुन्छ’, पौडेलले हिमालय टाइम्ससँग भन्नुभयो । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा पनि संसद्मा प्रभावकारी भूमिका निर्वाह गरेका मध्येबाट सरकारमा अवसर दिनुपर्ने बताउनुहुन्छ । ‘पार्टी विपक्षमा हुँदा पनि पार्टी हितका लागि काम गरेका, अवसर नपाएका र जनतामा आशा भर्नसक्ने सांसदहरूलाई अवसर दिनुपछ्र्र’, खतिवडाको भनाइ छ ।
पुरानाले आस नगर्नू : देउवा
नेपाली कांग्रेसले पटक-पटक मन्त्री भइसकेका नेताहरूलाई यसपटक आस नगर्न भन्नुभएको छ । मन्त्रीको लबिङ गर्न आफ्नो निवासमा आउने अधिकांश पूर्व-मन्त्रीहरूलाई देउवाले आफू यसपटक नयाँलाई अवसर दिने पक्षमा रहेको बताउने गर्नुभएको छ । देउवाले अपवादबाहेक पुराना मन्त्रीले अब अवसर नपाउने उल्लेख गरिसक्नु भएको छ । ‘सभापतिजीले प्रष्ट रूपमा अघिल्लो मन्त्रिपरिषद्मा रहेका र विगतमा दोहो¥याएर मन्त्री भएकालाई यसपटक आस नगर्न भनिसक्नु भएको छ’, देउवानिकट एक नेताले भन्नुभयो । ती नेताका अनुसार पार्टीको तर्फबाट नेतृत्व गर्ने नेता र रमेश लेखकबाहेक अन्य मन्त्रीहरू पहिलोपटक मन्त्री बन्ने सम्भावना बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच