एमाले नेतृत्वमा उत्साह, झापालीमा निरासै निरासा

फाइल तस्बिर

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 11 mins

झापा । आज दिनभरमा अप्रत्याशित कुनै राजनैतिक उलटफेर नभए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्ने पक्का छ । संसदको अंकगणितीय जोडघटाउले पनि प्रष्ट छ । असार १७ गते सोमबार मध्यराति नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सत्ता सहमतिले यो दर्बिलो जग निर्माण गरेको हो ।

उहाँ प्रधानमन्त्री बन्ने सहमति बनेसँगै एमाले पार्टी पंक्ति भित्रभित्रै उत्साही छ । उत्साहको त्यो रेखा तन्कदो छ । उहाँ चौथोपटक प्रधानमन्त्री बन्दै गर्दा जुन तहमा उत्साह हुनु पर्ने हो त्यो उत्साह उहाँको गृहजिल्ला झापामा देखिएको छैन । उहाँ प्रधानमन्त्री बन्ने कुराले तात्विक फरक परेको छैन । झापाका अधिकांश वामपन्थी नेताले उहाँ प्रधानमन्त्री बन्ने कुरालाई कागलाई बेल पाक्यो हर्ष न विस्मातको रूपमा व्याख्या गर्नुभएको छ ।

चौथोपटक सिंहदरबारको हर्ताकर्ता बन्न लाग्नु भएको एमाले अध्यक्ष ओलीको गृहजिल्ला हो, झापा। सत्ताको तानाबानामा खप्पिस र जिल्लाकै अनुभवी नेता ओली पुनः प्रधानमन्त्री बन्ने निश्चित हुँदापनि झापाली खास खुसी छैनन् । उहाँहरुसँगको संवादमा पनि त्यो प्रष्ट झल्कन्छ ।

तीनपटक प्रधानमन्त्री हुँदा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा ठूलै परियोजना सञ्चालन गर्नुभयो । राज्य ढुकुटीको ठूलै हिस्सा नेता ओलीको निर्वाचन क्षेत्रमा खर्च भयो। यद्यपि, ओली चौथोपटक प्रधानमन्त्री बन्ने विषयले खास उत्साह जगाउन सकेको छैन । निराशा नै अधिक छ ।

झापाका पुराना वाम बुद्धिजीवी यज्ञराज प्रसाईं भन्नुहुन्छ, " उहाँ प्रधानमन्त्री बन्नु नबन्नुले केही फरक पर्दैन ।" प्रसाईंले अहिलेको आवश्यकता कोही पदमा पुग्नेभन्दा पनि परिवर्तन भएको र ओलीबाट त्यो अपेक्षा गर्न नसकिने को तर्क गर्नुभयो ।

ओलीले देशको हुर्मत लिने र कमिसन खाने बाटो बनाउने प्रसाईंको रोषपूर्ण टिप्पणी छ । " नेताले देश नै खाइसके, खोक्रो बनाए, दुनियाँका सामु देशको बदनाम भइसक्यो" प्रसाईंले भन्नुभयो," धराहरा बनाउने बहानामा ओलीले ह्वाइट टावर बनाउनुभयो, उहाँसँग केही भिजन छैन, ओलीबाट देश बन्दैन । "

प्रसाईंले ओली प्रधानमन्त्री बन्दा आफूलाई हर्ष वा विस्मत केही नभएको सुनाउनुभयो । देश "खोक्रो बनाउने मानिस" को विषयमा राम्रो अपेक्षा राख्नु नराम्रो हुने उहाँको मत छ । प्रसाईंले गिरीबन्धु टिस्टेटमा अक्षम्य गल्ती गरेको बताउनुभयो।

तत्कालीन नेकपाको केन्द्रीय सल्लाहकार र एमालेको केन्द्रीय सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएका प्रसाईं यतिबेला ओलीसँग असन्तुष्ट हुनुहुन्छ । प्रसाईंले भन्नुभयो," मलाई ओलीको कार्यशैली मन परेन, केन्द्रीय सल्लाहकारबाट नै राजीनामा दिएँ, अहिले म स्वतन्त्र वाम मात्रै हुँ ।"

विगतना ५७ वर्ष सक्रिय कम्युनिष्ट रहनु भएको एमाले अध्यक्ष ओलीको गृहनगर दमकका गणेश कार्कीलाई पनि उहाँ प्रधानमन्त्री बन्ने र नयाँ काम गर्नेमा खासै विश्वास छैन । सिपी मैनालीका समकालीन तथा कम्युनिष्ट संगठकको लामो अनुभव बटुल्नु भएका कार्कीले भन्नुभयो," उहाँको "काइते दिमाग" बाट चर्चा गर्न लायक केही काम हुन्छ भन्ने मलाई लाग्दैन ।" प्रसाईं जति बेखुसी नभएपनि कार्की ओली प्रधानमन्त्री बन्ने कुरामा उत्साही चाहिँ पटक्कै हुनुहुन्न ।

सानसिका लगाएर गफै मात्र गर्ने मानिसबाट केही राम्रो होला भन्ने आस गर्नु नै व्यर्थ हुने कार्कीको तर्क छ। " उहाँले पानी जहाज गुडाउने , रेल चलाउने, सबैको घरघरमा ग्यासको पाइप पुर्‍याउने हावादारी कुरा गर्नुभयो, काम केही भएन" कार्कीले भन्नुभयो, " यस्तो हावादारी कुरा गर्ने व्यक्तिले केही गर्नुहोला भन्ने मलाई चाहिँ विश्वास नै लाग्दैन ।"

प्रधानमन्त्री बनेर ओलीले गरिहाल्नुभयो भने बनिनसकेका भौतिक संरचना र विकास निर्माण उद्घाटन गर्ने कार्कीको टिप्पणी छ। कार्कीले लखनपुरको आदिवासी जनजाति रंगशालाको नाम फेरेर ओलीले मदन भण्डारी रंगशाला बनाएकाले त्यसमा बजेट छुट्याउने व्याङ्ग्य कस्नुभयो ।

ओलीको निर्वाचन क्षेत्र गौरादहका सुरेशबहादुर पौडेललाई पनि उहाँले कुनै राम्रो काम गर्नुहोला बन्ने आस छैन । पुराना वाम पौडेलले भन्नुभयो," उहाँ काम गर्ने नेता नै होइन, गफ गर्ने नेता हो, अब प्रधानमन्त्री बनेर के गर्नुहुन्छ होला र ! "

युवा वामपन्थी सन्तोष आचार्यको विश्वास भने उहाँहरुको भन्दा निक्कै भिन्न छ । आचार्यले कांग्रेस र एमाले बीचको सत्ता सहमतिलाई ऐतिहासिक भनी टिप्पणी गर्नुभयो । " संसदीय लोकतन्त्र भएका मुलुकमा दुई ठूला दल बीच सत्ता सञ्चालन गर्ने सहमति विशेष अवस्थामा मात्रै जुट्छ " आचार्यले भन्नुभयो, " यसपटकको सहमतिको विशेष महत्व छ, अबको प्रधानमन्त्रीले त्यसको औचित्य पुष्टि हुने गरेर काम गर्न सक्नुपर्छ ।" ओलीले त्यो काम गर्नेमा आचार्य विश्वस्त हुनुहुन्छ ।

आचार्यके यो सहमतिको मुख्य मध्येको एक व्यक्ति ओली भएकोले उहाँले त्यही अनुरुप काम गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । कांग्रेस, एमाले बीचको सत्ता समीकरणले देशको निकास दिनेमा आचार्य ढुक्क देखिनुहुन्छ ।

" यो समीकरणको मुख्य लक्ष्य नै मुलुक बनाउने कुरा हो, मुलुक बनेपछि सबै कुरा बन्छ " भ्युटावर बनाउने वा अरु केही बनाउने कुरा गर्नु उचित हुन्न, यी बिकाउ र बजारिया कुरा मात्रै हुन् ।" कांग्रेस र एमाले बीच विषेश अवस्था र मुद्दामा समीकरण भएको इतिहास रहेकोले यसलाई पनि त्यही रुपमा लिन उचित हुने आचार्यको तर्क छ ।

कांग्रेस एमाले मिलेरै परिवर्तन गरेकोले अबको निकास पनि दुई ठूला दलले नै दिने आचार्यले दाबी गर्नुभयो । उहाँ भन्नुभयो, " कसले के भन्छ, त्यो आआफ्नो मूल्यांकन हो तर कांग्रेस एमाले मिलेरै देशलाई यहाँसम्म ल्याएको गर्वलायक इतिहास कसैले भुल्न सक्दैन ।"

कम्युनिष्ट दर्शनमा राम्रो दखल राख्ने अर्का वामपन्थी युवा कृष्णप्रसाद पोखरेलको सरकार बनाउने , गिराउने खेलमा कोही लाग्ननहुने सुझाव छ । बारम्बार सरकार बनाउने र बत्काउने खेल राष्ट्रले थेग्न नसक्ने भएकोले अब बन्ने प्रधानमन्त्रीले सबैलाई मिलाएर अगाडि बढाउन सक्नु पर्ने पोखरेलको धारणा छ । संविधान संशोधनको विषयमा नेकपा माओवादी केन्द्रकाई पनि साथमा लिनु अघि बढ्न सक्नु पर्ने उहाँले बताउनुभयो ।

गौरीगञ्ज गाउँपालिका २ तुलाचनका भोलाप्रसाद खतिवडाले राज्यको ढुकुटी खर्चेर बनाएको भ्युटावर प्रयोगबिहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, " कम्पाउण्ड भित्र पस्नसम्म नपाइदो रहेछ, यसको विषयमा थप खोइ के भन्नू र ! " बालकल्याण मावि कुञ्जिबारीका प्रधानाध्यापकसमेत रहिसक्नु भएको खतिवडाले त्यहाँ पुगेर यसो बसिबियाँलो गरेर फर्किएको सुनाउनुभयो । राज्यको ठूलो ढुकुटी खर्चेर बनाइएको भ्युटावरको कम्पाउण्डमा समेत पस्न नपाउँदा उहाँको मन खिन्न भएको छ ।

आलोपालो सरकार चलाउने कांग्रेस एमाले बीचको सत्ता सहमतिको चर्चा अहिले देशभर सकारात्मक, नकारात्मक दुबै कोणबाट भइरहेको छ । नेतृत्व पंक्तिमा त्यसले उत्साह भरेपनि नागरिक पंक्ति चाहिँ खासै आशावादी छैन । ओली चौथोपटक प्रधानमन्त्री कुराले पनि झापालीमा खास खुसी भित्र्याउन सकेको छैन । यो चाहिँ सोचनीय पाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?